

बैशाख, १० बैशाख। मोरङको लेटाङमा निरौला बन्धु सेवा समाज, लेटाङ नगर समितिको आयोजनामा परम्परागत गोठपूजा (गाेठधुप) भव्यताका साथ सम्पन्न भएको छ।
विसं। २०७४ सालमा स्थापना भएको निरौला बन्धु सेवा समाज, लेटाङको आयोजनामा आफ्नो कुल परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले बन्धुहरूबीच भेला भई सामूहिक रूपमा उभौली गोठपूजा गरिएको हो। कार्यक्रममा लेटाङ र आसपासका क्षेत्रमा बसोबास गर्ने निरौला बन्धुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


पूजाका अवसरमा आयोजित अनौपचारिक भेलामा सहभागीहरूले आफ्नो वंशावली, रीतिरिवाज र संस्कारका बारेमा छलफल गरेका थिए।
निरौला बन्धुहरूले आ-आफ्नो अनुभव साटासाट गर्दै संस्थागत विकास र आपसी सहयोगका विषयमा समेत कुराकानी गरेका थिए। आधुनिकतासँगै हराउँदै जान थालेका यस्ता मौलिक परम्पराहरूलाई जीवन्त राख्न र नयाँ पुस्तालाई आफ्नो पुर्ख्यौली पहिचानबारे जानकारी गराउन यो कार्यक्रम निकै प्रभावकारी देखिएको थियो।
कार्यक्रमको समापनका क्रममा उपस्थित अग्रज तथा पदाधिकारीहरूले संस्थालाई अझै सुदृढ बनाउँदै लैजाने र सामाजिक कार्यहरूमा पनि सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहभागीहरूले सामूहिक रूपमा खिर पकाएर पूजाको प्रसाद ग्रहण गर्दै आपसी भाइचारा र एकतालाई बलियो बनाउने संकल्प समेत गरे।
यस्ता भेलाहरूले छरिएर रहेका बन्धुहरूलाई एकै ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको ठम्याइ छ।
हरेक वर्ष वैशाखे पूर्णिमा आसपासमा उभौली र मंसिरे पूर्णिमा आसपासमा उधौलीको रुपमा गोठपूजा गर्ने परम्परा रहि आएको छ ।