

लेटाङ, २ फागुन। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजामा लेटाङ नगरपालिकाले अंकमा उल्लेख्य सुधार गरेको छ। आर्थिक वर्ष २०८०/०८१ मा ५७.८ अंक प्राप्त गरेको लेटाङले आर्थिक वर्ष २०८१/०८२ मा ६५.०४ अंक हासिल गर्दै ७.२४ अंकले प्रगति गरेको हो।
तर प्राप्तांकमा सुधार भए पनि जिल्लागत वरियतामा भने लेटाङ पछि परेको छ। गत वर्ष ५७.८ अंकसहित मोरङमा विराटनगर महानगरपालिका बाहेक दोस्रो स्थानमा रहेको लेटाङ यस वर्ष पाँचौँ स्थानमा झरेको छ।


आयोगको २०८१/०८२ को नतिजाअनुसार मोरङ जिल्लामा विराटनगर महानगरपालिका ७९.११ अंकसहित पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा पथरीशनिश्चरे नगरपालिका ७४.६९ अंकसहित रहेको छ भने तेस्रो स्थानमा उर्लाबारी नगरपालिका ७४.७२ अंक प्राप्त गरी उक्लिएको छ। चौथो स्थानमा बुढीगंगा गाउँपालिका ६९.५६ अंकसहित रहेको छ।
यसरी लेटाङले आफ्नै अघिल्लो नतिजासँग तुलना गर्दा उल्लेख्य सुधार गरे पनि अन्य स्थानीय तहले पनि तीव्र गतिमा प्रगति गरेका कारण जिल्लागत स्थान खस्किएको देखिएको छ। स्थानीय तहबीच बढ्दो प्रतिस्पर्धाले आगामी वर्षमा थप सुधारका लागि दबाब सिर्जना गरेको छ।