पथरीको पशुपति सामुदायिक वन विरुद्ध अख्तियारमा उजुरी

Letang Khabar शुक्रबार, बैशाख २८, २०७५

कटान आदेशभन्दा बढी काठ निकालेको उपभोक्ताहरूको आरोप

बेलबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले अनियमितता गरेकोभन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुनसरी इटहरी लगायतको विभिन्न निकायमा उजुरी परेको छ । उपभोक्ताहरू खेम भट्टराई, बालकुमार मगर, ज्ञानेन्द्र राई लगायतको उपभोक्ता टोलीले अख्तियार, जिल्ला वन कार्यालय मोरङ, १ नम्बर प्रदेश वन मन्त्रालय र प्रधानमन्त्रीको निजी सचिवालय लगायतको निकायमा अनियमिता विरुद्ध छानविन गरी कारबाही गर्न माग गरेका छन् ।वन उपभोक्ता समूहमा २ हजार ६ सय ७१ किवि लकडी कटानको आदेश ल्याएर झण्डै ५ हजार किवी लकडी काटेको रहस्य खुलेको छ । जिल्ला वन कार्यालय मोरङले ०७४ फागुन २१ गते पशुपति सामूदायिक वनलाई सालका ३६ वटा र अन्य जातका १० वटा रुख कटानको आदेश थियो । तर बन समिति र सेक्टर बन कार्यालय मंगलबारेका सहायक वन अधिकृत तारिणीप्रसाद चौधरीको मिलेमतोमा तोकिए भन्दा बढी काठ कटान भएको खुलेको छ । चौधरीको आशीर्वादमा काटिएका टुनामा लगाइएको टाँचाका आधारमा पनि घाटगद्दीमा ५ हजार किवी भन्दा बढी लकडी भएको जानकारहरू बताउँछन् ।

तोकिए भन्दा बढी कटान भएको रहस्य सार्वजनिक भएपछि गत शुक्रबार बिहानै देखि चौधरी आफै लागेर प्रत्येक टुनामा ५ देखि १० किवी सम्म कम नापजोखाको अंक लेखेर कटान अनुसारको परिमाणमा कटान भएको पुष्टि गर्न लागेका छन् । यसै बीच वनमा आर्थिक अनियमितता भएको भन्दै ६६ जना उपभोक्ताले यही सोमबार छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता दर्ता गरका छन् । उपभोक्ताहरूले उजुरीको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग,प्रदेश नं। १ का वन मन्त्री,जिल्ला वन कार्यालय,क्षेत्रीय वन निर्देशनालय, जिल्ला प्रहरी कार्यालय, बन मन्त्रालय र प्रधानमन्त्रीको नीजि सचिवालयलाई दिएको छन् ।

यति मात्रै होइन ,सामूदायिक वनले अघिल्लो समितिका सचिव कृष्ण घिमिरेसँग भुक्तान लिन बाँकी २ लाख २७ हजार ९७९ रुपैयाँ ७२ पैसा अझै असुल गर्न सकेको छैन । समाचार स्रोत भन्छ–बन पदाधिकारीहरूले धेरै जसो रकम समितिकै जिम्मामा राख्ने गरेका छन् । जसले गर्दा कागज मिलाउँदै खर्च गर्दै गर्ने गरिएको छ । नगर क्षेत्र भित्र साना ठूला गरी १५ वटा बैंक र झण्डै ५५ वटा सहकारी संस्था छन् । यद्यपि सामूदायिक वनले बैंक मार्फत आर्थिक कारोवार नगरेको उपभोक्ताहरू बताउँछन् । नगरपालिकाको वार्ड नं। १० का अध्यक्ष सागर राईले समेत सामूदायिक वनमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन्। उनले आर्थिक अनियमितता भए नभएको छानविन गर्न सरोकारबाला निकायसँग माग समेत गरेका छन् । वन कार्यालयबाट लिएको आदेशभन्दा दोब्बर ५२ सय काठ काटेको असन्तुष्ट उपभोक्ताहरूको दावी छ । काठ काट्ने मजदुरहरूबाट उक्त विषय खुलेपछि उपभोक्ताहरूले विरोध जनाएका थिए । असन्तुष्ट उपभोक्ताहरूले विरोध जनाएकै कारण कार्यालय परिषरको घाटगद्धीमा राखिएको काठ वन कर्मचारीहरूले पुनः नापिरहेका छन् । सामुदायिक वन कार्यालयमा अनियमितता भएको प्रचार भएपछि करिव सय जना उपभोक्ताहरूको हस्ताक्षर सहित अनियमितता गर्ने उपभोक्ता समितिका पदाधिकारीहरु, मिलेमतो भए छानविन गरी दोषी वन कर्मचारीहरूलाई समेत कारर्बाही हुनुपर्ने असन्तुष्ट पक्षको माग रहेको छ ।

यता उपभोक्ता समितिको अध्यक्ष ईश्वर चौहानले भने विधान, कार्ययोजना र वनको आदेशमै काठ काटिएको र घाटगद्दी भएको बताए । अध्यक्ष चौहानले वन कार्यालायबाट कटान आदेश आएको २६ सय ७१ र कुकाठ ७९ सहित १८ सय ४१ गरी जम्मा ४५ सय १२ क्युफिट काठको फरक मिटिको दुईवटा कटान आदेश देखाउदै अनियमितता नभएको बताए । वनको सल्लाहाकार टंक भण्डारी र उपभोक्ता रविन राईले समेत पशुपतिमा सावउसमा अनियमितता नभएको दावी गरे । असन्तुष्ट पक्षले भने सामुदायिक वन भित्र करोडौंको अनुमितताहुने गरेको पटक पटक सचेत गराउदा पनि नसच्चिएको बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ