तिहार अर्थात यमपञ्चक सूरु,आज काग तिहार

Letang Khabar सोमबार, कार्तिक १९, २०७५

काठमान्डौ १९ कात्तिक  । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीको चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।

 

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

कात्तिक २० गते मङ्गलबार कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

काग र कुकुरलाई मीठा खानेकुरा खान दिइए पनि पूजा गर्ने शास्त्रीय विधि भने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कात्तिक २१ गते बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ ।

कूल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेका हुन् । शास्त्रीय रुपमा गाईको पूजा कात्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा गौतमले बताउनुभयो ।

कात्तिक २२ गते कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहारसमेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते शुक्रबार भाइटीका परेको अध्यक्ष गौतमले बताउनुभयो । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष गौतमले राससलाई जानकारी दिनुभयो । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । कात्तिक २३ गते भाइटीका लगाएपछि दोस्रो ठूलो चाड तिहार सकिन्छ

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ