समाजसेवाको पर्याय मीना

Letang Khabar सोमबार, कार्तिक २६, २०७५

उर्लाबारी । सेवा, त्यो पनि निःस्वार्थ । सुन्दा सामान्य लागेपनि सेवामा समर्पित हुन भने निकै कठीन छ । बिना त्याग र समर्पण सेवा सम्भव हुन्न । र, समाजसेवाका लागि समर्पण अत्यावश्यक मानिन्छ ।
आजको युगमा सेवा भावको अभाव धेरै महसुस हुन्छ । लाग्छ, आजको युग स्वार्थी युग हो । आजको स्वार्थी दुनियामा सेवाभाव भएका मानिस धेरै कम भेटिन्छन बजारमा, सेवा गर्नेहरुको जमात नभेटिने होइन । समाजसेवालाई माध्यम बनाएर ‘आफ्नो सेवा’ गर्नेहरुको भीड धेरै देखिन्छ । अर्थात स्वयम्सेवाको अर्थ परिवर्तन भएको अनुभूत हुन्छ । ‘स्वयमसेवा’ स्वयमको सेवामा परिणत भएको यस्ले अथ्र्याउँदैन र रु

तर सबै मानिस त्यस्ता हुँदैनन् । सेवा, त्यो पनि निःस्वार्थ गर्नेहरु पनि यही समाजमा छन् यिनै मध्येकी हुन, समाजसेवी मीना बराल । समाजसेवा उनका लागि अपरिहार्य बनेको छ । उनको निःश्वार्थ सेवा भाव र सक्रियताका कारणनै उनले नमुना वाल गृह सम्हाल्दै आएकी छिन् ।

बरालको रुची सानैदेखि समाजसेवा तर्फ रह्यो । त्यही रुचीले उनलाई सेवाभावतर्फ आकर्षित गर्दै लग्यो । फलतः ०५७ सालमा बरालकै सोचअनुसार उर्लाबारीमा नमूना बालगृह स्थापना भयो । जहाँ ४४ जना अनाथ वालवालिका आश्रित छन् ।
समाजसेवा प्रति उत्साहित बराल दिनरात नभनी ति वालवालिकाको सेवामा जुटने गर्छिन् । उर्लाबारी–७, मोरङकी बरालका ४४ भन्दा बढी आश्रित सन्तान छन् । आफ्नैै कोखबाट नजन्मिए पनि तिनलाई उनले आमाबुबाको भन्दा कम माया दिएकी छैनन् । ती बालबालिकाको हेरचार गर्नु नै बरालको दैनिकी हो । आफूले नजन्माएका काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिकाकी आमा हुन् उनी । अनाथ बालबालिकाको नागरिकता बालगृहले नै बनाइदिन्छ । यहाँ बस्ने प्रत्येक बालबालिकाको जन्म दर्ता उर्लाबारी नगरपालिकाले गरिदिने गरेको छ । यहाँका बालबालिकाको नागरिकता बनाउँदा बाबु वा आमाले गर्ने सनाखत समेत बालगृहले नै गर्दै आएको छ ।

यसरी भयो वालगृहको स्थापना

२०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुगेकी मीनाको वैवाहिक जीवन सफल हुन सकेन । पढ्ने उमेरमा विवाह गरेर पछुतो मानिरहेकी उनले नयाँ घरमा लामो समयसम्म संघर्ष गरिरहिन् । तर श्रीमानले अरू दुई श्रीमती थपेर आफूलाई पाखा लगाएपछि आत्मसन्तोष र शान्तिको खोजी गर्दै उनी समाज सेवामा लागेकी थिइन् ।

आफूले सानैमा विवाह गर्दा भोगेको जस्तो पीडा कुनै अरू अनाथ बालबालिकाले भोग्नु नपरोस् भनी २०५७ सालमा बरालकै सोचअनुसार उर्लाबारीमा नमूना बालगृह स्थापना भयो । सुरुमा सात अनाथ बालबालिकालाई आश्रय दिएर सञ्चालन गरिएको सो बालगृहमा २० र २५ जिल्लाका तीनदेखि १९ वर्षसम्मका ४४ बालबालिका बस्छन् जो चेपाङ, लोपोन्मुख सन्थाललगायत १५ जातजातिका छन् । एक बिगाहा क्षेत्रफलमा रहेको यो आश्रम दाताकै सहयोगको भरमा चलेको छ । सुरुमा उर्लाबारी–६ स्थित राधिका माविले आश्रमका लागि चार कट्ठा जग्गा उपलब्ध गरायो ।

बालगृह चलाउन वार्षिक १७ लाख रुपैयाँ खर्च हुन्छ । यो सबै खर्च स्थानीय वासिन्दाको सहयोग तथा संस्थाको अक्षय कोषमा निर्भर छ । संस्थापक बरालले संस्थालाई ७० लाख रुपैयाँ दान गरेकी थिइन् । त्यसमध्ये करिब ५७ लाख नगद र केही जिन्सी सामान अक्षय कोषमा सुरक्षित छ ।

गृहका बालबालिका स्थानीय बोर्डिङ स्कुलहरूमा पढ्छन् । उनीहरूमध्ये केहीको शुल्क विद्यालयले छुट दिएको छ भने केहीको लाग्ने गरेको छ । गृहभित्रै चल्नेगरी दर्ता भएको नमूना शिक्षा सदन पनि पाँच वर्षदेखि सञ्चालनमा छ । साना बालबालिका गृहभित्रैको विद्यालयमा पढ्छन् । कक्षा चारदेखि माथिका बालबालिका उर्लाबारी–८ स्थित लक्ष्मी माविमा अध्ययरत छन् । ठूला तीन जना उर्लाबारी बहुमुखी क्याम्पसमा बढ्छन् ।

बरालको अनुरोध

संस्था सञ्चालनका लागि आर्थिक समस्या देखिन थालेपछि अहिले ‘एक रुपैयाँबाट एक करोड’ भन्ने अभियान थालिएको छ । ८ हजार ५ सय मानिसबाट दैनिक एक रुपैयाँको दरले पाँच वर्षसम्म सहयोग संकलन गर्दा डेढ करोड जम्मा हुन्छ । त्यति रकम अक्षय कोषमा जम्मा गर्न सके संस्था सञ्चालनका लागि आर्थिक स्रोतको चिन्ता नहुने बरालले बताइन् ।
अक्षय कोषमा सहयोग पनि जुटिरहेको छ । यो कोष नै गृह सञ्चालनको दिगो आयस्रोत भएकाले यथाशक्य सहयोग गर्न बरालले सबैलाई अनुरोध गरेकी छन् ।

बराल अनाथ बालबालिकालाई सहयोग गर्नु सबैभन्दा ठूलो मावन धर्म ठानेकी छिन् । त्यसैले पनि उनी यो मानव धर्ममा निरन्तर सक्रिय भएर लागिरहेकी छिन् ।

सुरुका दिनमा वाल गृह सन्चालन गर्दा ‘कमाईने खाने’ भाडो बनाउन संस्था खोलेको भन्दै कतिपयले कुरा काट्दा मोरङ उर्लाबारीकी मीना बराललाई राम्रो काम गर्न खोज्दा पनि साथ नपाइने हो कि भनेर चिन्ता लाग्थियो । तर सोच सही भएकाले आज तिनै बराल सफल तथा उदाहरणिय महिला समेत बनेकी छिन् ।
भन्छिन ‘ अहिले सुरुमा विरोध गर्नेले पनि मलाई सकारात्मक रूपमा लिन थालेका छन् ।’

सायद यही सोचको परिणती हो,बरालको समाजसेवाप्रतिको लगाव र सक्रियता । र, यहि लगावका कारण उनको समाजसेवाको कर्ममा कुनै वाधा अडचन आएको छैन । उनी निरन्तर आफ्नै गतिमा समाजसेवामा हिँडिरहेकी छिन् । समाज विकासको त्रिवेणीमा उनको यात्रा निरन्तर छ । उनी यसैमा निरन्तर लागिरहन चाहन्छिन् । वैवाहिक जीवन विफल भएपछि सीमित सन्तानको आमा बन्ने अवसर छाडेर असंख्य सन्तानकी आमा बन्ने अवसर अंगालेकी मीना बराल अहिले पूर्वाञ्चल क्षेत्रकै उदाहरणीय महिला भएकी छन् । रातोकलमवाट

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ