लेटाङ (मोरङ), साउन ११ गते । उत्तरी मोरङको लेटाङ नगरपालिका, मिक्लाजुङ र केराबारी गाउँपालिकामा अलैंचीको व्यावसायिक खेती हुनथालेको छ । साविक वारङ्गी गाविस हाल लेटाङ–७ का हामसेर लिम्बूले २०३५ सालमा प्रयोगका रूपमा इलामबाट बिरुवा ल्याएर पहिलो पटक अलैंची फलाउनुभएको थियो ।
त्यसयता साविक वारङ्गी, सिंहदेवी, पाटीगाउँ, भोगटेनी, रमितेखोला र याङ्सिलाका किसानले अलैंची खेती गरिरहेका छन् । यद्यपि तीन वर्षयता अलैंचीको व्यावसायिक खेती हुनथालेको अलैंची किसान आदिमान लिम्बूले बताउनुभयो ।
२५ रोपनीमा अलैंची खेती गरिरहनुभएका लिम्बूले भन्नुभयो, तीन वर्षअघि प्रतिमन ७० हजार रुपियाँमा बिक्री भएको अलैंची यो वर्ष प्रतिमन ३२ हजार रुपियाँका दरले बिक्री भयो । सरदर १५ मन अलैंची उत्पादन गर्दै आउनुभएका लिम्बूले यो वर्ष मूल्य नपाउँदा पनि चार लाख ८० हजार रुपियाँको अलैंची बिक्री गरेको सुनाउनुभयो । उहाँ मात्र होइन उत्तरी मोरङका पहाडी गाउँमा अधिकांश किसानले एकदेखि १० रोपनीसम्म अलैंची खेती गरेको आदिमानले बताउनुभयो । गाउँमा अलैंचीको बिरुवा अत्यधिक माग हुन थालेपछि लिम्बूले ५० हजार बिरुवाको बेर्ना पनि राख्नुभएको छ ।
स्थानीय जनप्रतिधिसमेत रहनुभएका लिम्बूले किसानहरू मकै, धान र कोदो फल्ने खेतमा समेत अलैंची रोप्न थालेको बताउनुभयो ।
लेटाङ ७ कै सन्तबहादुर लिम्बूले सात रोपनीमा अलैंची लगाउनुभएको छ । उहाँले भन्नुभयो, पानीको अभाव छ । सिँचाइको व्यवस्था भए अझै ५÷७ रोपनीमा अलैंची लगाउने सोच छ ।
स्थानीय तिलप्रसाद लिम्बूले पाँच वर्षअघि ३÷४ वटा बिरुवा रोप्नुभएको थियो । अहिले बेर्ना बनाउँदै अलैंची खेती विस्तार गरिरहनुभएको छ । उहाँले भन्नुभयो, मकै खेत मासियो, अब अलैंची नै रोप्छु ।
साविक सिंहदेवी–५ हाल केराबारी २ मा समेत केही वर्षयता अलैंचीको व्यावसायिक खेती सुरु भएको डगलसिंह राई बताउनुहुन्छ । उहाँका अनुसार गाउँमा चिया, अलैंची, अदुवा, अम्लिसो खेती नगर्ने कोही छैनन् । सबैले थोरैथोरै क्षेत्रफलमा भए पनि लगाएका छन् ।
क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार मोरङमा दुई सय हेक्टरमा अलैंची खेती भइरहेको छ । प्रतिहेक्टर ० दशमलव ६ टन अलैंची उत्पादन भइरहेको निर्देशनालयले जनाएको छ ।