मेचीनगर । हाम्रो नेपाल अचम्मकै छ । एउटा वर्गका मान्छेहरु धेरै खाएको अपच भएपछि अस्पताल धाएर हजमोला वा डाइजिन चपाउँछन् । अर्को वर्ग त्यस्तो पनि छ, जो खान नपाएर भोकैले रोगाउँछन् ।
खानलाउनको कुरा मात्र होइन । ओखतीमूलाको कुरो पनि उस्तै छ । एउटा वर्ग पातलो दिसा लाग्यो भने राज्यढुकुटीको करोडौ खर्चेर विदेशका सुविधासम्पन्न हस्पिटल धाउँछन् । अर्को वर्ग यही छ, जो खर्च गर्ने पैसा नभएर विरामी हुँदा अस्पतालको मुख हेर्नै नपाई परमधाम हुन्छन् ।
जुम्ला र बाजुराको कुरा के गरौँ, हाम्रै झापाको मेचीनगर–८, खडियावस्ती घर भएका ४६ वर्षीय भाडाकुमार खडिया विगत १५ वर्षदेखि गालामा टाउको जत्रै ट्युमर बोकेर उपचार नगराई बस्न बाध्य छन् ।
खडियाले आर्थिक कठिनाईको कारणले ट्युमरको उपचार गराउन नसकेको बताए ।
१५ वर्षअघि देब्रे गालामा सानो फोको जस्तो डल्लो देखा परेको थियो । उनका अनुसार त्यही सानो फोको बढेर अहिले टाउकाकै आकारमा डरलाग्दो ट्युमर बनेर फैलिएको छ ।
गालाको ट्युमर छाम्दा ढुङ्गा जस्तै कडा छ । मासुको डल्लो गालाभरि फैलिएपछि उनलाई हिडडुल गर्न समेत गाह्रो भएको छ ।
उनी ट्युमर पलाउनु अघि नक्कलबन्दा चिया बगानमा स्थायी मजदुर थिए । ट्युमर पलाएपछि उनी त्यो जागिर छाडेर घरमै बस्न थालेका छन् ।
हालसम्म ट्युमरको कुनै जाँच समेत नगराएका उनले कसैले उपचारको खर्च जुटाइदिने भए अस्पताल जान चाहेको बताए ।
‘सुत्दा साह्रै अप्ठेरो हुन्छ’, ट्युमरको कारण सास्ती व्यहोर्नु परिरहेको बताउँदै उनले भने–‘डल्लोको एउटा छेउबाट कहिलेकाहि घाउ भएर रगत र पिप पनि निस्कन्छ ।’
मेचीनगरको विभिन्न स्थानमा थोरै सङ्ख्यामा रहेका खडिया समुदायको भाषा, संस्कृति र जातीय पहिचान लोप हुँदै गएको छ । यिनीहरु सबैको आर्थिक अवस्था ज्यादै दयनीय छ ।
मेचीनगर–८ खडियावस्तीमा यो समुदायको २५ घर बसोबास गर्दै आएको छ । चिया बगानमा मजदुरी र स्थानीयको खेतमा ज्यालादारी गरेर खडियाहरुले जीविका चलाउँदै आएका छन् ।
ट्युमर पीडित भाडाकुमार खडियाको दुई छोरा छन् भने उनले रोगकै कारण जागिर छाडेपछि सो ठाउँमा पत्नी सुनिता खडियाले बगानमा ज्यालादारी मजदुरी गर्दै आएकी छन् ।
लोकतन्त्र पोष्ट दैनिकबाट।