पथरीशनिश्चरे, २५ मङ्सिर । मोरङको पथरीशनिश्चरे २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वीटर प्रदान गरेका छन् ।
सो विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले मङ्गलबार एक समारोहकाबीच सम्पूर्ण ( ५०) जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् ।
नगरपालिकाका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा स्वीटर वितरण भएको हो ।
वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्य अरुणा राई, अग्नि गुरुङ, सीता भुसाल र पर्शुराम न्यौपानेले १५ हजार रुपैयाँ बराबरको स्वीटर किनेर विद्यालयलाई प्रदान गर्नुभयो । यस अघि उहाँहरुले ५० हजार रुपैयाँ बराबरको भौतिक सामग्री खरिदमा सहयोग गर्नुभएको थियो ।