मोरङ, ७ फागुन । मोरङको लेटाङ नगरपालिकाले ब्यावसायिक कृषि उत्पादन गरिरहेका किसानहरूलाई प्रोत्साहन गर्न कृषि उत्पादन प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ ।
प्रदर्शनीमा नगरका ८५ जना ब्यवसायिक किसानले आफ्नो उत्पादन राखेका थिए । तरकारी, फलफूल, नगदेबाली, दलहन, मह विभिन्न सय प्रकारका कृषिबाली प्रदर्शनीमा राखिएको थियो ।
उत्तरी मोरङको लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा नै कृषि उत्पादन प्रदर्शनी गर्न १ लाख रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिका परिसरमा भएको प्रदर्शनीमा पाँच विधामा उत्कृष्ट छनौट गरी पुरस्कृतसमेत गरिएको छ ।
कृषि ज्ञान केन्द्र विराटनगर, सुन्दरहरैचा नगरपालिका र केराबारी गाउँपालिकाका कृषि शाखा प्रमुख रहेको विशेषज्ञ टोली किसानको बाली छनौट गरी पुरस्कृत गरेको हो । अन्नबालीतर्फ विनिता चम्लागाई, गङ्गामाया विक, सन्तबहादुर राई र विकास तिम्सिना क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए ।
यस्तै तरकारी बालीतर्फ नारायण श्रेष्ठ, देवी कार्की, पदमप्रसाद भट्टराई र फडिन्द्र न्यौपाने क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए ।
नगदेबालीतर्फ ललित कला कृषि फर्म, संयुक्त कृषि फर्म, गणेश तिम्सिना र जयबहादुर तामाङ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए ।
औद्योगिक बाली उत्पादनतर्फ चन्द्रबहादुर राई, शिव शक्ति सुपारी उत्पादन केन्द्र, मनरथ न्यौपाने र चुडामणि पोख्रेल क्रमशः प्रथम, द्वितीय ,तृतीय र सान्त्वना भए । फलफूल बालीतर्फ नगेन्द्र घिमिरे, बिर्खबहादुर राई, हरिप्रसाद भण्डारी र सीता पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए ।
यसैगरी दलहन बालीतर्फ जयबहादुर तामाङ, विकास तिम्सिना, गङ्गामाया विक क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
पुरस्कृत सबै किसानलाई नगरपालिकाका प्रमुख शङ्कर राईले परस्कार वितरण गरेका छन् । प्रथमलाई २ हजार, द्वितीयलाई १ हजार ५ सय, तृतीयलाई १ हजार र सान्त्वनालाई ५ सय रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।