साढे ३३ किलो सुन प्रकरणमा ६२ जनाविरुद्ध आज मुद्दा दर्ता

Letang Khabar बुधबार, बैशाख १९, २०७५

ध्रुव भट्टराई

विराटनगर ,१९ वैशाख। प्रहरीले साढे ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गराउँदै छ ।

प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ता गर्न लागिएको हो ।

पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाउने मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए । उनले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित फरार अन्य ३४ जनाविरुद्ध पनि मुद्दा दर्ता गरिने जानकारी दिए ।

संगठित सुन तस्करीमा यति धेरै बहालवाला प्रहरी अधिकारीलाई प्रतिवादी बनाइएको यो पहिलो घटना हो

सरकारी वकिलको कार्यालयले फरार रहेका मुख्य अभियुक्त उप्रेतीलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्नेछ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्नेछ ।

मोरङका प्रहरी प्रमुख बीसीका अनुसार बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता गराउन लागिएको हो ।

संगठित सुन तस्करीमा यति धेरै बहालवाला प्रहरी अधिकारीलाई प्रतिवादी बनाइएको यो पहिलो घटना हो ।

को को विरुद्ध दर्ता हुँदैछ मुद्दा

प्रहरीले पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कालाई संगठित अपराध सम्वन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

त्यसैगरी प्रहरी नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारूविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गरिने तयारी भइरहेको छ ।

व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङलाई पनि संगठित अपराधमा मुद्दा दर्ता गरिने छ ।

मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई सनम हत्याका प्रतिवादी बनाइएको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।

विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेको थियो ।

शवलाई गायब बनाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर ३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो ।

दिवेश लोहनी मोरङमा

यसैबीच, साढे ३३ किलो सुन प्रकरणमा तानिएका एसएसपी दिवेश लोहनी मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आइपुगेका छन् ।

छानबिन समितिले एसएसपी लोहनीलाई पत्र काटेको भोलिपल्ट मंगलबार दिउँसो मोरङ कार्यालय आइपुगेका हुन् ।

घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय बोलाएको थियो ।
-अनलाईनखबर वाट

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ