

काठमाडौं, १० फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।
गोरखापत्र संस्थानले आईतवार आयोजना गरेको कार्यक्रममा उहाँले केही तत्वहरुले निर्वाचन बिथोल्ने प्रयास गरेपनि त्यो प्रयास सफल नहुने बताउनुभएको हो । उहाँले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गर्नुभयो ।
अझै पनि केही उम्मेद्वारहरुले आफूलाई निर्वाचनको वारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्नुहुँदै भ्रममा नपरि निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिनुभयो । उहाँले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्नसक्ने उल्लेख गर्नुभयो ।


अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उहाँको भनाई छ । निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै उहाँले निर्वाचनको वातावरण विथोलिने अवस्था अब नबन्ने जिकिर गर्नुभयो । राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार–प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उहाँको भनाइ छ । नयाँ पुराना सबै शक्तिहरुले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उहाँको दाबी छ ।
नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल हुने उहाँले बताउनु भयो । निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । साथै, वातावरण निर्माणमा देखिएका कमजोरी सुधार गर्न सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
उहाँले निर्वाचन आचारसंहिता पालना गर्न पनि सम्बन्धित सबैसंग आग्रह गर्नुभयो । केही सञ्चारमाध्यामहरुले मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै उहाँले मत सर्वेक्षण नगर्न पनि आग्रह गर्नुभयो । आफूले पटकपटक मत सर्वेक्षण नगर्न आग्रह गरेपनि केही सञ्चारमाध्यामहरुले नटेरेको उहाँको गुनासो छ । उहाँले आचारसंहिता विपरितको कार्य गरिरहे कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिनुभयो ।