एउटै वडामा दुई करोडको आलु उत्पादन

Letang Khabar बिहिबार, आश्विन ०२, २०७६

खोटाङ, असोज २ गते । जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो ।

लेकाली भेगमा पर्ने खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी ९५०० पाथी० आलु उत्पादन भएको स्थानीय किसान गोविन्द तामाङले बताउनुभयो । “खिदिमामा ४२५ घरधुरी स्थानीयवासी बसोवास गर्छन्”, उहाँले भन्नुभयो, “अन्यबाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तीमा पनि २५ मुरी आलु उत्पादन गर्छन् ।”

खिदिमामा यसवर्ष साँढे सात हजार क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो । “आलुबाट मात्रै प्रति घरपरिवारले सरदरमा रु ४३ हजार ७५० भन्दा बढी आम्दानी गरेका छन्”, उहाँले भन्नुभयो, “पहिलो बालीका रुपमा लगाइने आलु खेतीलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाको तर्फबाट गत वर्ष रु दुई लाख अनुदान उपलब्ध गराइएको थियो ।”

समुद्री सतहदेखि करीब दुई हजार फिट अग्लो भू–भागमा पर्ने खिदिममा उत्पादन भएको आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा रु ४० मा खरीद तथा बिक्री हुने गरेको छ । खिदिमाको आलु कम्पोष्ट मल प्रयोग गरेर उत्पादन गरिएकाले खरीद गर्नेको लुछाचुडी नै चल्ने गरेको पाइएको छ ।

खिदिमाको आलु अर्गानिक भएकाले पनि उपभोक्ताको माग सबैभन्दा बढी रहेको दिक्तेलका व्यापारीले बताएका छन् । गाउँमा खासै बिक्री नहुने आलु स्थानीयवासीले गाडीमा हालेर दिक्तेलबजार तथा बाहिरी जिल्ला निर्यात गर्ने गरेका छन् ।

यसअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालय खोटाङले खिदिमालाई आलुको पकेट क्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम थालेको थियो । देशमा सङ्घीयता लागूभएसँगै साकेला गाउँपालिकाले पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।

आलु उत्पादक किसानलाई सङ्गठित गरेर टोलटोलमा समूहसमेत गठन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गठन गरेको साकेला सोकी किसान समूहले गतवर्ष भस्मे फाँडेर रोपेको ठाउँबाट मात्रै १०० मुरी भन्दा बढी आलु उत्पादन भएको कृषि शाखा प्रमुख राईले बताउनुभयो ।

एक मुरीमा २० पाथी हुन्छ । पाथीमा साँढे तीन किलो हुने किसानले बताएका छन् । गाउँघरमा पाथीको हिसाबले खरीद तथा बिक्री हुने गरेको छ । खिदिमामा पङ्खदले, खम्बुले, ठ्याङ्ग्रे, भोटाङ्गे, धराने जस्ता रैथाने प्रजातिका आलु उत्पादन हुने गरेको छ । रैथाने प्रजातिको आलु अहिले बजारमा आएको अन्य नयाँ प्रजातिको भन्दा स्वादिलो र पोषिलो हुने किसानको दाबी छ ।

खिदिमलगायत माथिल्लो भेगमा आलुको पकेटक्षेत्र घोषणा गरेर प्रवद्र्धनको काम शुरु गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “आलुका लागि हाम्रो गाउँपालिकालाई भूगोलले साथ दिएको छ”, उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित र प्रवद्र्धन गर्न गत वर्षदेखि नै योजना बनाएर अगाडि बढेका छौँ ।”

साकेला गाउँपालिकाको खिदिमा, रतन्छा, बाँझेच्यानडाँडा, मात्तिमलगायत माथिल्लो भेगमा आलु उत्पादन हुने गरेको छ । गाउँपालिकाले एक वडा, एक कृषि उत्पादनको नीति बनाएर अगाडि बढेको र खिदिमालाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका प्रमुख खड्काले बताउनुभयो ।

पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशपक्षीपालनलगायत फरक÷फरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान शुरु गरिएको छ । हरेक वडामा भूगोल अनुसार फरक–फरक व्यवसायका लागि किसान समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ ।
वडास्तरमा २९ वटा किसान समूह गठन गरेर प्रवद्र्धनमा लागेको गाउँपालिकाले हरेक किसान समूहलाई आवश्यक सीप तथा तालीमका साथै बीउबीजन, उन्नत जातको पशुपक्षी, औजार, विषादी र आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । व्यावसायिक कृषिलाई जोड दिँदै आएको गाउँपालिकाले गत वर्ष रु ५३ लाख र स्वीस सरकार अन्तर्गत हेल्भेटासले रु ४५ लाख २८ हजार गरी जम्मा रु ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो । रासस

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ