कानेपोखरी, २० बैशाख । मोरङको कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङ चिसाङ खोला किनारमा थुपारिएको ढुङ्गा,गिट्टी तस्करसँग ‘सेटिङ’ मिलाएर बिक्री गर्ने धन्दामा लागेको रहस्य खुलेको छ ।
राजाको सक्रिय शासन रहेको बेला हेटौडाका निर्माण ब्यावसायी कन्हैया श्रेष्ठले सञ्चालन गरेको क्रसर उद्योगबाट उत्पादित निर्माण सामग्रीमा गुरुङ गिद्धेदृष्टि परेको हो ।श्रेष्ठ गिट्टी,वालुवा उत्पादन गरेर बिक्री गर्न नपाउँदै बिरोध भएपछि छोडेर गएका ब्यावसायी हुन । चिसाङ खोला किनारमा झण्डै ६ करोड मुल्यको ढुङ्गा,गिट्टी रहेको जानकारहरू बताउँछन् । श्रेष्ठले उत्पादन गरेको सामग्री पूर्वका चर्चित ठेकदार भीम पौडेललाई दिएर पौडेलबाट मोटो रकम असुल्ने गुरुङको योजना छ । पौडेलले उक्त सामग्री उठाउने मौका पाए ,केही सडक कालो पत्रे गरिदिने भएका छन् । तर, स्थानीयबासीले भने गाउँको विकास हुने लोभमा करोडौं मुल्यको ढुङ्गा,गिट्टी वालुवा कौडीको दाममा साटिन लागेको बुझेका छैनन । स्थानीय एक उपभोक्ताले भने –‘ विकासको लोभमा उपभोक्ताहरू सिंगान पुछेको र नाक काटिएको थाहा पाउँदैनन ।’
यसरी बन्यो योजना
कानेपोखरी गाउँपालिका अन्तरगतको कानेपोखरी–जहदा –भौंसावारी सडक खण्ड कालोपत्रे गर्न गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन ग¥यो । विनियोजित रकमले ४ किलोमिटर लामो सडक निर्माण नहुने भयो । चरणवद्ध रुपमा सडक निर्माण गर्दा झण्डै ४ वर्ष लाग्ने भएपछि वडाध्यक्ष गुरुङले एकै वर्षमा सडक निर्माण हुने उपायको खाका कोरेर उपभोक्ता समितिलाई देखाए । उपभोक्ता समितिमा भएका गुरुङ निकट दलका सदस्यले समर्थन जनाए पनि केहीले गुरुङको प्रस्तावको ठाडै बिरोध गरेको समाचार स्रोत बताउँछ ।
गुरुङको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ ठेकदार भीम पौडेललाई उपलब्ध गराईदिने उल्लेख छ । सो रकम लिए वापत पौडेलले कानेपोखरी–जहदा – भौंसावारी सडक खण्डको ४ किलोमिटर सडक यसैवर्ष भित्र कालोपत्रे गरिदिनु पर्नेछ । त्यति मात्र होइन ,४ किलो मिटर सडक कालोपत्रे गरिदिए वापत वडाध्यक्ष गुरुङले ठेकदार पौडेललाई चिसाङ खोला किनारको सबै गिट्टी वालुवा उठाउँन्जेल भरपुर सुरक्षा गरिदिने आन्तरिक सहमति भएको छ । समाचार स्रोत भन्छ–‘गुरुङ आफै पनि ट्रिफर ब्यावसायी हुन । उनले भीम पौडेललाई उपलब्ध गराउने नाममा आफै ब्यापार गर्न लागेको स्थानीयको बुझाई छ ।समाचार स्रोत भन्छ – गुरुङ ६ करोडको गिट्टी बालुवा पौडेललाई दिएर २ करोड रुपियाँ लिने तयारीमा छन् । पौडेललाई गिट्टी, ढुङ्गा निकासी गर्दा सुरक्षा प्रदान गर्ने युवाहरूलाई ब्यवस्थापनका नाममा गुरुङले २ करोड लिने आन्तरिक सहमति भएको बताइन्छ ।
रहस्य कसरी खुल्यो
सुरु देखि नै उपभोक्ता समितिका केही सदस्य वडाध्यक्ष गुरुङको क्रियाकलाप बिरोधी थिए । त्यति हुँदा सम्म उपभोक्ता समितिको आन्तरिक कुरा चुहावट भएको थिएन । तर, पौडेललाई गिट्टी वालुवा दिएर सडक कालोपत्रे गर्ने कुरा बैठकबाट निर्णय भएपछि गुरुङ निकटहरूको भेला बस्यो । भेलामा पैसा भागवण्डाको विषयमा ब्यापक विवाद भयो । वडाध्यक्ष गुरुङ र उनका सहयोगी बीच बिवाद भएपछि गुरुङको धेरै खाने कर्तुत चुहावट भएको हो । त्यस लगत्तै केही युवाले गुरुङको विपक्षमा आवाज उठाउन थालेका छन् ।
उता गिट्टी वालुकाका धनी कन्हैया श्रेष्ठ भने यस विषयमा बेखबर छन् ।
अर्काले संकलन गरेको राखेको गिट्टी वालुवा गुरुङले ‘दादागिरी’शैलीमा बिक्री गर्न लागेको स्थानीयको भनाई छ । तर गुरुङ संलग्न पार्टी र उहाँका कार्यकर्ताले भने उपभोक्ता समितिमा फरक विचार राख्ने सदस्यहरूलाई विकास बिरोधी भन्न थालेका छन् । बिकासका लागि सबैले ठूलो छाति बनाएर प्रस्तुत हुनु पर्ने गुरुङले बताउने गरेका छन ।