बेतिनी सिमसारमा रमाउँदै पर्यटक

Letang Khabar मंगलबार, मंसिर १८, २०७५

उर्लाबारी, मोरङ  मंसिर १८, २०७५। घुमफिर, भोज, नृत्य र नौका विहार । मोरङको उर्लाबारी नगरपालिका–२ स्थित बेतिनी सिमसारमा पुग्दा एकसाथ यी दृश्यहरू देखिन्छन् । पर्यटकलाई जंगलमाझ रमाइरहेका भेटाउँछौं । ‘खुला, शान्त र आनन्दायी ठाउँ छ,’ ३५ वर्षीय लक्ष्मण शिवाले भने ।

मोरङको उर्लाबारी नगरपालिका–२ स्थित बेतिनी सिमसार क्षेत्रको पोखरीमा डुंगा सयर गर्दै आन्तरिक पर्यटक ।

मोरङको मिक्लाजुंग–३ का उनी परिवारजन एवं छरछिमेकसँग मगर समुदायको हुर्रा नाँचमा व्यस्त थिए । ‘फुर्सदका बेला रमाइलो गर्न यो सिमसार आइपुग्छौं,’ शिवाले भने । उनको समूहमा १० परिवारका २० सदस्य थिए । छेउकै पोखरीमा विद्यालयदेखि स्नातकोत्तरसम्म पढ्नेले नौका विहारको मजा लिइरहेका भेटिए ।

‘अंग्रेजी साहित्यमा मास्टर गरिरहेको छु, प्रकृतिबाटै सुन्दर सोच आउने हो, त्यही भएर आएको हुँ,’ छात्र २४ वर्षीय बुद्धिमान कार्की धोलीले भने । मोरङकै पत्थरीशनिश्चरे–६ का उनी सहपाठीसँग डुंगा सयर गर्दै थिए । डुंगा चढ्न बालबालिका पनि पालो कुरिरहेकाथिए । ‘छुट्टि भएपछि साथीसँग आउँछु,’ बालक विनोद खत्रीले भने । उर्लाबारी–१ का उनी कक्षा–८ मा पढ्छन् ।

वेतिनी सामुदायिक वन समूहद्वारा संरक्षित ५८ हेक्टरमा फैलिएको यो सिमसारमा सबैतिरका नेपाली रमाइलो गर्न आउँछन् । ‘सधैं यहाँ चहलपहल हुन्छ तर छुट्टिको दिनमा भने स्थानीय एवं आगन्तुकको घुइँचो लाग्छ,’ ५५ वर्षीय छेत्री उरावले भने । उनी यहाँको हेरचाह कर्मचारी हुन् । दैनिक कम्तीमा दुई सयदेखि बढीमा ५ सय पर्यटक यहाँ आउँछन् । प्रतिव्यक्ति मात्र १० रूपैयाँ पर्यटक शुल्क राखिएकाले विपन्नदेखि सम्पन्नसम्म घुम्नलाई आइरहेको उनले बताए ।

झापा दमकका चालक ३९ वर्षीय लालबहादुर तामाङलाई यो ठाउँ औधी मन पर्छ । ‘धेरै पटक आइसकेको छु, हरेक पल्ट यहाँ नयाँपन पाउँछु,’ उनले भने, ‘वरिपरि ठडिएका सालका रूखले वातावरणलाई झनै रमणीय बनाएको छ ।’

यो सिमसार क्षेत्रभित्रका अस्थायी टहरामा सञ्चालित होटेलमा पर्यटकले स्थानीय परिकारको स्वाद लिइरहेका हुन्छन् । ‘बिहानदेखि बेलुकी ५ बजेसम्म मात्र सञ्चालन गर्न पाए पनि खानलाउन पुग्ने गरी आम्दानी भएको छ,’ युवा व्यवसायी सीमा राईले भनिन् ।

स्थानीयलाई रोजगारी एवं वरिपरिका गाउँनगरवासीले घुमफिरका लागि रमाइलो गन्तव्य पाएको समाजसेवी ६० वर्षीय पल्टे रिमालले बताए । ‘यहाँ जंगल, पोखरी, झरना, चौर, चराचुरूंगी र होटेललगायत रमाउनलाई चाहिने सबथोक छ,’ उनले भने । यसको संरक्षणमा स्थानीयवासी, सिमसार व्यवस्थापन समिति र नगरपालिकाले मिलेर हातेमालो गरिरहेको रिमालले जनाए ।

नगरपालिकाले उर्लाबारीलाई सिमसारयुक्त पर्यटकीय नगरी घोषणा गरेको छ । समिति र नगरपालिकाले यहाँ कृत्रिम बाघ, ताल, टापु एवं बालउद्यान निर्माण गरी सबै वर्गका पर्यटकलाई रम्ने माहोल बनाएको रिमालले बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ