शरणार्थीको पहिचान खोज्दै शिविरका महिला  

Letang Khabar आइतबार, बैशाख २३, २०७५

पथरीशनिश्चरे २२ बैशाख । बिगतमा जानेर वा अन्जानमा शिविर छोडेका अधिकांश शरणार्थीहरू यतिबेला शरणार्थीको पहिचान खोजिरहेका छन् । शरणार्थीको पहिचान नहुँदा उनीहरू न त पुर्नबासका लागि योग्य भएका छन् न त स्वदेश फिर्ती कै लागि ।
आफन्तहरू कोही युरोपमा छन्, कोही अमेरिकामा । सात समून्द्र पारि रहेका आफन्तसँग टाढा रहेर बस्नुपर्दा कसको पो मनमा कुडिँदैन र ? मोरङको पथरीशनिश्चरे १० स्थित भूटानी शरणार्थी शिविरकी ३७ वर्षीय टीकादेवी अधिकारी यति बेला शरणार्थीको परिचय पत्रका लागि शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्च आयोग(युएनएचसीआर)को ढोका ढक्ढक्याइरहनु भएको छ ।

भूटानको सर्वाङ कालीखोलाबाट २७ वर्ष अघि नेपाल छिर्नु भएकी अधिकारीसँग न त भूटानी नागरिकताको परिचय छ , न शरणार्थीको कुनै पहिचान । गैर शरणार्थी (भारत सिक्किमका रुद्र बराल)सँग बिवाह गरेपछि उहाँको नाम शरणार्थीको सूचीबाट काटियो । विबाहपछि टीकादेवीले भारतीय नागरिकको परिचय पाउने आशा गर्नु भएको थियो । तर, उहाँको आशा पानीको फोका झैं फुट्यो । दुई सन्तानकी आमा टीकादेवी अहिले एक्ली हुनु भएको छ । सन् २००८ मा श्रीमान् वेपत्ता भएपछि धेरै समय परिवारमा संघर्ष गर्नुभयो । आफ्नो भन्ने नै नभएपछि उहाँ विरक्तिएर पुन शिविर फर्कनु भयो । उसबेला उहाँ झापाको खुदुनाबारी‘बी’(४) १८ मा बस्नुहुन्थ्यो । उहाँ फर्कदा युएनएचसीआरले परिवारका सबै सदस्यलाई प्रमाणिकरण गरिसकेको थियो ।
टीकाका सबै आफन्त अहिले अमेरिकाको पेन्सलभेनियामा बस्नुहुन्छ ।मावलीहरू क्यानडामा । पाँच जनाको परिवार मात्र होइन, आफन्त,नातागोता र चिनेजानेका पनि सबै उतै हुनुहुन्छ । टीकाले भन्नुभयो–‘अब म कुन देशको नागरिक ? एक छोरा र छोरीको पालन पोषण कसरी गर्ने ? कि म भूटानी शरणार्थी हुनुप¥यो ? कि भारतीय नागरिक ? नेपालले नागरिक मान्दैन ।’
यस्तो संकट ब्योहार्ने टीकादेवी मात्र होइन । जुनु तामाङको पीडा झनै टीठलाग्दो छ । शिविर आएपछि जन्मिएकी तामाङले पनि भारतीय नागरिकसँग बिबाह गर्नुभयो । एउटी छोरी जन्मिएपछि शिविरमा प्रमाणिकरणको प्रक्रिया सुरुभयो । सबै आफन्त पुर्नबास जाने भएपछि जुनुले श्रीमानसँग छोडपत्र माग्नुभयो , तर श्रीमानले मानेनन । जब प्रमाणिकरणको काम सकियो , जुनुका श्रीमानले छोडपत्र मात्र होइन , आत्महत्या गरेर जुनुको बाटो खोलिदिए । अहिले जुनु २६ वर्षको उमेरमा ५ वर्षकी छोरी साथमा लिएर आफ्नो परिचय खोजिरहनु भएको छ । उहाँका बुबा आमा अमेरिकाको ओआयोमा हुनुहुन्छ ।
३० वर्षीय चन्द्रमाया ओलीले पनि नेपाली युवकसँग बिबाह गरेर घरजम सुरु गरिसक्नु भएको थियो । तर, शरणार्थी प्रमाणिकरणको बेला बैबाहिक अंगीकृत नारिकता त्यागेर उहाँ पनि शरणार्थी शिविर छिर्नुभयो । आफ्ना बुबा आमा सँगै जाने रहरले सन् २०१२ मा उहाँले श्रीमानसँग छोडपत्र त लिनुभयो । तर युएनएचसीआरले चन्द्रालाई शरणार्थी भनेर पत्याएन । उहाँ भन्नुहुन्छ–म शरणार्थी हुँ , तर युएनएचसीआरका प्रतिनिधिले सोधेको जवाफ फर्काउन नसक्दा प्रमाणिकरणमा पर्न सकिन ।
खासगरी काम गर्न शिविर छोडेर हिडेका युवा र गैर शरणार्थीसँग बिबाह गरेका महिलाहरू शरणार्थीको सूचीबाट हटेका छन । जसको संख्या १ हजार ६४१ रहेको छ । पथरीशनिश्चरे शिविरका क्याम्प सचिव चम्फासिंह राईका अनुसार शरणार्थीलाई अहिले दैनिकी चलाउन समेत कष्ट भएको छ ।
संघर्ष र अभाव खेपेर शरणार्थी शिविरको छाप्रो भित्र जिन्दगी लुगाएका भूटानी शरणार्थीहरू अहिले भन्छन–शरणार्थीले कहिल्यै हाँसेर जीवन बिताउन नपाउने रहेछन । हाल सम्म १ लाख ७ हजार ९४९ जना शरणार्थीको पुनर्वास भइसकेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ