झापा, १० पुस । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वन क्षेत्रमा दाउरा संकलन गर्न गएका एक युवक जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन्।
बुधबार साँझ करिब ६ बजे वन क्षेत्रमा प्रवेश गरेका २६ वर्षीय स्थानीय आकाश दाहाललाई गाउँ पसेको जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ। घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
हालका वर्षहरूमा तराईका विभिन्न क्षेत्रमा जंगली हात्तीको बस्ती प्रवेश, खेतबारी र वनसँग जोडिएका क्षेत्र आसपास जोखिम बढ्दो देखिएको छ। मोरङको लेटाङ क्षेत्रमा समेत हात्तीको आवतजावत, बस्ती नजिक प्रवेश तथा आक्रमणको सम्भावना बढ्दै गएको स्थानीयहरूले गुनासो गरेका छन्।
विशेषगरी साँझ–बिहान वन क्षेत्रमा नजान, समूहबद्ध भएर मात्रै संकलन कार्य गर्न तथा हात्ती देखिएमा सुरक्षित दूरी कायम गरी सतर्क रहन सुरक्षा निकाय र वन निकायले आग्रह गरेका छन्।