लेटाङ , ६ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री रमेश लेखकले आइतबार मोरङको लेटाङमा प्रश्न गरे, ‘राजा र माओवादीले बम पड्काउँदा केपी ओली कहाँ थियो ?’
३६ औं बिपी स्मृति दिवसको अवसरमा कांग्रेस मोरङ १ क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा लेखकले भने, ‘१७ हजार मान्छे मार्ने माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्यायो, तर त्यसबेला एमालेका केपी ओली कहाँ थियो ? शान्ति वार्ता टोलीले माओवादीसँग वार्ता गर्नुपर्छ भनेर प्रस्ताव राख्दा समेत ओलीले अस्वीकार गरेको लेखकले स्मरण गराए ।
एमाले गणतन्त्र विरोधी भएको आरोप लगाउँदै कांग्रेस केन्द्रीय सदस्य लेखकले एमालेबाट गणतन्त्रलाई खतरा भएको र वर्तमान सरकार यसको सबैभन्दा ठूलो चुनौति भएको दाबी गरे । राजनीतिक इतिहासमा चारवटा तानाशाहविरुद्ध कांग्रेस लडेको उल्लेख गर्दै लेखकले भने, ‘एकतन्त्रीय जहानियाँ राणा शासन विरुद्ध, ३० बर्षे पञ्चायती शासनविरुद्ध, निरकुंश राजतन्त्र विरुद्ध र कम्युनिष्ट अतिवाद विरुद्ध कांग्रेस लडेको छ ।’ माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान कार्यान्वयन गरी स्थानीय तहको निर्बाचन कांग्रेसले गराएको लेखकको भनाई छ । उनले वर्तमान सरकार तीन करोड नेपाली जनता विरुद्ध रहेकोले डा.गोविन्द केसीको मागलाई वेवास्ता गरेको बताए ।
कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले बिपीले प्रतिपादन गरेको सिद्धान्तका कारण नागरिकहरुले स्वतन्त्रता प्राप्त गरेको उल्लेख गर्दै वर्तमान सरकार नागरिक अधिकारविरुद्ध अधिनायकवादतर्फ अग्रसर रहेको आरोप लगाए । केपी ओलीको सरकारले गरेको काम सञ्चार माध्यमवाट जानकारी भईरहेको र जनताले यसको मुल्याङकन गरिरहेको उल्लेख गरे ।
विपीले दिएको योगदानका कारण नेपाली जनताले महामानवको रुपमा लिएको चर्चा गर्दै विरोध र समर्थन गर्ने अधिकार प्रजातन्त्रमा हुने भएको र यस कुरालाई लागु गर्न योगदान गरेको वताए । विपीले सिदान्तको प्रतिपादन गरेकाले उनलाई युगयुग सम्म मानिसहरुले सम्झना गरिरहने वताए ।
अधिनायकवाद लाद्न खोजेको भन्दै नेता लिम्बुले केपी ओली नेतृत्वको वर्तमान सरकारको विरोध गरे । प्रजातन्त्रमा वोल्ने , हिड्ने र गलत लाई गलत र सहिलाई सहि भन्ने अधिकारलाई कुल्चिएकोमा आपत्ती जनाए ।
कांग्रेस क्षेत्रीय सभापति खड्ग फागोको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सल्लाहकार दिलीप सापकोटा, महासमिति सदस्य शंकर राई,ललित अधिकारी, ईश्वरीप्रसाद कोइराला, महाधिवेशन प्रतिनिधि शोभा चेम्जोङ पालुङ्वा, इुश्वरी जोशी, भिमलाल गहतराज, रोहित कार्की, दिपकचन्द्र राई, ज्ञानेन्द्र ढकाल, प्रकाश बस्नेत, भिम पोखरेल, गोमा नेपाललगायतले महामानव बीपी कोइरालाको योगदान, व्यक्तित्व र कृतित्व बारे चर्चा गरेका थिए ।