लेटाङ ७ फागुन। लेटाङ खेलकुद महोत्सव अन्तर्गत बुधबार सम्पन्न १३ वर्ष मुनिको ३ किलोमिटर म्याराथनमा लेटाङ–५ का विवेक श्रेष्ठले छात्रतर्फ पहिलो स्थान हासिल गरेका छन्। गंगेचौकदेखि फायरलाइनसम्मको ३ किलोमिटर दूरी १२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै उनले उपाधि जिते। लेटाङ–१ का विवेक मगर १२ मिनेट १९ सेकेन्डमा दौड समाप्त गर्दै दोस्रो भए, भने सोही वडाका समिल मगरले १२ मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गरे। यस्तै, विराज लिम्बूले १३ मिनेट ३ सेकेन्डमा दौड पूरा गरी चौथो भए। छात्रतर्फको म्याराथनमा १३ वर्षमुनिका ५८ जनाले सहभागिता जनाएका थिए।
छात्रातर्फको म्याराथनमा लेटाङ–३ की यानी मगरले १३ मिनेट २८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम स्थान हात पारिन्। लेटाङ–९ की मिनाक्षी राई १४ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरी दोस्रो भइन् भने लेटाङ–५ की दीपशिखा राई १५ मिनेट १४ सेकेन्डमा दौड समाप्त गर्दै तेस्रो स्थानमा रहिन्। प्रीति राईले १६ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै चौथो स्थान हासिल गरिन्। छात्रातर्फको म्याराथनमा १८ जना प्रतियोगी सहभागी भएका थिए।
प्रतियोगितामा छात्र र छात्रा दुवै विधाका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले ८ हजार, दोस्रोले ५ हजार, तेस्रोले ४ हजार, र चौथो स्थान प्राप्त गर्नेले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।