जात्री पर्व सामूहिक पूजा गरी शुरु

Letang Khabar आइतबार, बैशाख ०२, २०७५

लेटाङ २ वैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट शुरु भएको छ ।

वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् ।

नयाँ वर्षको आगमनसँगै शुरु हुने यो जात्री पर्व शुरु हुने गर्छ । नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ ।

मोरङको लेटाङ नगरपालिका १ भोगटेनीको राजारानीवाट शुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । लेटाङ नगरपालिकामा जात्री पर्वको सुरुवातलाई सफलतापुर्वक सम्पन्न गरिएको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिए ।
ऐतिहासिक राजारानी स्थलमा अन्दाजी १० हजार मानिसको सहभागिता रहेको लेटाङ एकका अध्यक्ष विष्णुकुमार मगरले जानकारी दिए ।

प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस, जंगली जनावरले दुःख नदियोस, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् ।

परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ ।

सिर्जात अर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको सञ्चारकर्मी विजय धिमालले बताउनुभयो ।

यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने उहाँले जानकारी दिनुभयो ।

यस पर्वले धिमाल जातिमा आपसी सम्बन्धमा प्रगाण बनाउँदै बन्धुत्वको भावना विकास गराउने धिमाल अगुवाको भनाई छ ।

असार संक्रान्ति सम्म मनाइने यो पर्व धिमालका प्रदेश न १ का ९८ वटै टोलमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँगाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमाल आफूले भाकल गरेअनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालले दुःख– बिरामी नहोस, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकल अनुसारका वस्तु चढाउने गर्दछन् ।

यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’, ‘बगिया’लगायतका परिकार खुवाउने पनि गरिन्छ ।

धिमाल वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजनास्थलमा दुई महिनापश्चात् सांस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ ।

मेलामा ढोलको आवाज ढङ ढङ आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।

न्युज अफ नेपालको सहयोग सहित

 

 

 

 

 

 

 

 

 

 

 

 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ