

लेटाङ, १८ वैशाख । मोरङको लेटाङ नगरपालिका–१ राजारानीमा निर्माण सम्पन्न भएको अन्तरधार्मिक शान्ति पार्कको आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले पार्कको विधिवत उद्घाटन गर्नुभएको हो । कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपालमा दशक लामो सशस्त्र द्वन्द्वपछि शान्ति स्थापना र सामाजिक सद्भावको आवश्यकता महसुस गरिएका बेला लेटाङबाट सुरु गरिएको सामुदायिक शान्ति अभियानको मूर्त रूपका रूपमा यो पार्क निर्माण गरिएको बताइएको छ । वि.सं. २०६२ माघ १ गतेदेखि सुरु भएको अन्तरधार्मिक शान्ति अभियानले समुदायस्तरमा धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकताको पक्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो । सोही अभियानलाई स्थायी स्वरूप दिन तीन वर्षको अथक प्रयासपछि अन्तरधार्मिक शान्ति पार्क निर्माण गरिएको नगर प्रमुख लावतीले बताउनुभयो ।
पार्कमा हिन्दु, बौद्ध, किराँत, इसाई र इस्लाम धर्मलाई एउटै स्थानमा समेटिएको छ । प्रत्येक धर्मका लागि छुट्टाछुट्टै पूजा–आराधनाका संरचना निर्माण गरिनुका साथै पार्कलाई सेतो रङले सजाइएको छ, जसले शान्ति, सहअस्तित्व र सद्भावको प्रतीक झल्काउँछ । पार्कको माथिल्लो भागबाट तराई क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिने व्यवस्था गरिएको छ भने धार्मिक तथा सांस्कृतिक विविधताको अध्ययन र अनुसन्धानका लागि पनि यो स्थल उपयोगी बन्ने अपेक्षा गरिएको छ ।


नगरपालिकाका अनुसार पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनअनुसार कुल ९ करोड ४ लाख ७८ हजार १ सय ४४ रुपैयाँ लागत अनुमान गरिएको थियो । खुला बोलपत्रमार्फत ६ करोड ८ लाख ८६ हजार ७ सय ११ रुपैयाँमा ठेक्का सम्झौता गरिएको योजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको हो । निर्माण व्यवसायीले २०८३ वैशाख १४ गते नै निर्माण कार्य सम्पन्न गरेको जनाइएको छ ।
कार्यक्रममा विभिन्न धर्मका साझा सन्देशहरू पनि प्रस्तुत गरिएको थियो । “अहिंसा परमोधर्म”, “धर्तीमा शान्ति कायम राख”, “शान्तिको बन्धनमा एकता कायम राख्न प्रयत्न गर” जस्ता सन्देशमार्फत धार्मिक एकता र विश्वशान्तिको आवश्यकता औँल्याइएको थियो । साथै पार्क क्षेत्रमा बनभोज, राजनीतिक गतिविधि, धार्मिक प्रचारप्रसार, धूम्रपान तथा वातावरण प्रदूषण हुने गतिविधि निषेध गरिएको जानकारी दिँदै पार्कलाई शान्ति, अनुशासन र सहअस्तित्वको साझा केन्द्रका रूपमा विकास गरिने बताइएको छ
