विराटनगर, ३१ असार । नेपाल तरुण दल रंगेलीका उपाध्यक्ष भरत मण्डल पक्राउको विरुद्धमा विराटनगरमा निकालिएको मसाल जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको छ ।
जुलुसका क्रममा विराटनगरस्थित तीनपैनीबाट शनिबार साँझ निकालिएको मसाल जुलुसमा तरुण दल, नेविसंघ, नेपाल महिला संघ, टे«ड युनियन कांग्रेससँग आबद्ध नेता कार्यकर्ताको सहभागिता थियो । रंगेली नगर उपाध्यक्ष मण्डललाई सामान्य विवादमा पक्राउ गरिएको भन्दै नेपाल तरुण दल मोरङको अगुवाईमा आन्दोलन सुरु गरेको कांग्रेसले जनाएको छ ।
मण्डलको तत्काल रिहाईको माग गर्दै नेपाल तरुण दलको अगुवाईमा नेविसंघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेविसंघ र महिला संघले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका थिए । मण्डललाई रिहा नगरे मोरङ जिल्ला बन्द आह्वान गर्ने तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापाले बताए । नेविसंघका सहमहामन्त्री कृष्ण कार्कीले भरत मण्डललाई तत्काल रिहाई नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी दिए । “निःशर्त तत्काल रिहाइ नगरे अझै सशक्त आन्दोलन गर्छौं,” कार्कीले भने । सामान्य वादविवादको विषयलाई स्थानिय स्तरमै मेलमिलाप गर्नूको साटो सत्ताको दम्भले मातिएर थुनामा राखेको प्रति आपत्ती रहेको नेविसंघका नेता सुविन पराजुलीले वताए ।