निर्मला हत्या स्वीकारेका प्रदीप र विशालको पनि डिएनए मिलेन

Letang Khabar मंगलबार, पौष ०३, २०७५

निर्मला हत्या स्वीकारेका प्रदीप र विशालको पनि डिएनए मिलेन
ज्ञानेन्द्र खड्का

बर्खास्त एसपी र इन्सपेक्टर पक्राउ पर्न सक्ने

काठमाडौं ०३ पुष २०७५ । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको पनि डिएनए रिपोर्ट नेगेटिभ आएको छ।

गत मंसिर १८ गते काठमाडौँको राजधानीबाट पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ निवासी प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

‘बलात्कारपछि हत्या गरेर गाउँकै उखुबारीमा भेटिएको निर्मलाको शवबाट निकालिएको ‘भजाइनल स्वाबसँग दुवैजनाको डिएनए मिलेको पाइएन’, उच्च स्रोतले भन्यो, ‘दुवैको डिएनए परीक्षणको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले प्रहरी प्रधान कार्यालयलाई बुझाइसकेको छ। अब यसलाई जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले आज या भोलिसम्म खोल्नेछ।’

मंसिर १८ गते महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमक्ष पनि साविती बयान दिएका थिए। उनकै बयानका आधारमा प्रहरीले प्रदीपकै साथी विशाललाई उनकै घरबाट पक्राउ गरेर साउन २१ गते काठमाडौँ ल्याएको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा लिइएको बयानमा प्रदीपले सुरुमा हत्या गरेको साविती बयान दिएका थिए। उनकै बयानका आधारमा पक्राउ परेका विशालले पनि बयानमा घटना स्वीकारेका थिए।

तर, पछिल्लो समयमा उनीहरुले पटक पटक बयान फेर्दै प्रहरीलाई नै अफ्ठेरोमा पारेका थिए। उनीहरुसँगको बयान चलिरहेका बेला डिएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।

तर, त्यहाँ गरिएको परीक्षणमा दुवैजनाको डिएनए निर्मलाको स्वाबसँग नमिलेपछि प्रहरी अनुसन्धान मोडिएको हो। अहिलेसम्म करिब कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, बलात्कारको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसहित २२ जनाको डिएनए परीक्षण गरिएको छ। तर ती कसैसँग पनि निर्मलाको स्वाब नमिलेपछि प्रहरी अनुसन्धान झन् जटिलतातर्फ धकेलिएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला प्रकरणमा अनुसन्धानको दायरा साँघुरिएको यसअघि नै बताइसकेका छन्। अझ रक्षामन्त्री ईश्वर पोखरेलले त निर्मलाका हत्या अभियुक्त पक्राउ परिसकेको भन्दै चाँडै सार्वजनिक गर्ने अभिव्यक्ति नै दिए।

निर्मलाको स्वाब नै गलत ?

प्रहरीले अहिलेसम्म डिएनए गरेका २२ जनाको रिर्पोट नेगेटिभ आएपछि निर्मलाको भजाइनल स्वाब संकलन विधि नै गलत भएको आशंका बढ्न थालेको छ।

निर्मलाको हत्या भएको भीमदत्तनगर नगरपालिका–२ र १८ को सीमास्थित उखुबारीको घटनास्थल जाँच प्रकृति मुचुल्का संकलनबाटै प्रहरीले गडबडी गरेकाले अहिलेको जटिल अवस्था निम्तिएको प्रहरी अधिकारी नै बताउँछन्।

अपराध अनुसन्धानमा घटनास्थलको सबुतलाई पहिलो प्रमाण मानिन्छ। तर अनुसन्धानमा विज्ञता भएका प्रहरी घटनास्थल नपुग्दा प्रमाण मेटिने गरेको पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। उनले निर्मलाको केशमा पनि अनुसन्धान विज्ञको अभाव हुँदा सुरुबाटै प्रमाण मेटिएको आशंका गरे।

‘क्राइम सिन अपराध अनुसन्धानको पहिलो प्रमाण र कडी पनि हो। घटनास्थलको सबुत जुटाउने विधि, घटनास्थलको अवस्थाको विश्लेषण आदि कसरी भयो भन्ने कुराले अनुसन्धानको टुंगो लाग्ने बिन्दु थाहा हुन्छ’, मल्लले भने, ‘बलात्कार जस्तो जटिल निर्मलाको केशमा पनि भजाइनल स्वाब संकलनदेखि बलात्कारमा संलग्नहरुको वीर्यसहितका अन्य प्रमाण संकलनै त्रुटी भएको हुन सक्छ, त्यहीकारणले अनुसन्धान कठिन बनेको हो। यदि विज्ञ अनुसन्धान अधिकृत त्यहाँ खटिएको भए कयौँ प्रमाण घटनास्थलबाट उठाउन सकिन्थ्यो।’

निर्मला पन्तको घटनामा पनि प्रहरीबाट बुझेर या नबुझेर प्रमाण नष्ट भएको हुन सक्ने लामो समय अपराध अनुसन्धानमा समय बिताएका सिआइबीका पूर्वप्रमुख मल्ल बताउँछन्। ‘अपराध अनुसन्धानको पहिलो पाइला नै ‘सिन अफ क्राइम इन्भेस्टिगेसन अफिसर’ ९सोको टिम० बाट सुरु हुन्छ’, उनी भन्छन्, ‘यो टिमले घटनास्थललाई घेर्ने, सुरक्षित गर्ने, घटनास्थलमा रहेका रगत, कपडा र अन्य सबुत प्रमाण जुटाउन भूमिका खेल्छ।’

मल्लको बुझाइमा निर्मलाको केशमा पनि सिन अफ क्राइम इनभेस्टिगेसन अफिसरको अभावमा सुरुबाटै समस्या भएको हो। निर्मलाको शव भएको स्थानमा पुगेर साउन ११ गते वडा प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर जगदीश भट्टसहितको प्रहरी टोलीले घटनास्थल जाँच प्रकृति मुचुल्का उठाएको थियो। घटनास्थल जाँच प्रकृति मुचुल्का उठाउने क्रममा निर्मलाको शरीरका लुगा तथा यौनाङ्ग पखाल्नेसम्मका ‘प्रमाण मेटिन सक्ने शंकास्पद कार्य’ प्रहरीले घटनास्थलमा गरेका थिए।

अझै अफ्ठेरोमा एसपी विष्ट

निर्मलाको केशमा प्रमाण मेट्न भूमिका खेलेको भन्दै बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी प्रमुख इन्सपेक्टर जगदीश भट्ट अझै अफ्ठेरोमा पर्ने अवस्था देखिएको छ।

source: annapurnapost

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ