विराटनगर ,०३ जेठ २०७५ । मोरङको केरावारी गाउँपालिकामा रहेको खदम खोलाको प्राकृतिक स्रोत प्रयोग गर्ने गरी स्थापना भएका तीन ओटा क्रसर उद्योगले मापदण्डभन्दा बाहिर गएर ढुंगागिटी निकालेका छन् । ती उद्योगले वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनले उत्खनन् गर्न मिल्ने भनी दिइएको परिमाणभन्दा तीन गुणा बढी ढुंगागिटी निकालेका हुन् ।
त्यसले स्थानीय वातावरणमा प्रतिकूल असर पारेको छ । खोलाबाट झिक्नु पर्ने भन्दा तीनगुणा बढी स्रोत उत्खनन् गर्दा खोला गहिरिएको छ भने दुवै किनारका खेतियोग्य जमिन सिंचाइँ सुविधाबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ । सरकारले प्राकृतिक स्रोत उत्खनन् तथा अनुगमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले त्यसको संरक्षण तथा अनुगमन गर्नुपर्नेमा गाउँपालिकाका अध्यक्ष र तीन जना वडाध्यक्षहरूले क्रसर उद्योगका सञ्चालक भएका कारण खोलामाा जनप्रतिनिधिको राज चलेको हो । जनप्रतिनिधिहरू नै ढुंगागिटी उत्खनन् गर्ने क्रसर उद्योग सञ्चालक भएका कारण आफूलाई नोक्सान पर्ने गरी कार्यपालिकाबाट निर्णय नगरी प्राकृतिक स्रोतको व्यापक दोहन गरिरहेका छन् । करोडौंको स्रोत चोरी तस्करी गर्ने कार्यमा जनप्रतिनिधि आफैं जुटेपछि स्थानीय निराश भएका छन् भने ठेकेदारबाट प्रभावित भएर जिल्ला समन्वय समितिदेखि जिल्ला प्रशासन कार्यालयले समेत सुनुवाई नगर्दा उनीहरूमा आक्रोश बढेको छ । केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की पुराना क्रसर व्यवसायी हुन् । त्यस्तै वडा नम्वर ३ का अध्यक्ष भक्त श्रेष्ठ, ८ का मनोज खड्का र १० का जंग खवासले खदम खोलामा क्रसर उद्योग स्थापना गरेका छन् । मापदण्डविपरीत चुरे तथा खोला क्षेत्रमा स्थापना भएका ती क्रसर उद्योगले व्यापक रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी बिक्री गरिरहेका छन् ।
जिल्ला समन्वय समितिले तोकेको परिमाणभन्दा धेरैज उत्खनन् गरेर दुरुपयोग गरेको भन्दै स्थानीयले नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ महिनाअघि उजुरी दिएका थिए । उजुरीपछि आएको छानविन टोलीले तीनगुणा बढी उत्खनन् गरेको प्रतिवेदन दिए पनि थप कारबाही भएको छैन । स्थानीय चुरे खदम संरक्षण समितिका अध्यक्ष बलबहादुर भुजेलले खदम खोलाको अवस्था भयावह भइसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘हाम्रा जनप्रतिनिधि नै खोलाको स्रोत व्यापक दुरुपयोग गरेर आर्जन गर्न लागेपछि पर्यावरणमा प्रतिकुल प्रभाव मात्र परेको छैन खोला किनारका दुवै बस्ती खेतियोग्य जमिन सुख्खाग्रस्त भएको छ ।’ खोला गहिरिएपछि पानीको लेवल तल झरेको छ भने खोला छेकेर खेलमा सिंचाइँ गर्ने किसानहरूले अब पम्पबाट पानी तान्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्था ल्याउन जनप्रतिनिधिहरू जिम्मेवार रहेको भन्दै स्थानीयले निरन्तर विरोध गर्दै आएका छन् । उनीहरूले खदम खोलामा झिक्न मिल्ने ढुंगागिटी नरहेको भन्दै तीन वटै क्रसर उद्योग बन्द गर्न माग गरे पनि कुनै सुनुवाई भएको छैन ।
केरावारी गाउँपालिकाकी उपप्रमुख शान्तिकुमारी लिम्बूले खोलाको अवस्था अत्यासलाग्दो भइसकेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले क्रसर उद्योगलाई नियन्त्रण गर्न पहल गरे पनि नसकेको र गाउँपालिकाका जनप्रतिनिधिले नै चलाएको उद्योग भएकोले पनि दुरुपयोग नियन्त्रण गर्न आफूहरूलाई कठिन भएको बताइन् । उनले भनिन्, ‘खोलामा भइरहेको स्रोत दुरुपयोग रोक्नुपर्छ भन्दा विकास ठप्प पारेर विकास विरोधीको रुपमा चित्रित गरिदिने गतिविधि भइरहेको छ । जनस्तरमा यसविरुद्ध ठूलो आवाज उठिरहेकोले अब नियन्त्रणका लागि जनताको साथ पाउने आशा पलाएको छ ।’ गाउँपालिका प्रमुखले विपक्षमा मत राख्नेहरूलाई पछिल्लो समय निर्णय प्रक्रियामा सहभागी नगराइ अघि बढिरहेको बताइएको छ ।