गाडीको रकमले विपन्नलाई जस्ताको छाना

Letang Khabar मंगलबार, आश्विन ०२, २०७५

४४० फुसका घरमा जस्ता लगाइने
– विनोद भण्डारी

मोरङको लेटाङ नगरपालिकामा रहेको स्थानीयको फुसको घर । नगरका जनप्रतिनिधिले आफ्ना लागि गाडी किन्न छुट्याएको रकमले यहाँका विपन्न परिवारको फुसका घर भएका छाना हटाएर जस्तापाताको लगाइदिने भएका छन् ।

विराटनगर – चुनाव जितेलगत्तै आफैंलाई सुविधा बढाउने अनि जनताले तिरेको करबाट महँगा सवारीसाधन किनेका जनप्रतिनिधिहरू आलोचना खेपिरहेका छन् । त्यस्ता प्रतिनिधिलाई तिनकै मतदाता मात्र होइन सम्बन्धित दलका नेताहरूले समेत आलोचना गरिरहेका छन् ।

तर मोरङको लेटाङ नगरपालिकाका जनप्रतिनिधिले भने आफ्ना लागि गाडी किन्न छुट्याएको रकमले नगरका विपन्न परिवारलाई सहयोग गर्ने भएका छन् । यसअनुसार प्रारम्भिक रूपमा फुसका छाना भएका घरमा जस्तापाताको छानो लगाइने भएको छ ।

यसको अगुवाइ गरेका नगरप्रमुख शंकर राईले नगरलाई २ वर्षभित्र फुसका छानामुक्त बनाउने अभियान थालिएको बताए । जिल्लाको पहाडी क्षेत्रमा पर्ने तत्कालीन लेटाङ, जाँते, भोगटेनी र वाराङगी गाविसलाई समायोजन गरी बनाइएको यो नगरमा ७ हजार ३ सय ३९ परिवारको बसोबास छ । तीमध्ये झन्डै ४ सय ५० घरको छाना फुसका छन् ।

नगरका जनप्रतिनिधिले आफू चढ्ने गाडी किन्न छुट्याएको बजेटले तिनै फुसका छाना भएका घरमा जस्तापाता लगाउने अभियान सुरु गरेका हुन् । ‘२ वर्षभित्र फुसका छानामुक्त नगर बनाउने योजनासहित अभियान थालेका हौं,’ नगरप्रमुख राईले भने, ‘प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई सवारीसाधन किन्न नगरपरिषद्ले यसपालि ६२ लाख र गत वर्ष ३८ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
त्यो बजेटले सवारीसाधन नकिनी छाना फेर्ने अभियान सुरु गरिएको हो । यसका लागि नगरले करिब १० लाख रुपैयाँको जस्तापाता किनेको राईले बताए । नगरसँग तत्कालीन लेटाङ भोगटेनी नगरपालिका हुँदाकै बेलाको एउटा बोलेरो गाडी छ । त्यही गाडी मर्मत गरी प्रमुख र उप्रमुखले प्रयोग गर्दै आएका छन् ।

‘जनप्रतिनिधिले महँगा र नयाँ गाडी किनेर चढ्दैमा नगरको विकास हुँदैन, जनताले राहत पाउँदैनन्,’ उनले भने, ‘त्यसैले गाडी किन्ने रकम गरिब जनताको फुसको घरमा जस्तापाता लगाउने सहमति गरेका हौं ।’ नगरका जनप्रतिनिधिले बैठक भत्ताबाहेक अन्य सुविधा पनि नलिएको दाबी गरेका छन् ।

फुसका छाना हटाएर जस्ता हाल्न नगरपालिकाले मापदण्ड पनि बनाएको छ । कम्तीमा ५ वर्ष पुराना घर हुनुपर्ने, सबै बालबालिका अनिवार्य विद्यालय पठाएको हुनुपर्ने र सामान्य भए पनि घरमा शौचालय भएकै हुनुपर्ने मापदण्ड छ । मापदण्ड पूरा नभएका घरले यो सुविधा नपाउने राईको भनाइ छ । यो मापदण्डले नगरलाई साक्षर र खुला दिसामुक्त बनाउन पनि सहयोग गर्ने उनको बुझाइ छ ।

९ वटा वडा भएको नगरको वडा १ मा १ सय ५, २ मा ४०, ३ मा २५, ४ मा ३, ५ मा २१, ६ मा ३६, ७ मा १ सय १०, ८ मा ७० र ९ मा ३० गरी नगरमा ४ सय ४० फुसका छानो भएका घर छन् । ‘एक घरमा जस्तापाताको छाना लगाउन कम्तीमा ४० हजार लाग्छ,’ राईले भने, ‘यसका लागि १ करोड ७६ लाख रुपैयाँ लाग्ने अनुमान छ ।’गत वर्ष र यसपालि गाडी किन्न छुट्याइएको १ करोड रुपैयाँले २ सय ५० घरमा यसै वर्ष जस्ता लगाइनेछ । बाँकी घरका लागि अर्को आवमा बजेट विनियोजन गरी अभियान पूरा गर्ने नगरको योजना छ ।

source : kantipur dainik

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ