
नगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ र स्थानीय सरोकारवालासँगको साझा पहल

लेटाङ, १ माघ । लेटाङमा आज सडक अनुशासन र सवारी सुरक्षा अभियान-२०८२ को औपचारिक शुभारम्भ गरिएको छ। अभियान इलाका प्रहरी कार्यालय, लेटाङको आयोजनामा, लेटाङ नगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ र अन्य स्थानीय सरोकारवालाको सहकार्यमा सञ्चालन गरिएको हो।
अभियानको उद्घाटन नगर प्रमुख भूपेन्द्र लावातीले गर्दै सबै सरोकारवालालाई सक्रिय सहभागी बन्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “सडक सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। नियम पालना गरेर मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।”

इलाका प्रहरी कार्यालय, लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहले अभियानको उद्देश्य सडकमा न्यूनतम सुरक्षा संरचना सुनिश्चित गर्नु, दुर्घटना न्यूनीकरण गर्नु, नागरिकको जीवन सुरक्षा सुनिश्चित गर्नु र ट्राफिक नियम पालनाको संस्कार प्रवर्द्धन गर्नु रहेको बताए।
अभियान मिति २०८२।१०।०१ देखि २०८२।१०।१० सम्म १० दिन सञ्चालन हुनेछ। यस अवधिमा सडक निरीक्षण, जागरुकता कार्यक्रम, सवारी साधन चेकजाँच र अन्य गतिविधिहरू आयोजना गरिनेछ। प्रमुख साहले जानकारी दिनुभयो, “कार्यक्रमको औपचारिक अवधि १० दिन भए पनि यस प्रकारको अभियान सधैं निरन्तर सञ्चालन गरिने छ।”
