

लेटाङ, १६ मंसिर । लेटाङ–२ बुधबारेस्थित मोरङ पाथिभरा इङ्लिस स्कुलमा आयोजित कोशी आविष्कार मेला १.० अन्तर्गत २ दिने विज्ञान प्रदर्शनी तथा रोबोटिक्स प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले वाटर प्युरिफिकेसन, हाइड्रोलिक व्रिज, वाटर साइकल, स्मार्ट सिट, प्रोजेक्टर लगायतका मोडेल प्रदर्शित गर्दै आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गरे।
रोबोटिक्स हाकाथन र रोभो–सकर लिग कार्यक्रमको मुख्य आकर्षण बने। हाकाथनमा होम अटोमेसन, ग्यास लिकेज डिटेक्सन, आटोमेटिक इरिगेसन र वेदर मोनिटरिङ प्रविधिहरू प्रदर्शन गरिँदा ग्यास लिकेज डिटेक्सन मोडेल प्रस्तुत गर्ने टोली उत्कृष्ट बन्दै राष्ट्रिय प्रतियोगितामा छनोट भयो।

त्यस्तै ६ टोलीबीच भएको रोभो–सकर लिगमा टाइगर कम्बो प्रथम र एमपीइएस गर्ल्स द्वितीय हुँदै दुवै टोली काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्।
उत्थान ल्याब रोबोटिक्सका सिइओ विनम श्रेष्ठका अनुसार राष्ट्रिय स्तरमा उत्कृष्ट हुने टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताकालागि इन्डोनेसिया जाने अवसर पाउनेछ।
कार्यक्रमले विद्यार्थीको ज्ञान, जिज्ञासा र नवप्रवर्तन क्षमतालाई प्रोत्साहन गरेको विद्यालयका प्रिन्सिपल खगेन्द्रराज भण्डारीले बताए। लेटाङ–२ का वडासदस्य निलम ज्यू ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समुदाय, शिक्षक तथा सरोकारवाला सक्रिय उपस्थिति रहेको थियो।
