काठमाडौं, १७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ ।
सोमवार सिंहदरबारमा मोरङ जिल्लाका जनप्रतिनिधीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले भूमि समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनताकै हितमा काम गर्ने बताउनु भयो । ‘यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ’, उहाँले जनताको काम गर्दा विरोध आए पनि सामना गर्न सरकार तयार रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीसमक्ष मोरङको लेटाङ, कानेपोखरी, बेलबारी र पथरीका प्रमुख, उपप्रमुखले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभयो ।
टोलीसँगै रहनु भएकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गासम्बन्धी समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको बताउनु भयो । मोरङका जनप्रतिनिधीहरुले विशेष नापी गरी धनीपूर्जा वितरण गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न जनप्रतिनिधिहरु सांसद घनश्याम खतिवडाको नेतृत्वमा पुगेका थिए ।