लेटाङ, ४ पुस । लेटाङ नगरपालिकाबाट कर तथा राजस्वसम्बन्धी सेवा औपचारिक रूपमा सुरु गरिएको छ । यसअघि साविक करदाता सेवा कार्यालय पथरीबाट प्रदान हुँदै आएको सेवालाई नगरपालिकाबाटै उपलब्ध गराउने उद्देश्यसहित उक्त सेवाको शुभारम्भ गरिएको हो ।
लेटाङ नगरपालिका, आन्तरिक राजस्व कार्यालय दमक तथा करदाता सेवा कार्यालय पथरीको संयुक्त आयोजनामा नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख भूपेन्द्रकुमार लावतीले पान कार्ड वितरण गर्दै सेवाको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमका क्रममा नगर प्रमुख लावतीले लेटाङ–२ स्थित यति सप्लायर्सकी श्रेया दाहाल र लेटाङ–२ कै किसान कुमार कट्टेललाई पान कार्ड हस्तान्तरण गर्नुभयो । नगरपालिकाबाटै पान कार्ड सेवा सुरु भएपछि नयाँ करदाताहरूलाई औपचारिक रूपमा कर प्रणालीमा आवद्ध गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।
नेपाल सरकारले साविक करदाता सेवा कार्यालय पथरीलाई दमकमा मर्ज गर्दै स्थानीय तहबाटै सेवा दिने निर्णय गरेसँगै लेटाङ नगरपालिकाबाट करदाता सेवा सुरु गरिएको हो । अब सेवाग्राही तथा करदाताहरूले कर तिर्न र राजस्वसम्बन्धी कामका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ ।
यसबाट समय र खर्चको बचत हुनुका साथै सेवा प्रवाह अझ सरल, छरितो र प्रभावकारी हुने विश्वास गरिएको छ ।
नगर प्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, लेटाङ–५ का वडाध्यक्ष भूम सूर्यमगर, लेटाङ–७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बू, प्रमुख प्रशासकीय अधिकृत शशि राई, आन्तरिक राजस्व कार्यालय दमकका निमित्त प्रमुख प्रेमप्रकाश मण्डल, उद्योग वाणिज्य संघ लेटाङका अध्यक्ष खड्गबहादुर श्रेष्ठलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले नगरपालिकाबाटै करसम्बन्धी सेवा उपलब्ध भएपछि करदातालाई ठूलो सहजता भएको भन्दै खुशी व्यक्त गरे । स्थानीय तहबाटै सेवा उपलब्ध हुनु संघीय शासन व्यवस्थाको मर्मअनुसार सकारात्मक अभ्यास भएको उनीहरूको भनाइ थियो ।
वक्ताहरूले आगामी दिनमा करदातामैत्री वातावरण निर्माण गर्दै सेवा प्रवाहलाई अझ पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले पनि नागरिक केन्द्रित सेवा सुधारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।