विराटनगर, २६ मंसिर । झापाको मेचीनगर नगरपालिका ९ धुलावारीकी ६५ वर्षीय चन्द्रमाया मगरको शव विराटनगरको नोबेल शिक्षण अस्पतालले हिजो साँझ आफन्तलाई बुझाएको छ । उपचार र औषधिको रकम नतिरेको भन्दै शव अस्पतालले छ दिनदेखि आफै राखेको थियो । अस्पतालले उपचारका क्रममा लागेको दुई लाख ४० हजार दुई सय रुपैयाँ पनि छुट गरिदिएको छ । अस्पतालले उपचारको सबै रकम छुट गरेपछि औषधि बापतको बाँकी रहेको रकम पछि तिर्ने सर्तमा आफन्त र परिवारका सदस्यले शव बुझेर लगेका छन् । औषधि बापत भएको खर्च भने चन्दा संकलन गरेर पछि तिर्ने सहमति औषधि पसल संचालक र आफन्तबीच भएको छ । चन्द्रमायाका छिमेकी अम्बर लिम्बूका अनुसार अस्पतालले उपचार बापतको सबै खर्च छुट गरिदिने भन्दै आज विहानै शव जिम्मा लिन बोलाएको थियो । औषधि बापत लागेको खर्च गाउँघरमा चन्दा संकलन गरेर पछि तिर्ने सर्तमा शव आफन्तलाई जिम्मा लगाइएको उहाँको भनाइ छ । लिम्बूका अनुसार अस्पताल भित्रको औषधि पसलमा अव तीन लाख रुपैयाँ र अस्पताल बाहिरको औषधि पसलमा एक लाख रुपैयाँ बुझाउन बाँकी छ । औषधिको चार लाख रुपैयाँ पछि तिर्ने सर्तको कागज औषधि पसल संचालक र मृतकका परिवारबीच भएको छ । लिम्बूका अनुसार शव लगेर अन्त्येष्टी गरिसकेपछि औषधि बापतको तिर्न बाँकी रहेको रकम चन्दा संकलन गर्नका लागि जुट्ने तयारीमा गाउँलेहरु छन् । उच्च रक्तचापका कारण ढलेपछि गत कात्तिक ३० गते चन्द्रमायालाई उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो । टाउकोको नशामा रगत जमेको भन्दै उपचारमा संलग्न चिकित्सककै सुझाव अनुसार मंसिर १ गते टाउकोको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा गत बुधबार राति चन्द्रमायाको मृत्यु भएको थियो । औषधि र उपचार बापतको रकम नतिरेको भन्दै नदिएपछि आफन्त अस्पतालमै शव छाडेर हिंडेका थिए । अस्पतालका प्रशासकिय अधिकृत नारायण दाहालले अस्पतालले उपचार खर्च मिनाहा गरिदिएर औषधिको रकम भने पछि तिर्ने सर्तमा आफन्तलाई शव बुझाइएको बताउनु भयो ।