लेटाङ नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक, योगदानकर्तालाई सम्मान

Letang Khabar सोमबार, आषाढ ३०, २०८२

लेटाङ,३० असार। लेटाङ नगरपालिकाको सत्रौँ नगरसभाबाट पारित नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम २०८२ असार ३० गते भव्य रुपमा सम्पन्न भयो। नगर प्रमुख भूपेन्द्र कुमार लावतीको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेशका माननीय प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी भए। कार्यक्रममा प्रतिनिधि सभाका पूर्व सदस्य घनश्याम खतिवडा, कोशी प्रदेश सरकारका पूर्वमन्त्री उपेन्द्र घिमिरे, पूर्व नगरप्रमुख शंकर राई, नेकपा एमालेका नेता युवराज वास्कोटालगायतको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले स्वागत मन्तव्य राखे। त्यसपछि नगर प्रमुख लावतीले नीति तथा कार्यक्रमको सार प्रस्तुत गरे भने नगर उपप्रमुख कृष्ण कुमारी पोख्रेलले बजेटको संक्षिप्त विवरण सार्वजनिक गरिन्। यस क्रममा २०८२/८३ को नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित विभिन्न दस्तावेजहरू आर्थिक ऐन, विनियोजन ऐन, शिक्षा योजना, खेलकुद बुकलेट, न्यायिक समितिको प्रतिवेदनलगायत नगरले तयार पारेका प्रकाशनहरू सार्वजनिक गरिए।
कार्यक्रमले नीति र बजेट मात्र होइन, नगरपालिकामा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्ने अवसर पनि प्रदान गर्यो। वडा नं. ५ मा कार्यालय भवन तथा स्वास्थ्य भवन निर्माणका लागि जग्गा दान गर्ने नागरिकहरूलाई विशेष सम्मान गरिएको थियो। त्यस्तै, माध्यमिक र आधारभूत तहमा उत्कृष्ट कार्यसम्पादन गरेका विद्यालयहरू, दीर्घसेवा शिक्षक तथा कर्मचारी, नवप्रवर्तनशील शिक्षक, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र कृषि तथा खेलकुदमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरियो।
शिक्षा क्षेत्र अन्तर्गत SEE २०८० मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान दिइयो भने कक्षा ८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू पनि प्रोत्साहित गरिए। यसैगरी, फुटबल, भलिबल र करातेजस्ता खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगरको तर्फबाट सम्मान गरियो।
कार्यक्रमको अन्त्यतिर विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिए। पूर्व नगरप्रमुख शंकर राई, पूर्व प्रदेश सांसद उपेन्द्र घिमिरे, पूर्व प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडा तथा माओवादी केन्द्रका नेता गोपाल नेपालीले बोल्दै नगरपालिकाको नीति तथा कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाए। प्रमुख अतिथि प्रदेश प्रमुख खापुङले समावेशी र अग्रगामी सोचका साथ अघि बढिरहेको लेटाङ नगरपालिकालाई आगामी दिनमा अझ सुदृढ बनाउने आशा व्यक्त गरे।
अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै नगर प्रमुख लावतीले सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए। सो कार्यक्रममा नगर कार्यपालिका सदस्यहरू, विभिन्न वडाध्यक्ष, राजनीतिक दलका नगर अध्यक्षहरू, विभिन्न सहकारी संस्था, बैंक, सामाजिक संघसंस्था, विद्यालय, समुदायिक वन र खेलकुद क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। लेटाङ नगरपालिकाले यसपालिको नगरसभा सहभागी र समावेशी बनाएर जनउत्तरदायी शासन अभ्यासको सकारात्मक संकेत दिएको देखिन्छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ