मापदण्ड विपरित क्रशर उद्योग सञ्चालन

Letang Khabar मंगलबार, जेठ ०१, २०७५

लेटाङ २ जेष्ठ । मोरङमा मापदण्ड विपरित क्रसर उद्योग संचालन भइरहेका छन् । सरकारले तयार पारेको मापदण्ड मिचेर संचालन भइरहेका क्रसर उद्योगहरुले ठूलो परिमाणमा प्राकृतिक स्रोत उत्खनन् गरे दोहन गर्दै आएपनि नियन्त्रणको दायित्व लिएको निकाय भने मौन बसेको छ । कानूनी मपदण्ड मिचेर उद्योग संचालन गरेपछि त्यस्ता क्रसर उद्योगहरुबाट हुने अवैध कृयाकलाप तथा मापदण्डले गर्न नहुने भनि व्याख्या गरेका सबै बुँदाको उल्लंघन गर्ने गरेको स्थलगत अध्ययनका क्रममा देखिएको छ ।
मोरङ जिल्लाको उत्तरी क्षेत्रमा संचालन हुने गरी २३ वटा क्रसर उद्योग दर्ता भएका छन् । दर्ता भएका क्रसर उद्योगहरु मध्ये १३ वटा क्रसरले आफ्नो मापदण्ड पुरा गरेका छैनन् । ति मध्ये केही उद्योग बन्द छन् भने संचालनमा रहेका उद्योगहरुले कानूनी प्रकृया र मापदण्ड पुरा नगरी जथाभावी स्रोत उत्खनन् र विक्री वितरण गर्दै आएका छन् ।

मापदण्ड विपरित संचालन भएको सबैभन्दा ठूलो उद्योग मोरङको लेटाङ नगरपालिकाको ओम श्री क्रसर उद्योग एण्ड सप्लायर्स हो । रमेश भट्टराईको नाममा दर्ता भएको यो उद्योग चारकोशे झाडी भित्रै संचालन भइरहेको छ । मोरङका खोलानालामा एकछत्र राज गर्दै आएका व्यवसायि भीम पौडेलले अहिले त्यो उद्योग संचालन गरिरहेका छन् । त्यस्तै शारदा प्रसाद ढकालको नाममा दर्ता भएको बेलवारी नगरपालिकाको एनएआइ एग्रिगेट इण्डष्ट्रिज, कृष्ण बहादुर खत्रीले केराबारी नगरपालिकामा संचालन गरिरहेको कृष्ण क्रसिङ इण्डष्ट्रिज, गोविन्द प्रसाद भट्टराईको नाममा दर्ता भई मिक्लाजुङ नगरपालिकामा संचालनमा रहेको पूर्वेली क्रसर उद्योग कानूनी प्रकृया मिचेर संचालन भइरहेका छन् । ति उद्योगले धमाधम उत्खनन् र बिक्री वितरणको काम गरिरहेको भएपनि त्यसलाई नियन्त्रण गर्ने तत्परता स्थानीय प्रशासनले देखाएको छैन ।
सुन्दरहरैंचा नगरपालिकामा रहेको शंकर रोडा उद्योग, पशुपति स्टोन क्रसिङ, सिद्धकाली रोडा ढुंगा , स्टर्न एग्रिगेट एण्ड स्टोन मिल, जयश्री तिरुपति क्रसर उद्योग, बेलवारीको माधव एग्रिगेट एण्ड स्टोन, पथरी शनिश्चरेको जयश्री तिरुपति क्रसर उद्योगले न्युनतम मापदण्ड पुरा गरेका छैनन् । ति मध्ये केही उद्योग बन्द रहेका छन् । बाँकी बर्षौदेखि नियम मिचेर संचालन भइनै रहेका छन् ।

नेपाल सरकारले तयार पारेको क्रसर संचालन मापदण्डले राष्ट्रिय वन क्षेत्रबाट दुई किलो मिटर र चुरे क्षेत्रभन्दा एक किलोमिटर टाढा मात्र क्रसर उद्योग राख्न पाइने व्यवस्था गरेको छ । तर अधिकांश उद्योगहरु चुरे र वन क्षेत्रमै संचालन गरिएको छ । नेपाल सरकारले चुरे संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको नाममा करोडौं रकम खर्च गरिरहेको बेला चुरेलाई प्रत्यक्ष प्रभाव पार्ने गरी चुरेको फेदैमा ठुलाठुला क्रसर चलिरहँदा स्थानीय प्रशासनले त्यसलाई रोक्ने प्रयास गरेको छैन ।
त्यस्तै चुरे क्षेत्रआसपास क्रसर उद्योग राख्न नपाईने नियमको उल्लंघन भएको छ । ध्वनी प्रदुषण र धुलो नियन्त्रण गर्नु पर्ने मापदण्ड मिचिएको छ भने वस्ती क्षेत्रमा उद्योग राख्न नपाइने व्यवस्था अधिकांश उद्योगबाट उल्लंघन भएको छ । खोला क्षेत्र भन्दा ५ सय मिटर टाढा क्रसर राख्नु पर्ने व्यवस्था भएपनि ९० प्रतिशत उद्योग खोला भित्रै राखिएको छ । खोलामा स्काभेटर आदि मेसिन प्रयोग गरेर उत्खनन् गर्न प्रतिवन्ध लगाइएको भएपनि उद्योगहरुले दर्जनौं स्काभेटर खोला भित्रै राखेर ढुंगागिटी निकाली रहेका छन् ।
खोला क्षेत्रमा नदिजन्य स्रोत थुप्रिएर उच्च भई वस्ती क्षेत्रमा बाढी प्रवेश गर्ने समस्या समाधानकालागि स्थानीयले क्रसर उद्योगलाई अनुमति दिने गरेका छन् । खोलामा व्यवस्थित च्यानल बन्ने आशले उद्योग संचालनमा स्थानीयले सहमति दिएपनि उद्योग संचालकहरुले स्रोतको व्यापक दुरुपयोग गर्ने र स्थानीय वातावरणमा प्रतिकुल असर गर्ने काम हुन थालेपछि त्यसको विरोध भइरहेको प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा बताउँछन् । उनले भने, ‘क्रसरबाट भइरहेको गलत क्रियाकलाप र दुरुपयोगको स्थानीय जनताबाट व्यापक विरोध भइरहेको छ । हामी जनप्रतिनिधि भएको नाताले जनताको गुनासो सम्वोधन गर्न र कानूनको परिपालन गराउन क्रियासिल छौं ।’ उनले अधिकांश क्रसर उद्योगले कानून नमानेको दावी गरे ।
श्रीखबर वाट

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ