श्रीमतीसँग सल्किएको आशंकामा भतिजाको हत्या

Letang Khabar बुधबार, चैत्र २८, २०७४

– विष्णु सुब्बा

चैत्र , २०७४

आफ्नै काकाबाट मारिन्छु भन्ने के लागेको थियो र झापा, दमक–७ का राजेश मल्लिकलाई, तर त्यस्तै भयो, २०७४ कात्तिक २५ गते उनी आफनै काकाद्वारा मारिए । दमककै व्यस्त चोकमा अवस्थित त्रिवेणी गेष्ट हाउसमा १९ वर्षीय राजेश मृत भेटिए, त्यो पनि हत्या गरिएको अवस्थामा । उनको कोखामा धारिलो छुरा प्रहार गरिएको थियो । गेस्ट हाउसको १०४ नम्बर कोठामा बाहिरबाट चुकुल लगाइएको अवस्थामा दिउँसो ५ बजेतिर राजेशको शव फेला परेको थियो । हत्याका अभियुक्त थिए, राजेशका आफ्नै २६ वर्षीय काका भोला भनिने नरेश मल्लिक ।राजेश दमकस्थित हिमालय माविमा कक्षा १२ मा अध्ययनरत थिए । उनीहरूको परिवार सगोलमै थियो । काका नरेश, काकी, बुबा–आमा सबै एउटै घरमा बस्थे । गुजाराका लागि राजेशले स्थानीय गेस्ट हाउस त्रिवेणीको व्यवस्थापकीय जिम्मा लिएका थिए । विज्ञान विषय अध्ययनरत राजेश घर र गेस्टहाउसको कामकाज भ्याएसम्म गर्थे ।

प्रतिशोध साध्न हत्या

बयानका क्रममा अभियुक्तले काकी (आफ्नी श्रीमती)सँग हाँसखेल गरेको र जिस्किएको प्रतिशोध साँध्न भतिजाको हत्या गरेको बयान दिएका छन् । शंकालु स्वभावका नरेशले आफ्नी श्रीमतीसँग भतिजा राजेश निकै नजिक भएको अनुमान गरेका थिए । त्यही आशंकाले ठूलो घटनाको रूप लियो । काका–भतिजाबीचको त्यही कुराले कुटाकुट हुने स्थिति सिर्जना भएपछि नरेशले भतिजामाथि एक्कासी चक्कु प्रहार गरे । चक्कु प्रहारबाट छटपटाएका राजेशले केहीबेरमै श्वास फेर्न छाडे । घटना लगत्तै शवलाई त्यही छाडी बाहिरबाट चुकुल लगाएर काका नरेश फरार भए ।

यता आफन्त तथा छरछिमेकीहरूले भने मृतक राजेशको चालचलन त्यस्तो नभएको दाबी गरेका छन् । उनका सहपाठीहरू पनि राजेशमा त्यस्तो उच्छङ्खल स्वभाव नभएको जिकिर गर्छन् । पीडित परिवार भन्छ– सहानुभूति बटुल्न अभियुक्तले यस्तो नाटक रचेका हुन् । हत्याभन्दा केही समयअघि मात्र नरेशले ससुराली जाने भन्दै राजेशसँग ३ हजार रुपैयाँ लिएको बयान प्रहरीलाई दिएका छन् । घटनाअघि अभियुक्तले राजेश कार्यरत गेस्टहाउसमा पानी र कोक पिएका थिए ।

शुक्रबार बिहान हत्यामा संलग्न भनिएका नरेशलाई पक्राउ गरिएपछि इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा नायव प्रहरी उपरीक्षक (डिएसपी) दीपक गिरी भन्छन्— हामीले लामो समयको मेहनतपछि अभियुक्तलाई पक्राउ गरेका छौँ तर विस्तृत कारण खुल्न बाँकी नै छ । प्रहरीसँगको बयानमा नरेशले आफ्नी श्रीमती र राजेशबीचको शंकास्पद सम्बन्धले आफूलाई आक्रोशित तुल्याएको बताएका छन् । भतिजा र श्रीमतीबीचको सम्बन्धमा शंका लागेको अभियुक्त नरेशको जिकिर छ । डिएसपी गिरी भन्छन्– यसको विस्तृत अनुसन्धानजारी छ ।

काँकड्भिट्टाबाट समातिए

राजेशको हत्या भएको करिब पाँच महिनापछि प्रहरीले उनको हत्यामा संलग्न काकालाई पक्राउ गरेको हो । डिएसपी दीपक गिरी घटनालगत्तै अपराधीलाई पक्राउ गर्न प्रहरी सक्रिय भए पनि हत्याका शंकास्पद अभियुक्तलाई करिब पाँच महिनापछि मात्र समात्न सकिएको बताउँछन् । डिएसपी गिरीका अनुसार जोगवनी हुँदै भारत पसेका नरेश भारतको पश्चिम बंगालमा पर्ने मतिगडामा बस्दै आएकोसुराक प्रहरीले पहिल्यै पाएको थियो । भारतमै छँदा उनी सीमावर्ती क्षेत्रसम्म आएर केही व्यक्तिलाई भेट्ने गरेको सूचना पनि प्रहरीसँग थियो ।

डिएसपी गिरीका अनुसार त्यसैले प्रहरीले सीमावर्ती शहर मेचीनगरको काँकडभिट्टामा विशेष निगरानी गरिरहेको थियो । डिएसपी गिरी भन्छन्– यसमा हामीले निरन्तर फलोअप गरिरह्यौँ । नरेश आएको थाहा पाएपछि क्षेत्रको अनुसन्धान टोलीसहित म आफैँ समेत गएर काँकडभिट्टाबाट पक्राउ गरेर ल्याएका हौँ । गत शुक्रबार नै स्थानीय जनप्रतिनिधि तथा पीडित परिवारको उपस्थितिमा दमक प्रहरीले पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको थियो ।

यो घटनाको अनुसन्धानमा प्रदेश नम्बर–१ प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूहबाट प्रहरी निरीक्षक हेमराज ओली तथा प्रहरी नायव निरीक्षक लेखनाथ दाहाल पनि खटिएका थिए । पक्राउ गरिए पछि अभियुक्तलाई जिल्ला अदालत झापामा उपस्थित गराई कर्तव्य ज्यान मुद्दामा १० दिने म्याद थप गराई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ढिलाइको कारण 

घटना दमकको मुख्य चोकमा भए पनि उक्त सूचना प्रहरीसम्म समयमै नआउँदा अभियुक्त तत्काल उम्कन सफल भएको प्रहरी अधिकारीहरू बताउँछन् । घटना भएको तीन–चार घण्टा पछि मात्र बल्ल खबर आयो, डिएसपी गिरीले बताए । व्यस्त चोकको तेस्रो तल्लामा घटना भए पनि गेस्टहाउसमा खासै चहलपहल नहुँदा घटना बाहिर आउन ढिलाई भएको थियो ।

घटना भएकै दिन क्षेत्रीय प्रहरी कार्यालयको कुकुरसहितको टोली त्यहाँ पुगेको थियो । कुकुर झिकाएर अनुसन्धान गरिए पनि त्यतिन्जेलसम्म अपराधी भागिसकेको निष्कर्ष प्रहरीको थियो । मल्लिकको हत्यापछि दमकमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै हत्यारालाई पक्राउ गर्न दबाबसमेत दिएका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ