एक शिक्षक बराबर ३ विद्यार्थी

Letang Khabar मंगलबार, मंसिर २५, २०७५

स्नातकोत्तर क्याम्पसमा २ महिनादेखि ताला – राजनीतिक भागबण्डामा क्याम्पस प्रमुख

 

विनोद भण्डारी

विराटनगर ,मंसिर २४, २०७५। राजनीतिक भागबण्डाका आधारमा बाहिरका शिक्षकलाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको विरोधमा प्राध्यापक संघले दुई महिनाअघि यहाँको स्नातकोत्तर क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला अझै खुलेको छैन ।

यसले क्याम्पसको शैक्षिक कार्यक्रम दुई महिनादेखि प्रभावित बनेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत यहाँका ३ आंगिक क्याम्पस स्नातकोत्तर, महेन्द्र मोरङ र नर्सिङ क्याम्पसको प्रमुख नियुक्ति हुँदा राजनीतिक भागबण्डा गरिंदै आएको छ। स्नातकोत्तर तत्कालीन एमाओवादी, महेन्द्र मोरङ कांग्रेस र नर्सिङ क्याम्पस तत्कालीन एमालेको भागमा पर्दै आएको छ।

राजनीतिक भागबण्डाअनुसार स्नातकोत्तर क्याम्पस प्रमुखमा तत्कालीन माओवादी समर्थक महेन्द्र मोरङ क्याम्पसको मनोविज्ञानशास्त्रका शिक्षक महेश खत्री नियुक्त भएपछि प्राध्यापक संघले बाहिरका शिक्षकलाई प्रमुखमा नियुक्त गरेको भन्दै उनको कार्यकक्षमा ताला लगाएको हो। ‘२ महिना भयो ताला खुलेको छैन,’ प्राध्यापक संघका अध्यक्ष टुनाराज भट्टराईले भने, ‘प्रमुखले तालाबन्दी खुलाउने पहलसमेत गरेका छैनन्।’

तालाबन्दीले प्रमुख खत्री आफ्नो कार्यकक्षमा छिर्नसमेत पाएका छैनन् भने क्याम्पसको शैक्षिक कार्यक्रम पनि प्रभावित भएको भट्टराईले जनाए। यसअघि पनि यो क्याम्पसको प्रमुखमा महेन्द्र मोरङ क्याम्पसकै शिक्षक बल्लभमणि पौडेल र हरिहर भण्डारी नियुक्त भएका थिए।

बाहिरका शिक्षकलाई प्रमुखमा नियुक्ति गर्दा शैक्षिक वातावरण खस्कँदै जाँदा यो क्याम्पसमा विद्यार्थीको आकर्षण हरेक वर्ष घटदै गएको छ। विभिन्न दर्जन संकायमा दशकअघिसम्म २ हजार बढी वद्यार्थी अध्ययनरत हुन्थे। अहिले करिब डेढ सय विद्यार्थीमा सीमित छ। क्याम्पसका ५० प्राध्यापक छन्। तर विद्यार्थी मुस्किलले डेढ सय छन्। एक शिक्षक बराबर ३ विद्यार्थी छन्।

भट्टराईका अनुसार नेपालीमा ३, ग्रामीण विकासमा ८, संस्कृतिमा ३, अंग्रेजीमा शून्य, राजनीतिशास्त्रमा ३, इतिहासमा ३, प्राणीशास्त्रमा २०, वनस्पतिशास्त्रमा २०, अर्थशास्त्रमा ५ र समाजशास्त्रमा १५ विद्यार्थी भर्ना भएका छन्। बाहिरका शिक्षकलाई प्रमुखमा ल्याउँदा र क्याम्पसको शैक्षिक वातावरण खस्कँदा विद्यार्थी संख्या घटेको उनको दाबी छ।

विश्वविद्यालय अनुदान आयोगको करिब १० लाख अनुदानमा दशकअघि यो क्याम्पसमा रिसर्च सेल पनि स्थापना भएको थियो। सेल स्थापना भएपछि क्याम्पसवाट १० विद्यार्थीले विद्यावारिधिको उपाधि लिएका थिए। अहिले उक्त रिसर्च सेल र ई–लाइब्रेरीका कम्प्युटर, ल्यापटप, फ्याक्स, प्रिन्टर र एयर कन्डिसनलगायत सामग्री अन्यत्र प्रयोग गरिएका छन्। २०४२ सालमा स्थापना भएको यो क्याम्पस एकताका मुलुककै उत्कृष्ट कलेजका नामले चिनिन्थ्यो।

क्याम्पसको शैक्षिक वातावरण खस्कँदै गएपछि आफ्नो भविष्य सुरक्षित नहुने अवस्था देखिएपछि विद्यार्थी बाहिर जान बाध्य भएको विद्यार्थीको गुनासो छ। नेपाली विषयमा एमए दोस्रो सेमेस्टरमा अध्ययनरत टोम लिम्बू राजनीतिक भागबण्डामा क्याम्पस प्रमुखले नियुक्ति हुनु र शैक्षिक वातावरण पनि नहुनुले क्याम्पसको गुणस्तर खस्किँदा विद्यार्थीको आकर्षण घटेको बताउँछन्।

‘मलाई त्रिविविले यो क्याम्पसको प्रमुख बनाएर पठाएको हो,’ खत्रीले भने, ‘तर क्याम्पसका शिक्षकहरूले कलेजकै शिक्षक प्रमुख हुनुपर्ने माग राख्दै तालाबन्दी गरेकाले ताला खुल्न नसकेको हो।’ तालाबन्दीले क्याम्पसको कुनै पनि गतिविधि प्रभावित नभएको खत्रीको दाबी छ। पढाइ भइरहेको र प्रशासन चलिरहेको उल्लेख गर्दै उनले आफू कार्यकक्षमा भने जान नपाएको बताए।
कान्तिपूर दैनिकवाट

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ