

लेटाङ, १६ पुस । पछिल्ला दिनमा वाक्लो हुस्सु र शीतलहर तीव्र बन्दै गएपछि लेटाङ नगरपालिकाले नगर क्षेत्रभित्रका हुस्सु–प्रभावित सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि जाडो विदा गर्न अनुरोध गरेको छ।
नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखाले जारी गरेको सूचनामा तराइ क्षेत्रमा चिसो र शीतलहरले पठनपाठनमा प्रतिकूल असर पारेकाले पुस १६ र १७ गते (हिउँदे/वर्खे/स्थानीय विदाबाट कट्टा हुनेगरी) विद्यालय विदा गर्न अनुरोध गरिएको उल्लेख छ।

सूचनामा चिसो बढी पर्ने क्षेत्रका विद्यार्थी तथा शिक्षकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन विद्यालयहरूले जिम्मेवारीपूर्वक निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ। नगरपालिकाले हुस्सु र चिसो बढी रहने स्थानमा बिहान कक्षा सञ्चालन गर्दा स्वास्थ्य जोखिम बढ्ने भएकाले सावधानी अपनाउन सुझाव दिएको छ।
यससँगै शाखाले हुस्सु प्रभावित नभएका पहाडी क्षेत्रका विद्यालय भने नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरेको छ, किनकि नगर क्षेत्रको भौगोलिक बनावट फरक भएकाले सबै क्षेत्रमा चिसोको प्रभाव समान नदेखिएको जनाएको छ।
यता अभिभावकहरूले हुस्सुका कारण बिहान विद्यालय आउजाउ गर्न कठिनाइ भएको भन्दै जाडो विदाको व्यवस्था समयानुकूल रहेको प्रतिक्रिया दिएका छन्। नगरपालिकाले मौसमको स्थितिअनुसार आवश्यक परे थप समन्वय गरी निर्णय गरिने जनाएको छ।
