बैकुण्ठराज पराजुली
लेटाङ, मोरङ । अभिनेता अनुपबिक्रम शाहीलाई कुटपिट र ज्यान लिने आभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्बी नेपालको मोरङ जिल्लाको लेटाङका स्थानिय युवक पदम राईलाई ज्यान लिने नियतले कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय लेटाङको टोलीले अनुपलाई हिरासतमा लियो, अनि हतगडी लगाएर कार्यालय पुर्यायो ।
साथीको २ लाख रुपैयाँ सापटी लगेर फिर्ता नदिएको आरोपमा पदममाथी अनुप उनि जाइलागेका थिए । यसपश्चात प्रहरीले दुबै पक्षको परिवार र स्थानिय सरोकारवाला बोलाएर मिलापत्र गर्ने प्रयास गर्दा सोहि ठाउँमा अनुप पुनः उग्र देखिए प्रहरीकै अगाडी पदमलाई हातपात गर्न खोजे । यत्तिकैमा ‘कट’को आवाज आयो, फिल्म निर्देशक भीषण राई गज्जबको दृश्य भन्दै अनुपको तारिफ गर्नतर्फ लागे । यो सबै दृश्य क्यामेरा कैद गरिरहेका थिए सिनेमाटोग्राफर हरी घले लामाले ।
पछिल्लो पङ्गती पढ्दैगर्दा पक्का पनि तपाईंले बुझ्नुभयो होला यो सबैकुरा वास्तविक नभएर फिल्म छायांकनको दौरानको दृश्य थियो । मोरङ जिल्लाको रमणिय ठाउँ लेटाङमा यतिबेला फिल्म ‘पुरानो बुलेट’को धमाधम छायांकन चलिरहेको छ ।
उक्त फिल्ममा लिड अभिनयमा रहेका अनुपले एक गाउँले युवकको भुमिका निभाएका छन् । खराब साथी संगतले कुबाटोमा लाग्ने एक युवक जसले आफ्नो भविष्य नै अन्धकारमा पार्छ, तर समय बित्दैजाँदा उसले जीवनमा खाने ठक्कर र त्यसले ल्याउने परिवर्तनको वरीपरी फिल्म घुमेको निर्देशक राईले बताए ।
हेण्डसम भिलेनको छबी बनाएका अनुप पछिल्लो समय आफु र आफ्नो क्यारेक्टरलाई परिवर्तन गर्दै लगिरहेका छन् । ‘हिरो र भिलेन भन्दा पनि आफुलाई हेरेर लेखिएको स्कृप्ट र दिइएको पात्र चरित्रलाई न्याय गर्ने कोशिशमा छु’, अनुपले सुनाए । त्यसो त रिलिज भइ नसकेको फिल्म ‘कमलेको बिहे’को ट्रेलरबाट नै उनले निभाएको चरित्रले छुट्टै चर्चा बनाएको थियो भने त्यसयता पनि उनले भिन्न परिचय बोल्ने फिल्महरु गरिरहेका छन् । उता ‘हँसिया’, ‘बीर बिक्रम’देखि ‘कृ’ र ‘लिलिबिली’ सम्म आइपुग्दा खलपात्रको भुमिकामा उनले प्रस्तुत गरेको अभिनय सधैं तारिफको बिषय बनिरहन्छ ।
‘पुरानो बुलेट’को यतिबेला ५० प्रतिशत छायांकन सकिएको छ । अनुपसँगै देखिएकी अभिनेत्री बर्षा शिवाकोटीले पनि यो फिल्ममा केहि फरक स्वाद दिने चरित्र निभाएका छिन् । उनको लुक्स र गेटअप हालसम्म रिलिज फिल्ममा भन्दा भिन्न देखाइएको छ । सुटिङ सेटमा भेटिएकी बर्षा आफ्नो क्यारेक्टरलाई लिएर प्रफुल्लित सुनिइन् ।
अधिकांश दृश्य लेटाङमा नै छायांकन हुने फिल्मका केहि दृश्य काठमाडौंमा खिचिनेछ । निर्देशक भीषणले लेटाङकै परिवेश हेरेर सोही ठाउँमै बसेर स्कृप्ट तयार गरेको भन्दै स्थानीय लोकेशन रोजाईको किस्सा खोले । लामो समयदेखि पत्रकारितामा सकृय भीषण आफ्नो डेब्यू फिल्मलाई लिएर उत्साहित देखिए । ‘मेरो फिल्म अरु भन्दा ‘एक्स्ट्रा’ भनेर भन्दिनँ फिल्म भनेकै ‘ड्रामा’ हो भीषणले फिल्मीनेपालसँग भने, ‘प्रस्तुतीलाई भिन्न बनाउने र केहि फरक कथा समेट्ने प्रयास पक्का गरेको छु ।’
फिल्ममा अनुप र बर्षासँगै माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ । पहिलो चरणको छायांकन सकाएकी मालाले केहि दिनमा पुनः ‘सेट ज्वाइन’ गर्नेछिन् ।
१ करोड बढि लागतमा बन्न लागेको फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’मा अशोककुमार राई ९अशोक साम्पाङ०, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् । रीतसिंह बोहराले मुख्य सहायक निर्देशकको भुमिका निभाइरहेका छन् ।
आगामी मंसिर ५ लाई प्रदर्शन मिति तोकिएको फिल्ममा संगीत उत्तमजङ्ग लिम्बु र जयन जे वाइवाको रहनेछ। अन्तिम साताको छायांकन सकाएर कलाकार सहितको निर्माण टिम काठमाडौं फर्किने निर्माता अशोक साम्पाङले बताए । मंगलबार मात्र एक दृश्यको लागी टिमले २ सय बढि स्थानिय क्राउड जम्मा पारेको थियो ।
फिल्मलाई स्तरिय बनाउनको लागी कुनै कसुर बाँकी राखेका छैनौं, अशोकले भने, ‘पछिल्लो क्रममा बनिरहेका मौलिक त पारिवारिक ड्रामा बोल्ने फिल्मको भन्दा केहि फरक स्वाद ‘पुरानो बुलेट’ले दर्शकलाइ दिनेछ । फिल्मको तर्फबाट सुन्दर र आकर्षक लोकेशन बोकेको लेटाङको पहिचान बढाउन तथा पर्यटकिय नगरीको रुपमा स्थापित गराउन सहयोग मिल्ने स्थानियले विश्वास लिएका छन् ।