

लेटाङ, २७ पुस। हिमालय महायान छेवाङ छ्योलिङ गुम्बा, लेटाङ नगरपालिका ४ को ९औँ वार्षिक साधारण सभा आइतबार गुम्बा परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रम लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित भएको हो ।
प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण स्थानीय सरकारको प्राथमिकता रहेको बताउनुभयो । उहाँले गुम्बा तामाङ समुदायको मात्र नभई समग्र समाजको साझा पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासमा वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै धार्मिक सहिष्णुता, सामाजिक एकता र सांस्कृतिक मूल्य संरक्षणमा गुम्बाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघकी केन्द्रीय सदस्य सीता घिसिङ तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँले तामाङ समुदायको पृथक भाषा, संस्कृति र पहिचान गर्व गर्नलायक रहेको उल्लेख गर्दै गुम्बा संरक्षण र संवर्द्धनमा समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो । आधुनिक गुम्बा निर्माण, समुदायको नेतृत्व विकास तथा राजनीतिक सचेतनाको आवश्यकता औंल्याउँदै आगामी निर्वाचनमा सोचविचार गरेर मतदान गर्न आग्रह गर्नुभयो ।
साधारण सभामा तामाङ घेदुङका अगुवा धनजित तामाङ, उर्गेन तामाङ, सांगे रत्न लामा, शान्ती पाख्रिनलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गुम्बा व्यवस्थापन समितिका अध्यक्ष गणेश तामाङ दोर्जेले गर्नुभएको थियो ।
