बिराटनगर, १२ असार । कतिपय मानिसहरू उमेर ढल्दै गएपछि पढेर के गर्नु भन्दै पढाइ लेखाईबारे खासै चासो देखाउँदैनन् । तर यही समाजमा केही त्यस्ता व्यक्ति पनि छन् जो पढाइ लेखाइलाई उमेरले छेक्दैन् भनेर जीवनको उतरार्द्धमा पनि किताव, कपी बोकेर स्कूल कलेज धाउँछन् । हो यस्तै सोच राखेर नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू तीन वीसे उमेर पुग्न लाग्दा पढाइ लेखाइलाई निरन्तरता दिंदैछन् ।
वि.सं. २०३९ सालमा एसएलसी उत्तीर्ण गरेका लिम्बूले त्यसको झण्डै तीन दशकपछि स्नातकोत्तर अर्थात डिग्री गर्ने अन्तिम तयारी गर्दैछन् । नेपाली कांग्रेसको राजनीति गर्दै आएका लिम्बूले राजनीति शास्त्रमै स्नातकोत्तर गर्दैछन् । त्यसका लागि उनी थेसिस (शोधपत्र) लेख्दैछन् ।
उनले समावेशी प्रतिनिधित्व र संघीयता प्रवद्र्धनमा पहिचानको राजनीतिक भूमिका विषयमा थेसिसको विषय छानेका छन् । संघीयता आइसकेपछि जातीयताको पहिचानको मुद्दा निकै उठ्न थालेपछि आफूले त्यसबारे अध्ययन अनुसन्धान गरेको लिम्बूले बताए ।
प्रदेश १ का धेरैजसो जिल्लाको स्थलगत अध्ययनसँगै कतिपय ठाउँमा सञ्चार सम्पर्क गरी उनले आफ्नो शोधपत्रलाई पूर्णता दिएको उनले बताए । कोरोना भाइरस संक्रमणका कारण लगाइएको लकडाउनको सदुपयोग गर्दै मैले शोधपत्र लेखें, उनले भने ।
लिम्बूले वि.सं. २०३९ सालमा मोरङको लेटाङ स्थित शान्ति भगवती माविबाट एसएलसी पास गरेका थिए । त्यसपछि उच्च शिक्षाका लागि उर्लाबारी, धरान, विराटनगर लगायतका क्याम्पसतिर भौंतारिए । तर विविध कारणले पढ्ने वातावरण नपाएर उनी जागिरतिर लागे । वि.सं. २०४० सालदेखि उनी आफैले पढेको शान्ति भगवती मावि लेटाङमा शिक्षकको रूपमा काम गर्न थाले ।
उनी सामाजिक विषय पढाउँथे । वि.सं. २०४८ सालतिर उनी स्थायी पनि भए । तर उनलाई त्यतिबेला राजनीतिले निकै तानिसकेको थियो । ‘त्यसैले शिक्षकको जागिर छोडेर वि.सं. २०५० देखि राजनीतितिर दौडिएँ’ लिम्बूले विगत स्मरण गर्दै भने ।
नपढेकालाई सबैले हेप्ने गरेको महसुस गरेका लिम्बूले बि.स. २०६८ मा फेरि पढाइलाई अगाडि बढाउने निधो गरे । त्यतिबेला उनका छोरा मन्जिल लिम्बू पनि कलेज पढ्ने भैसकेका थिए ।
राजनीति गर्दै जाँदा उनी मोरङको तत्कालीन क्षेत्र नं ९ बाट संविधानसभा सदस्यमा निर्वाचित पनि भए । सडकदेखि सदनसम्म पुग्दा उनलाई फेरि पढाइकै चिन्ता शुरू भयो ।
जहाँ गयो पढाइ लेखाइ मात्रै सोध्छन्, ढाँट्नै गाह्रो भयो लिम्बू भन्छन् । त्यसपछि बाबु र छोरा दुवै काठमाडौंको कलंकीस्थित रिचमण्ड एकेडेमीमा कक्षा ११ मा भर्ना भए । तर विडम्बना छोरा मन्जिल फेल भए बाबु डिगबहादुर लिम्बू चाहिँ कक्षा १२ पास भए ।
वि.सं. २०६९ मा १२ कक्षा पास गरेका लिम्बूले राजनीतिक व्यस्ततामाझ वि.सं. २०७४ मा स्नातक तहको पढाइ सके । त्यसपछि उनले राजनीतिशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका हुन् ।
उनी भन्छन् आत्मविश्वास भयो भने उमेर र समयले पढाइलाई रोक्न सक्दैन रहेछ, समय व्यवस्थापन गर्न सके धेरै काम गर्न सकिन्छ ।
स्तातकोत्तरपछि पीएचडीसम्म गर्ने धोको छ, लिम्बू भन्छन्, राजनीतिक क्षेत्रमा लागेकाहरूले पनि राम्रो अध्ययन गर्नु जरूरी छ ।
उद्घाेष दैनिक बाट