‘मेयरको गाडी किन्ने बजेटले जस्तापाता किनें’

Letang Khabar आइतबार, साउन २६, २०७६

लेटाङ २६ साउन । उत्तरी मोरङका केराबारी  उर्लाबारी लेटाङ जस्ता स्थानीय तहमा प्रमुख पद नेपाली कांग्रेसले जितेको अवस्था छ भने उपप्रमुख तत्कालीन एमाले अर्थात नेकपाका हातमा छ । कांग्रेसको नेतृत्व तर नेकपाको बहुमत रहेका स्थानीय तहमा दुई पार्टीवीच बेलाबखत किचलो हुने गरेको छ । लेटाङ नगरपालिका पनि त्यस्तै किचलो भइरहने नगरपालिका हो ।

पूर्वपश्चिम राजमार्गबाट ८ किलोमिटर उत्तरमा अवस्थित लेटाङ नगरपालिकामा नेपाली कांग्रेसका युवा नेता शंकर राईले मेयरको जिम्मेवारी सम्हालेको दुई वर्ष नाघिसकेको छ । यस अवधिमा लेटाङका कतिपय स्थानीयवासीहरु अहिलेसम्म स्थानीय सरकारको अनुभूति गर्न नसकेको बताउँछन् । तर, मेयर राई आफूले राम्रो काम गरिरहेको तर सत्तारुढ नेकपाको पेलाइमा परेको बताउँछन् ।

यसै साता लेटाङ पुगेका बेला अनलाइनखबरकर्मी सरोज तामाङले कांग्रेसका युवा नेता एवं मेयर शंकर राईसँग त्यहाँका स्थानीय समस्यामाथि केन्द्रित रहेर गरेको कुराकानी–

मेयरमा निर्वाचित भएपछि अहिलेसम्म तपाईले के–के गर्नुभयो रु कुराकानीको सुरुवात यहीँबाट गरौं ।

दुई वर्ष पूरा भएर कार्यकाल अघि बढिरहेको छ । हामीले जितेर आएपछि सबै वडामा विज्ञ साथीहरुसँग बसेर छलफल गर्‍यौं। छलफलको मुख्य उद्देश्य नै प्रभावकारी तरिकाले के गर्ने भन्ने थियो । प्रभावकारी तरिकाले हामी अगाडि बढ्यौं । नगरपालिकामा के समस्या छ, त्यसको पहिचान गरी अघि बढ्नुपर्छ भनेर हामी प्रत्येक वार्ड, टोलमा गयौं । धेरैजसो साथीहरुले नागरिकता नपाएको देखियो । यहाँसम्म कि ९० वर्ष पूरा भएका आमाहरुले पनि नागरिकता पाएका थिएनन् ।

एउटा क्रसरबाट मैले कति पैसा लिएको छु रु त्यसको प्रमाण पुर्‍याए म मेयर पदबाट तत्काल राजीनामा दिन्छु र राजनीतिबाटै सन्यास लिन्छु । एक सेकेन्ड बस्दिनँ
हामी आउनेवित्तिकै सुरुमा नागरिकता घुम्ती शिविर सिडियो साहेबसँग बसेर सुरु गर्‍यौं । दुई पटकसम्म गरेर हामीले ८०० नागरिकता वितरण गर्‍यौं । नागरिकता वितरणकै क्रममा यस्तो पनि देखियो कि जहाँ सानै उमेरमा विवाह भयो, बालबच्चा हुर्किए । बाबु एकातिर गए, आमा अर्कोतिर । छोराछोरी टुहुरा भए । नागरिकता कसरी पाउने त रु यस्ता समस्या पनि देखिए । उनीहरुलाई पनि हामीले नागरिकता दियौं ।

दोस्रो, हामीले के गर्‍यौं भने वारंगी, ज्यामिरे र जाँतेको माथिल्लो भाग लालझोडा भन्ने स्थानमा हाम्रा दाजुभाइ दिदीबहिनी कस्तो अवस्थामा बसेका रहेछन् भने एउटा खरको छाना अथवा प्लाष्टिकले बारेको घर । पानी परेपछि सबै लथालिंगै हुने । पढ्न नपाउने, खाना पकाएरसम्म खान नपाउने अवस्था रहेछ ।

म मेयर भइसकेपछि नयाँ गाडी किन्नुपर्छ भनेर नगरसभाबाट ६२ लाखको गाडी किन्न बजेट छुट्टिएको थियो । लालझोडामा त्यो समस्या देखेपछि मैले तुरुन्तै बैठक राखेर जस्तापाता किन्ने निर्णयमा पुगें । मेरो सेवासुविधा कटौती गरेर जस्तापाता किनियो र सबैलाई वितरण गरियो । यो लेटाङ नगरपालिकाले जस्तापाता बाँडेको नेपालमै पहिलोपटक हो । त्यहाँ ४२५ घरधुरी जति हो यस्तो समस्या भएको । अहिले हामीले लगभग दुई ६०र७० घरधुरीमा जस्तापाता बाँडिसकेका छौं । अब यो बर्खाको समय पनि हो । योपटक पनि हामीले ५०र६० लाख छुट्याएका छौं । यस वर्ष म यो समस्याबाट लेटाङ नगरपालिकाबासीलाई मुक्त गराउँछु ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यहरुमा हामीले तालिम तथा गोष्ठीहरु आयोजना गरेका छौं ।

निर्वाचित हुनुभएको दुई वर्ष कटिसकेको छ । यो अवधिमा ठूला कामचाहिँ के गर्नुभयो ?

मोरङ जिल्लाको सबैभन्दा राम्रो, पर्यटकीय र धार्मिक क्षेत्र भनेकै लेटाङ नगरपालिका हो । हाम्रो वडा नम्बर एक भोगटेनी राजारानी धार्मिकस्थलले ऐतिहासिक छ । राजारानी पर्यटकीय क्षेत्र मात्रै नभएर धार्मिक क्षेत्र पनि हो । धिमाल जातिको बसोबासस्थल त्यहाँ भएको मानिन्छ । राजा पोखरी, रानी पोखरी, छोराछोरी पोखरी छ । हेर्दा आनन्द लाग्ने रमाइलो स्थल छ । राजारानीमा ४६ किसिमका विश्वको दुर्लभ सुनाखरी पाइन्छ । यो सुनाखरीको संरक्षण गर्न हामीले काम गरिरहेका छौं । यो संरक्षणका लागि ३० करोड भन्दा माथिको योजना यहाँ हालिएको छ ।

त्यस्तै, ‘कालेबुदुली’ योजनाअन्तर्गत लेटाङदेखि धनकुटाको ६ नम्बर बुधबारेसम्म कालोपत्रे गर्नका लागि सर्बे गरेर पठाएका छौं । यसै आर्थिक वर्षदेखि काम गर्ने लक्ष्य छ । त्यस्तै, खानेपानी स्वास्थ्य शिक्षामा पनि हामीले ठूलो लगानी गरेका छौं । बर्खा लागेपछि खानेपानीले लेटाङबासीलाई सताउँछ, त्यसको व्यवस्था गरिएको छ ।

खानेपानीकै कुरा निकालिहाल्नुभयो, जब वर्षा सुरु हुन्छ, लेटाङबासीले धमिलो पानी खानुपर्ने बाध्यता छ । वर्षौंदेखिको यो समस्या खै त समाधान भएको ?

धमिलो पानी किन आइरहेको छ रु म छोटकरीमा भन्छु । विपत व्यवस्थापन हामीले गरिरहेका छौं । जानीजानी धमिलो पानी दिएको पनि होइन । सकिन्छ, सफा पानी दिऊँ भनेर कार्य गरेको ४र५ वर्ष हुन लाग्यो ।

हामीले थप पम्पहरु पनि राखेका थियौं । एउटा मात्रै हैन, दुई–दुई वटा । म लेटाङमा जन्मिएर यत्रो भएँ, अहिलेसम्म यस्तो ठूलो चट्याङ परेको देखेको थिइनँ । एकपटक चट्याङ पर्दा तीनवटा मोटर झर्‍यामझुरुम गए । जतिपटक फेरियो, त्यो सबै चट्याङले नै लग्यो । काठमाडौंबाट पनि मैले सामानको अर्डर गरेँ । तर, एक महिनाभन्दा छिटो नआउने भएपछि समस्या देखियो । यस्तो कुरालाई नै मुख्य विषय बनाएर चुनाब हार्ने साथीहरुले फेरि शंकर राईले अर्कोपटक पनि जित्ने भो भनेर अधर्मी कुरा त भन्नुभएन नि ।

चुनावका बेला खानेपानीको शुल्क घटाउँछु भन्दै भोट माग्नुभयो भएको थियो रे । तर, महशुल घटेन भन्ने जनताको गुनासो छ । तपाई त खानेपानीको अध्यक्ष पनि हुनुहुन्छ हैन ?

तपाईले एकदमै महत्वपूर्ण कुरा उठाइदिनुभयो । स्वच्छ खानेपानी खुवाउने जिम्मेवारी मेरो हो । तर, शुल्क घटाउने कुरा मेरो दस्तावेजमा छैन । मैले चुनावमा बोलेको पनि छैन । सबैले महशुल घटाइदिन्छु भन्यो भन्ने छ । तर, मैले कहाँ भनें रु मेरो घोषणापत्र लिएर आउनुहोला । भनेको हो भने म राजीनामा दिन्छु भनेको छु ।

१२ हजार लिटर पानीको शुल्क ३ सय रुपैयाँ पर्‍यो भने प्रतिलिटर कति पर्‍यो रु यति सस्तो पानी कहीँ छैन । ३० करोडको खानेपानीको योजना मैले ल्याएको हुँ । यो ल्याउँदा कति दुःख पाएँ, त्यो मलाई राम्रोसँग थाहा छ ।
यो वर्ष लेटाङ नगरपालिकामा बाढीले कति क्षति गर्‍यो रु सबै विवरण आइसक्यो ?

योपटक निकै ठूलो क्षति भयो । अहिले नै सबै तथ्याङ्क मसँग आइपुगेको छैन । पहिलेको तुलनामा यो पटक निकै क्षति पुगेको छ । सिडियो साहेबदेखि सबै आउनुभयो । पहिलो कुरा, नदी नियन्त्रण गर्नुपर्छ भनेर सुरुमा जाली लगाएर मान्छे बचाउनुपर्छ भनेर कार्य गरियो । ५र१० लाख खर्च त भयो, त्यसमा फरक परेन । तर, यहाँ खोला पसेको भए ज्यान जान सक्थ्यो । त्योभन्दा ठूलो क्षति भएको भए के हुन्थ्यो रु यहाँ खोला पसेको भए लेटाङ मात्रै हैन, लक्ष्मीमार्ग र भाउन्ने सबै डुबान हुने थियो । त्यो हामीले जोगाउन सफल भयौं । सबैको साथ र हातेमालोमा नदी नियन्त्रण गर्न सफल भयौं ।

बाढीले क्षति गर्नुको मुख्य कारण क्रसर उद्योग हैन ?

क्रसरको बारेमा लेटाङबासी सचेत छन् । एकपटक नगरपालिका घेर्न आए क्रसर उठाउनुपर्छ, भुक्षय बन्द गर्नुपर्छ, तल कीर्तिमान वस्ती बगाउँछ भन्दै घेर्न आउनुभयो । नगरपालिकामा ताला लगाउने काम पनि भयो ।

सिडियो साहेब र सुरक्षाका साथीहरुले मलाई चिठी लेखेर दिनुहोस्, ताल्चा लगाउनेलाई तह लगाउँछौं भन्नुभयो । मैले भन्नेवित्तिकै उहाँहरु आएर कसैको ज्यान गएको भए अप्ठ्यारो हुने थियो । मैले सहँदा अरुलाई क्षति भएन भने म सहन्छु । कुनै आपत्ति छैन । म जनताको प्रतिनिधि हुँ । तर, उहाँहरुको के चाहना रहेछ भने क्रसरको भागबन्डामा कुरा नमिलेको रहेछ । त्यसपछि यहाँ आएर तालाबन्दी गर्नुभएको रहेछ ।

आज त्यही ताला लगाउने साथीहरु क्रसर खोलेर राम्रोसँग बसिरहेका छन् । उनीहरु भन्छन् फेरि कीर्तिमान डुबाउँछ । उता कीर्तिमानका मान्छेहरु आएर उत्खनन रोक्दा खोलो उक्सिएर गाउँमा पस्यो भने मेयरले जिम्मा लिनुपर्छ भन्छन् ।

म आउनुभन्दा १० वर्षअघिदेखि क्रसर सञ्चालन भइरहेको छ । स्थानीय सरकारलाई अहिले अधिकार त दिएको छ । तर, क्रसरले मान्यता लिएको त केन्द्र सरकारबाट छ । उनीहरुले कर तिरिरहेका छन् ।

चिसाङ खोलामा पुग्ने हो भने सबै क्रसरले मापदन्ड विपरीत उत्खनन गरेको प्रष्टै देखिन्छ । तर, तपाईको आशयचाहिँ नियमअनुसार नै काम भइरहेको छ भन्ने हो ?

हामीले ०७५र०७६ का लागि मात्रै ठेक्का लगाएका छौं । त्यो पनि नियमसंगत गरेका छौं । तर, योपटक केही ठेकदार साथीहरुले बदमासी गरेकै हो । नियमअनुसार २० हजार घनमिटर उत्खनन गर्नुपर्ने हो, तर लोभीपापी ठेकेदार साथीहरुले २५ हजार घनमिटरसम्म गिटी बालुवा झिके । ५ हजार घनमिटरसम्म बढी झिकेकै हो । म नाई भन्दिनँ ।

ठेकेदारले मात्रै झिकेको होइन त्यो । विकास निर्माणमा पनि त्यहीँबाट लगिएको छ । केही साथीहरु कुरै नबुझी ठेकेदार र मेयरले सेटिङमा नियम विपरीत गरेको छ भन्छन् । मैले ठेक्का लगाउने बित्तिकै के निर्णय गरेको छु भने अनुगमन गर्ने साथीहरु बस्नोस् । यहाँ नियमविपरीत खनेमा कारबाही गर्नोस् भनेर सबै अधिकार दिएको छु । ३ नम्बर वडाका अध्यक्ष अनुगमनको संयोजक हुनुहुन्छ । यसमा इन्जिनियरहरु पनि हुनुहुन्छ । जुनजुन खोलामा उत्खनन हुन्छ, त्यहीँका वडाअध्यक्षलाई अनुगमनको संयोजक बनाएर अधिकार दिएको छु ।

तर, बदमासी गर्नेलाई कारवाही चाहिँ किन गर्नुभएन ?

केही ठेकदारले राति अलि बेसी खनिदियो भन्ने सूचना मैले पनि पाएँ । मैले पुलिसलाई भनें । पक्राउ पनि पर्‍यो । तर, कस्तो सेटिङ रहेछ भने एक लाखको काम ५० हजारमा गर्नुपर्ने । राति फर्किंदा एकरदुई टिप्पर गिटी बालुवा उसको घरमा पनि हाल्दिनुपर्ने रहेछ । त्यो बदमासी गर्ने क्रसर अहिले बन्द भएको छ ।

तपाई क्रसरकै कारण विवादमा तानिनु भयो । अहिलेचाहिँ कतिवटा क्रसर उद्योगलाई मान्यता दिनुभएको छ त ?

लेटाङमा क्रसर अहिले तीनवटा सञ्चालनमा छ । त्योभन्दा बढी छैनन् । अनुगमन गर्ने स्थानीय सरकारसँगै समन्वयन समिति पनि छ । मेयरले आज यति खन्ने भनेर हुँदैन । नियम छ, त्यहीअनुसारले गर्नुपर्छ । एउटा प्रक्रिया छ ।

मेरो पनि बाबु लाहुरे हो ।

म घरको कान्छो छोरा ।

भ्रष्टाचार गर्नु आवश्यक छैन

तर, भागबन्डा नमिलेपछि यहाँ उग्ररुप हुँदोरहेछ । अरुले भन्ने गरेका छन् रे मेयर पनि सेटिङमा छ । एउटा क्रसरबाट मैले कति पैसा लिएको छु रु त्यसको प्रमाण पुर्‍याए म मेयर पदबाट तत्काल राजीनामा दिन्छु र राजनीतिबाटै सन्यास लिन्छु । एक सेकेन्ड बस्दिनँ ।

मेरो पनि बाबु लाहुरे हो । म घरको कान्छो छोरा । भ्रष्टाचार गर्नु आवश्यक छैन । लेटाङमा मैले चुनाव जित्नुको पनि एउटा कारण हो, मैले अहिलेसम्म कसैको एक पैसा खाएको छैन ।

यसवर्षको नगरसभामा पनि विवादमा तानिनुभयो, उपमेयरसँग विवाद हुनुको कारण के हो ?

हाम्रो उपमेयर एमालेबाट आउनुभयो म कांग्रेसबाट । योपटकको नगरसभामा चाहिँ मैले १० मिनेटको समय नदिँदा असहमत भएर उहाँहरु निस्किनुभयो । बडो हाँसउठ्दो कुरा छ । उहाँले जे–जे भन्नुभएको छ, त्यो मैले मानेको पनि छु । सही गर्दिएको पनि छु । तर, उहाँ नगरसभामा आउनुभएन । मैले किन नआउने भन्दा उहाँले मेरो असहमति भयो भन्नुभयो । केमा चित्त बुझेन भनेर सोध्दा मैले समय दिइनँ भन्नुभयो ।

उपमेयरलाई किन बोल्ने समय नदिएको त ?

उहाँको घर जाँते हो । लेटाङमा कार्यपालिकाको बैठक ८ बजे थियो । त्यसबेला उहाँलाई फोन गरेर पनि पटक–पटक भनिरहेको थिएँ । पहिले कार्यपालिकाको मिटिङ सकौं अनि एक घण्टा भए पनि बसौंला भने । तर, उहाँ मान्नुभएन । उहाँ सहभागी नभए पनि बजेट प्रस्तुत भयो । तर, पछि नेकपाका वडा अध्यक्षहरुले पनि असहमति जनाउनुभयो । कारण, उपमेयर नआएर भन्ने रहेछ ।
माथि केन्द्र सरकारले असार ३१ गतेभित्र नगरसभा नगर्नेलाई अनुदान नदिने भनेर उर्दी जारी गरेको थियो । त्यो उहाँकै पार्टीका जनप्रतिनिधिले मान्नुहुन्न भने त पक्कै पनि केही गर्ने खेल हो, यो मैले बुझ्नुपर्‍यो ।

भनेपछि लेटाङ नगरपालिका एकतावद्ध भएर अघि बढ्न सकेको छैन ?

उपप्रमुखलाई मबाट सूचनाहरु नदिनु भन्ने मैले आदेश दिएको शंका लागेको छ भने माथि तपाईकै सरकार छ, प्रमुख प्रशासकीय अधिकृतलाई एक सेकेन्ड पनि नराख्नुहोस्, पठाइदिनुहोस भनेको छु । मन्त्री लालबाबु पण्डितलाई पनि भनेको छु । काम नगर्ने कर्मचारी परिवर्तन गरिदिनुहोस् भनेर ।

अहिले मलाई काम गर्न अप्ठ्यारो परेकै हो । कर्मचारीको कारणले । म सबैलाई मिलाएर लान्छु । तर, मसँग हारेका साथीहरुले उमेयरलाई उचालेर ठूलो इस्यु बनाएकै हो ।

अहिले लेटाङ नगरपालिकामा ४० प्रतिशत पनि कर्मचारी छैनन् । बजेटको हालत उस्तै छ । मोरङ जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका, तर खै त बजेट छुट्टिएको ?

काम भएन, भ्रष्टाचार मात्रै भयो भन्ने जनताको आरोप पनि त छ नि जनप्रतिनिधिमाथि ?

जति जनप्रतिनिधि आएका छौं। सबैले पार्टीगत संकीर्णता छाडेर समृद्ध नेपाल बनाउनेतर्फ लाग्नुपर्छ । यहाँ सबैको खाँचो छ । कसैको चरित्रमाथि खेलबाड गर्नुहुँदैन । सबै मिल्नुपर्छ । सबैको कुरा मैले सुन्नुपर्छ । मैले भन्ने गरेको छु पद दुरुपयोग र भ्रष्टचारबाट चाहिँ लेटाङलाई मुक्त गराउँछु ।

 

source : onlinekhabar

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ