सुजाता खतिवडा (बिजेता लेटाङ प्रिन्सेस २०१८)
मोरङको लेटाङ ९ जाँतेमा मातापिता जिवन र लक्ष्मी खतिवडाको कोखबाट १८ वर्षअघि जन्मिएकी सुजाता खतिवडाले उत्तरी मोरङ मै पहिलो पटक लेटाङ लायन्स क्लबद्वारा आयोजना गरिएको लेटाङ प्रिन्सेस २०१८ को ताज पहिरिन सफल भइन् । मोरङको पथरी स्थित रेडस्टार आवसीय माध्यमिक विद्यालयबाट कक्षा १२ को अध्ययन सकेर उच्च अध्ययनको तयारीमा रहेकी उनै खतिवडासँग बेतना दैनिकका लागी भूमिका पाख्रिनले गरेको कुराकानीको सम्पादित अंशहरु :
ताज पहिरिँदा कस्तो महसुस भएको छ ?
म अत्यन्तै खुशी छु । हामी ४२ जनाले नै उत्तिकै मेहेनत गरेको भएपनि ताज भने मैले हात पर्न सके । ताज जित्नुमात्र ठुलो कुरा हैन, यस ताजले दिएको जिम्मेवारीलाई सकारात्मक ढंगबाट अगाडि बढाउने छु ।
ताज जित्नु अघि र ताज जितिसकेपछि आफूमा के फरक पाउनु भयो ?
ताज जित्नु अघिसम्म म आमा बाबुको छोरी सुजाता खतिवडा थिए । ताज जितेपछि म सिंगो लेटाङकै छोरी महसुस गर्दैछु । अत्यन्तै गर्वको अनुभुति भइरहको छ ।
विजेताको रुपमा तपाईको नाम बाचन हुँदाको पललाई एक पटक सम्झनुहोस् न ?
मेरो नाम उच्चारण भए पश्चात हर्षले विभोर भए । मेरो परिवार र विशेष गरी मेरो हजुरबुवा नन्दप्रसाद खतिवडालाई सम्झे । उहाँहरुले मलाई प्रतियोगितामा भाग लिन मात्र जान दिनु भएन, सधै प्रेरणा र हौसला पनि दिइ नै रहनु भयो । तसर्थ उहाँहरुकै कारण मैले यो उपाधि जित्न सके । आगामी दिनमा अझ मेहेनत गरी काम गर्नेछु ताकी मेरो परिवारले सधै म माथी गर्व गर्न सकोस् ।
सौन्दर्य प्रतियोगितालाई नकारात्मक दृष्ट्रिकोणले पनि हेरीन्छ नि?
हामी गाँउ मै जन्मेहुर्केका हौ । हाम्रो समाजमा यस्ता प्रतियोगितालाई खासै सकारात्मक रुपमा हेरिदैन । यद्यपी सुचना प्रविधिको बदलिदो युगमा यस्ता प्रतियोगिताबारे आम मानिसको धारणा परिवर्तन हुँदै जानेछ भन्नेमा म विश्वस्त छु । बाहिरी सौन्दर्यलाई मात्र नहेरी यस्ता प्रतियोगिताले व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्न धेरै नै मद्धत पुगेको छ । त्यसैले सकारात्मक रुपमा लिनुपर्छ जस्तो लाग्छ ।
तपाईको भावी योजनाहरु के के छन् ?
अहिले त म आफ्नो अध्ययनलाई नै अगाडि बढाईरहेको छु । सर्वप्रथम त मेरो अध्ययनलाई पुरा गर्नेछु । साथै लेटाङ प्रिन्सेसको जिम्मेवारी अत्यन्तै अनुशासित भई पुरा गर्नेछु । मोडलिङ र गायनको क्षेत्रमा पनि उत्तिकै रुचि छ, यसलाई पनि अगाडि बढाउने छु ।
प्रस्तुति – भूमिका पाख्रिन