लेटाङ। केन्द्र सरकारले जनसंख्याको आधारमा बजेट छुट्याउदाँ भौगोलिक रुपमा बिकट रहेका स्थानिय तहका क्षेत्रहरुमा शैक्षिक गुणस्तरियता ल्याउन नसकिएको लेटाङमा बुधवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
लेटाङ नगरपालिका वडा नम्बर १ भोगटेनीको अँधेरीमा भएको वडाको शैक्षिक गुणस्तरियता बृद्धिको लागि आयोजित सरोकारवाला निकायको भेलामा बक्ताहरुले यस्तो कुरा व्यक्त गरेका हुन् । भेलामा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बजेट अभाबको कारण दुर्गम तथा न्यून आयस्तर भएका क्षेत्रका बालबालिकाहरु अझ पनि गुणस्तरिय शिक्षा प्राप्त गर्न नसकिरहेको बताए । केन्द्र सरकारले जनसंख्याको आधारमा स्थानिय तहहरुमा बजेट बिनियोजन गर्दा भौगोलिक रुपमा बिकट र जनसंख्या कम भएका लेटाङ जस्ता स्थानिय तहका जनताहरु मारमा परेको बताउदै प्रमुख राईले त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रलाई परेको बताए । ४० बिद्यार्थी १ शिक्षक दरबन्दीको सरकारी नितिको कारण अधिकाशं पहाडी र बिकट क्षेत्रका सामुदायिक बिद्यालयहरुमा आबश्यकता अनुसार शिक्षक दरबन्दी पुर्याउन नसकिएको कुरा उठान गर्दै मेयर राईले २५ बिद्यार्थी १ शिक्षक दरबन्दीको व्यवस्था गर्न पहल गरीरहेको बताए । नगर क्षेत्रमा शिक्षामा लगानी गरेअनुसारको प्रतिफल नआएकोमा चिन्ता व्यक्त गर्दैे प्रमुख राईले राम्रो गर्ने बिद्यालयलाई पुरस्कृत गर्ने र गुणस्तरिय शिक्षा प्रदान गर्ने कुरामा लापरबाही गर्नेलाई कारबाहीको दायरामा लैजानेसमेत बताए । मन्तव्यको क्रममा नगरप्रमुख राईले स्थानिय तहका जनप्रतिनिधिहरुको सेवासुबिधा काटेर भएपनि शिक्षामा लगानी गर्ने तर गुणस्तरिय जनशक्ति उत्पादन गर्न शिक्षक तथा बिद्यालय परिवार लाग्नुपर्ने बताए ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा मन्तव्य राख्दै लेटाङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु कुमार मगरले शिक्षक तथा अभिभावकहरुको शिक्षाप्रतिको लापरबाहीको कारण बालबालिकाहरुले गुणस्तरिय शिक्षा पाउन नसकेको बताए । अभिभावकहरुले बिद्यालयमा आफ्ना नानीहरुलाई नियमित बिद्यालय नपठाउने गरेको कारण बिद्यालय प्रशासन र शिक्षकहरु पनि अल्छी भएको बताउदै अध्यक्ष मगरले आफ्ना नानीहरुलाई नियमित रुपमा बिद्यालय पठाउन आग्रह गरे । आफ्नो वडा भौगोलिक रुपले बिकट र ठुलो भएको तर सरकारबाट जनंसख्याको आधारमा बजेट बिनियोजन भएको कारण शिक्षा क्षेत्रमा लगानी सोचेजस्तो लगानी गर्न नसकेको बताउदै अध्यक्ष मगरले आगामी दिनमा शैक्षिक क्षेत्रका सरोकारवालाहरुको संलग्नतामा शिक्षामा बजेट बिनियोजन गर्ने बताए ।
भेलामा दातृ संस्थाको तर्फबाट मन्तव्य राख्दै मेनोन्वाईट सेन्ट्रल कमिटि नेपालका जुलियाना योञ्जनले स्थानिय तहले बनाएको शिक्षा नितिको आधारमा संघसंस्थाहरुले काम गर्ने भएकोले शिक्षा निति स्पष्ट हुन जरुरी रहेको बताईन् । संस्थाले न्यून आय भएका देशका वालबालिकाको गुणस्तरिय शिक्षाको लागि भन्दै बिभिन्न देशका नागरिकहरुले प्रदान गरेको सहयोग रकमबाट कार्यक्रम गरिरहेको बताउदै योञ्जनले स्थानिय तहले पनि साझेदारीतामा काम गर्न सके अझ प्रभावकारी हुने बताईन् । भोगटेनी महिला साकोसका अध्यक्ष पूर्णकुमारी मगरले अभिभावक शिक्षालाई प्रभावकारी रुपमा गाँउबस्तीमा नपुर्याएसम्म शिक्षामा गुणस्तरियता नआउने बताईन् । अभिभावकहरुले बालबालिकाहरुलाई बिद्यालयमा दिएको गृहकार्यभन्दा घरायसी काममा बढी लगाउने गरेको कारण बिद्यार्थीहरु पढाईप्रति भन्दा पनि घरायसी काम गर्नतर्फ बढी लाग्ने कुरालाई जोड दिदै मगरले अभिभावक शिक्षालाई सबै मिलेर प्रभावकारी रुपले संचालन गर्नुपर्ने बताईन् । कार्यक्रममा स्थानिय शिक्षाप्रेमी चन्द्र बहादुर राईले शिक्षा क्षेत्रमा गुणस्तरियता ल्याउनको लागि भौतिक पक्षमा भन्दा पनि शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । शिक्षा क्षेत्रमा हाल आफ्नो अधिकार खोज्ने तर कर्तव्य पुरा नगर्नेहरुको जमात बढीरहेको बताउदै राईले त्यसलाई तत्काल सुधार गर्न नसके गुणस्तरियता ल्याउन नसकिने बताए । राष्ट्रको सर्बाङ्गीण बिकासको लागि आबश्यक पर्ने शिक्षा क्षेत्रमा सरकारी निकायले पर्याप्त लगानी गर्ने र प्रभावकारी अनुगमन प्रणालीको बिकास गर्नसके गुणस्तरिय जनशक्ति उत्पादन गर्न सकिने राईको जोड थियो ।
भेलामा वडामा रहेका ६ बटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, स्थानिय तहका जनप्रतिनिधिहरु, संघसंस्था प्रतिनिधि तथा स्थानिय शैक्षिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । भेलामा बिद्यालयका राम्रा पक्षहरु, शैक्षिक समस्या र समाधानका उपायहरुको बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा सम्बन्धीत बिद्यालयका शिक्षक तथा अध्यक्षहरुले अपर्याप्त दरबन्दी, भौतिक पक्ष जिर्ण हुनु, खेल सामाग्री नहुनु, बिद्यार्थी संख्या कम हुनु, शिक्षक तालिम नहुनु, अभिभावकमा शैक्षिक चेतना कम हुनुजस्ता कारणले गुणस्तरिय शिक्षा दिन नसकिएको बताएका थिए । मेनोन्वाईट सेन्ट्रल कमिटि नेपालको सहयोग र भातृ सामुदायिक कल्याण समाज बिराटनगरसंगको साझेदारितामा पहाडी ग्रामिण बिकास संस्था उत्तरी मोरङ ९हर्डन० को आयोजनामा भेला कार्यक्रम गरिएको हो । संस्थाद्धारा संचालित ग्रामिण शिक्षा कार्यक्रम अन्तर्गत लेटाङ वडा नम्बर १ का बिद्यालयहरुको बार्षिक योजना निर्माण गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको हो । सुरेश अधिकारीले भेलाको औचित्य प्रस्तुत गरेको कार्यक्रम आयोजक संस्थाका कोषाध्यक्ष दल बहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।