लेटाङ १० पुस। प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा मोरङद्वारा प्रत्यक्षतर्फ सिफारिस गरिएको उम्मेदवार सूचीमा मोरङ–१ बाट सर्वाधिक ९ जनाको नाम समावेश गरिँदा लेटाङका विद्यार्थी नेता तथा जेन–जेड पुस्ताका सक्रिय युवा नेता कोसिस सुवेदी चर्चाको केन्द्रमा परेका छन्। संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका सुवेदीलाई स्थानीय युवाले नयाँ पुस्ताको प्रतिनिधिका रूपमा लिएका छन्।
नेकपाले मोरङका छवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ गरी कुल ३० जनाको नाम सिफारिस गरेको छ। तीमध्ये मोरङ–१ बाट सबैभन्दा बढी ९ जनाको नाम पठाइएको छ भने क्षेत्र नम्बर २ बाट ८ जना, क्षेत्र नम्बर ३ बाट ६ जना, क्षेत्र नम्बर ६ बाट ५ जना सिफारिस गरिएको छ। यस्तै क्षेत्र नम्बर ४ र ५ बाट भने एक–एक जनाको मात्र नाम सिफारिस भएको छ।
प्रत्यक्षतर्फको सिफारिसमा पूर्वमन्त्री अमनलाल मोदीलाई क्षेत्र नम्बर ४ मा एकल उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ, भने क्षेत्र नम्बर ६ मा अन्य चार जनासँगै नाम समावेश गरिएको पार्टी स्रोतले जनाएको छ। सोही बैठकले समानुपातिकतर्फ ३७ जना तथा राष्ट्रियसभा निर्वाचनका लागि ३ जनाको नाम पनि सिफारिस गरेको छ।
मोरङ–१ को सिफारिस सूचिमा परेका कोसिस सुवेदी विद्यार्थी आन्दोलनबाट उदाएका युवा नेतृत्वका रूपमा चिनिन्छन्। संगठन विस्तार, स्थानीय मुद्दा उठान तथा डिजिटल अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सुवेदीप्रति लेटाङ र आसपासका बस्तीका युवाको भरोसा उच्च रहेको स्थानीय नेताहरूको भनाइ छ। उनीहरूको अनुसार सुवेदीको सिफारिसलाई नयाँ पुस्तातर्फ नेतृत्व हस्तान्तरणको संकेतका रूपमा पनि बुझिएको छ।