लेटाङ ३ असार । लेटाङ नगरपालिका पूर्वी नेपालको एउटा सुन्दर नगर हो, जहाँ पर्यटन र कृषिमा अपार सम्भावना लुकेको छ। यहाँको उर्वर भूमि, हरियाली बनजंगल र सांस्कृतिक विविधता मात्र नभई, प्राकृतिक स्रोतका रूपमा चिसाङ, मोरङी र तेलीजस्ता खोलाहरू पनि विशेष महत्वका छन्। तर, पछिल्लो समय यी खोलाहरू प्राकृतिक सम्पत्ति कम, विवाद र दोहनको श्रोत बढी जस्तो देखिन थालेका छन्।
हरेक वर्ष खोला उत्खननको नाममा साना व्यवसायीदेखि देश-विदेशसम्म पहुँच भएका ठूला व्यापारीहरूको नजर लेटाङका खोलामा पर्छ। परिणामस्वरूप, यी खोलाहरू अव्यवस्थित ढंगले उत्खनन गरिन्छ, जसले वातावरणीय सन्तुलन मात्र हैन, सामाजिक तनाव समेत बढाउने गरेको छ। खोला खनिँदा बगरमाथिको सतह मात्रै हट्ने होइन, बगन थालेको चुरे पहाडकै भाग तलतिरको भू-भाग पनि कमजोर हुँदै गइरहेको छ। कतिपय स्थानमा त खोला खनेर पृथ्वी छेड्न लागे जस्तो स्थिति बनेको छ, जुन भविष्यका लागि अत्यन्त गम्भीर संकेत हो।
यसबारे सोच्ने हो भने अहिलेको प्रमुख चुनौती भनेकै—यी खोलाहरूलाई कसरी व्यवस्थित रूपले उत्खनन गर्ने भन्ने हो। हालसम्म लेटाङ नगरपालिकाले मापदण्डअनुसार खोला उत्खनन गराउन नसकेको यथार्थ छ। निजी क्रसर उद्योगहरू र व्यक्तिहरूको नियन्त्रणमा खोलाहरूको दोहन भइरहँदा नगरपालिकाले राजस्व गुमाउनुका साथै पर्यावरणीय क्षति पनि व्यहोर्नु परिरहेको छ।
यस्तो स्थितिमा अब समय आएको छ—लेटाङ नगरपालिकाले आफ्नै पहलमा क्रसर सञ्चालन गर्ने, मापदण्ड अनुसार खोलाजन्य पदार्थहरू उत्खनन गर्ने र त्यो पदार्थ बिक्री वितरण गरी आम्दानी गर्ने। यसबाट नगरपालिकालाई वार्षिक रूपमा करोडौँको राजस्व आर्जन गर्न सकिन्छ, जुन स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा लगानी गर्न सकिनेछ।
साथै, दीर्घकालीन सोचका साथ खोलाहरूको व्यवस्थापनमा वैज्ञानिक र दिगो उपायहरू अपनाउनु अत्यावश्यक छ। समुदायको सहभागिता, विशेषज्ञको सुझाव, आधुनिक प्रविधिको प्रयोग र कानूनी ढाँचा बलियो बनाएर खोला संरक्षण र व्यवस्थापनमा अघि बढ्न सकिन्छ।
यदि हामीले अहिले नै यो समस्यालाई अवसरमा बदल्ने योजनासाथ अघि बढेनौं भने, खोलाको दोहनले वातावरण मात्र होइन, स्थानीय समाज र अर्थतन्त्रलाई समेत कमजोर पार्न सक्छ। त्यसैले, लेटाङका खोलाहरूलाई समस्या होइन, समृद्धिको सम्भावना ठानी नगरपालिका, जनप्रतिनिधि, स्थानीय बासिन्दा र सरोकारवालाहरू मिलेर सामूहिक जिम्मेवारीका साथ अघि बढ्नु आजको आवश्यकता हो।