पाइल्सको नालीबेली

Letang Khabar आइतबार, पुष ०८, २०७५

भाद्र २५, २०७४ हर्षा, पाइल्स, बबासिर, हेमोरोइड्स तथा मूलब्याधी आदि नामबाट परिचित यो रोगअन्तर्गत मलद्वार तथा मलाशयका भित्ताहरूमा स्थित रक्तनलीहरू विभिन्न कारणले सुन्निन गई देखापरेका शृंखलाबद्ध समस्याहरू पर्छन् । योग, आयुर्वेद, युनानी र परम्परागत चिनियाँ चिकित्सा ९टी।सी।एम।० जस्ता हजारौं साल पुराना चिकित्सा प्रणालीका वैद्यकीय ग्रन्थहरूमा यो रोगलाई अत्यन्त कष्टदायी रोगका रूपमा सूचित गरिएको छ । मानवतालाई प्राचीन समयदेखि नै प्रताडित गर्दै आएको यो रोगबाट आज पनि विश्व जनसंख्याको ७० प्रतिशत हिस्सा जीवनको कुनै न कुनै कालखण्डमा संक्रमित हुने गरेका छन् । संक्रमित भएकामध्ये १० प्रतिशत दीर्घरोगी भएका छन् भने ९० प्रतिशत रोगी सरसफाइ, खानपान र औषधीय प्रबन्धले ठीक भएका छन् । ठीक नहुनुको मुख्य कारणमा बेलामा उपचार नपाउनु, रोगका बारेमा जानकारी नहुनु तथा हेरविचारमा कमी हुनु आदि छन् । संक्रमित हुनेमा ४५ देखि ६५ उमेर समूहका व्यक्ति बढी छन् भने, कृष्ण वर्ण भएकामा भन्दा श्वेत वर्ण भएका मानिसमा धेरै पाइएको छ ।

यो रोग हुँदा मलाशय तथा गुदद्वारका भित्ताहरूमा अवस्थित रक्त शिराहरू सुन्निने, शिरा र धमनीहरूको मिलन विन्दु फुल्ने, तन्कने र वरिपरिका तन्तुहरूसहित तलतिर खस्ने गर्छन् । तल खसेका नशा र तन्तुहरू गुज्मुजिएर अंगुरको झुप्पाझैं मासु पलाएजस्तो देखिने र सुन्निएका नशाहरू फुटेर रक्तस्राव हुन्छ ।

पाइल्सका प्रकार

यो रोगलाई रोगोत्पत्ति क्षेत्रका आधारामा आन्तरिक, बाह्य एवं संयुक्त पाइल्स गरेर तीन समूहमा बाँडिएको छ । मलद्वारमा अवस्थित प्याक्टिनेट लाइनभन्दा तलबाट उब्जिएको पाइल्स भए बाह्य, माथिबाट उब्जिएको भए आन्तरिक र दुवै क्षेत्रबाट उब्जिएको भए संयुक्त पाइल्स भनिन्छ ।

पाइल्सलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ गरेर चार श्रेणीमा विभाजन गरिएको छ । प्रथम श्रेणीको पाइल्समा शिराहरू सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर बाहिर नआउने हुन्छ । द्वितीय श्रेणीको पाइल्समा सुन्निएका नशाहरू मल त्याग गर्दा मात्र बाहिर आउँछन् तर मलत्याग पछि पुनस् आफ्नै स्थानमा जान्छन् । तृतीय श्रेणीको पाइल्समा शिराहरूको डल्लो बाहिर आउने तर आफै यथास्थानमा नजाने, हातको सहाराले भित्र पसाए मात्र जाने हुन्छ भने चौथो श्रेणीको पाइल्समा सुन्निएको नशाका डल्ला मलद्वार बाहिरै रहन्छन् ।

आन्तरिक पाइल्स

आन्तरिक पाइल्सलाई रक्तस्रावी पाइल्स पनि भनिन्छ । रक्तस्रावी पाइल्स हुँदा रोगीलाई धेरै दुख्दैन तर नशाहरू फुटेर एक्कासि रक्तस्राव हुन्छ । रक्तस्राव पनि सामान्य, मध्यम र तीव्र गरी तीन प्रकारले हुने गरेको छ । सामान्य रक्तस्राव हुँदा रगत दिसासँग लागेर मात्र आउँछ, मध्यम रक्तस्राव हुँदा रगतका थोपा–थोपा तप्किने गरी रक्तस्राव हुन्छ भने तीव्र रक्तस्रावमा रगत छिर्का हालेर बाहिर आउँछ ।

बाह्य पाइल्स

बाह्य पाइल्स हुँदा रोगीलाई बढी पीडा हुन्छ तर रक्तस्राव धेरै हुँदैन । दिसा कडा भए रक्तस्राव पनि हुन सक्छ । यो पाइल्स लामो समयसम्म निको नभए गुदद्वारको वरिपरि क्र्याक ९फिसर० आउने, घाउ हुने र घाउ बढ्दै गएर घाउको मुख अन्तै गएर खुल्ने ९फिस्टुला० घाउ पाक्ने, पिप बग्ने तथा घाउको नयाँ मुखबाट दिसा निस्कने र अन्ततोगत्वा गुदद्वार खस्ने एवं गुदद्वार तथा मलाशयको क्यान्सरसम्म हुन सक्छ ।

लक्षणहरू

यो रोग सुरु हुँदा मलाशय तथा गुदद्वारमा भारीपन बढ्ने, चिलाउने, दिसा खलास नहुने र अलिअलि दुख्नेजस्ता लक्षण देखा पर्छन् । रोग बढ्दै जाँदा मलाशयका रक्त नलीहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तस्राव हुन्छ । सुन्निएका रक्त नलीहरू र वरिपरिका तन्तुहरू तल खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पाजस्तो मासुका डल्ला–डल्लीहरू गुदद्वार वरिपरि देखिन्छन् । बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने, दिसा अड्केको अनुभव हुने, उठ्न, बस्न, हिँडडुल गर्न गाह्रो हुने, मलत्यागपछि पनि पेट सफा नभएको भान हुने आदि हुन्छ । मासी पर्ने, मलद्वार वरिपरि चिलाउने तथा दिसा बस्दा दुख्ने आदि लक्षण पनि यो रोगमा देखा पर्छन् ।

कारणहरू

यो रोगको मुख्य कारण भनेको पेटमा दबाब पर्ने कुनै पनि काम जसले इन्टरनल हेमरोइडल भेनस प्लेक्सेस ९गुदद्वार भित्रका रक्तशिराहरू० लाई असाधारण तरिकाले तन्काइ दिन्छन् । यसरी पेटलाई दबाब पर्दा यी नसाहरूमा चाप बड्न गई फैलिन पुग्छन् । नसाहरू फैलदा यिनमा रगत बढ्न गई आपसमा गुजमुजिएर गिर्खा–गिर्खी बन्न पुग्छन् । यी गिर्खाहरू बिस्तारै आफ्नो ठाउँ छोडेर अन्य तन्तुहरूसहित तलतिर खस्न थाल्छन् ।

यसरी गुदद्वार तथा मलाशयका नशामा दबाब बढाएर पाइल्सको समस्या गराउने अधिकांश कारणमध्ये कब्जियतकै भूमिका मुख्य छ । लामो समयसम्म कब्जियतको समस्या हुनुमा व्यक्तिगत जीवन शैली आहार, विहार र दिनचर्या जिम्मेवार छ । विशेषतस् गरिष्ठ भोजन, नुन, खुर्सानी, मसला बढी प्रयोग गरेको, तारे–भुटेको अमिलो–पिरो हालेको, माछा–मासु, अण्डाको अत्यधिक सेवन, दूध तथा मैदाका परिकारहरू, चाउचाउ बिस्कुट, पाउरोटी, जंकफुड, चिप्स, कुरकुरे, पाउ, गुदपाकजस्ता संरक्षित खाद्यान्न, बोतल तथा बट्टामा बन्द खानेकुराहरू लामो समयसम्म राखेका खानेकुराहरू मैदा, बेसनका परिकार आदि खानाले हुन्छ । यसैगरी समयमा खाना नखाने, भोक लागेको बेला नखाने, राति अबेर खाने, आवश्यकताभन्दा बढी खाने भोक लागेका बेला नखाने, भोकभन्दा बढी खानेहरूमा पनि पहिले कब्जियत र त्यसपछि पाइल्सको समस्या देखिएको छ । यसैगरी दिसा लागेको बेलामा दिसा नगर्ने दिसाको वेगलाई रोक्ने, कब्ज भएको बेला जबरजस्ती बलपूर्वक मल त्याग्न खोज्ने आदि बानीले पनि पाइल्स जन्माउँछ ।

यसका अतिरिक्त गरूङ्गो भारी उचाल्नाले, कलेजोको रोग ९लिवर सिरोसिस भए० गुदद्वारको क्यान्सर भए, आउँ, मासी तथा डाइरियाजस्ता पेटका समस्या हुँदा, गुदामैथुन गर्नेहरू, गर्भवती र गर्भपात गर्नेहरू, मोटोपन भएकाहरूमा पाइल्सको समस्या बढी देखिएको छ । साइक्याट्रिक औषधिको सेवन गर्ने, राति जागा रहनेहरूमा, उभिएर काम गर्नेहरू जस्तै ट्राफिक, पुलिस, कन्डक्टर, कुल्ली, मजदुहरू, भारोत्तोलक खेलाडीहरूमा बढी देखिएको छ । यो रोग वंशानुगत कारणले पनि हुन्छ ।

उपचार

पाइल्सको उपचार गर्नुभन्दा पहिले रोगका कारणहरूको विस्तृत जानकारी हुनुपर्छ । यसका साथै रोगको प्रकार, स्तर, जटिलता र अन्य सन्निहित समस्याका बारेमा पनि जानकारी हुनु जरुरी छ । रोगको स्तर थाहा पाइसकेपछि अलग–अलग श्रेणीका लागि उपयुक्त चिकित्सा विधि अपनाउनुपर्ने हुन्छ ।

अधिकांश पाइल्सबाट छुटकारा पाउनका लागि कब्जियतबाट छुटकारा पाउनुपर्छ । अन्य कारणले भएको पाइल्स भए पनि पेटको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यसका लागि मल त्यागलाई सामान्य तथा नियमित गराउन अत्यन्त आवश्यक छ । पाइल्स हुन नदिन र भएकाहरूलाई ठीक गर्न जीवनशैली परिवर्तन सबैभन्दा महत्वपूर्ण हुन्छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्य मैत्री हुने गरी ठीक–ठीक समायोजन गर्नु हो ।

–पाइल्स भएकाहरूले तारे, भुटेको, अमिलो, पिरो, माछा, मासु, अण्डा, घिउ, पनीर, मख्खन र मैदाबाट बनेका वस्तुहरू खानुहुँदैन । नुन, खुर्सानी बढी हालेको, बोतल तथा बट्टाबन्द खाद्यान्नहरू, जंगफुड तथा कार्बोनेटेड ड्रिंक्स, अजिनोमोटो तथा अन्य हानिकारक रसायन हालिएको खानेकुरा खानु हुँदैन । चिया, कफी, इनर्जी ड्रिंक जस्ता उत्तेजक पेय पदार्थ पनि पिउनुहुँदैन ।

–बिहानको नास्तामा फलफूल लिने बानी बसाल्नुपर्छ । रातिको खानामा अन्नको सहभागिता नगराउनु राम्रो हुन्छ । पाइल्स एक्टिभ र रक्तस्रावी छ भने सकभर अन्न नखाएर फलफूल र तरकारी मात्र सेवन गर्नुपर्छ । सकिन्छ भने केही दिन उपवास गर्नुपर्छ ।

–मौसम, सुन्तला, नास्पाती, खरबुजा, काँक्रा, आँप, बेल, बेलौती, मेवा, अंकुरित मुंग, चना, मेथी र भिजाएको छोकडालाई ताजा दहीसँग मिसाएर खानाले कब्जियत कम हुन्छ र पाइल्समा पनि फाइदा पुर्‍याउँछ ।

–ठोस भोजन दिनको एकपटक मात्र लिनु राम्रो मानिन्छ । बिहानको भोजनमा रातो चामल, सामा, मकै, बजराको भात अथवा गहुँको दलिया, गहुँ, मकै, फापरको रोटी, काउली, बन्दा, लौका राम्रो मानिन्छ । मास र खेसरीबाहेक बोक्रैसमेत पकाएको दालले पनि कब्जियत तथा पाइल्सलाई राम्रो गर्छ । बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । तरकारीको सुप वा २ सय ५० ग्राम उमालेको सब्जीसँग ताजा मोही मात्र खाँदा पाइल्समा राम्रो हुन्छ ।

–गाई, बाख्रा, ऊट वा घोडाको दूध बिहान नास्तापछि र सुत्नुअघि सेवन गर्नु राम्रो हुन्छ । भैंसीको दूध तथा दुग्ध परिकार पाइल्सका लागि राम्रो होइन ।

–चिकु, केरा, स्याउ, अंगुर, लिचीजस्ता फलहरूले कब्जियत तथा पाइल्समा राम्रो गर्दैनन् । आलु, पिँडालु, तरुल, सुठुनी, भान्टा, चुकन्दर, ओल, सिमल तरुल, राजमा, सेतो चना, मास, भटमासजस्ता कन्दमूल तथा दलहनको प्रयोग नितान्त वर्जित छ ।

पाइल्सका रोगीहरूले खानुपर्ने आहार

–बिहान ५स्३० बजे–जागरण तथा तीन गिलास मन तातोपानीको सेवन ।

–बिहान ७ बजे–गाई अथवा बाख्राको दूधसाग आधा मुठी कालो तिल चपाएर खाने ।

–बिहान ८ बजे– मेवा, तरबुजा, काँक्राको सलाद १ सय ग्राम, उमालेको मुंग ३० ग्राम, भिजाएको किसमिस र छोकडा २० ग्राम, ताजा दही २० ग्राम र एउटा भिजाएको अन्जिर ।

–बिहान ११ बजे– दुईवटा चोक्करसहितको आटाको रोटी ५० ग्राम मसला, खुर्सानी नहालेको सब्जी, २ सय ५० मि।लि। मेथीको धूलो अथवा हिङ हालेको ताजा मोही, १ सय ग्राम गहुँको पानी दलिया ।

–दिउँसो १स्३० बजे–मौसमी, सुन्तला, आँपको रस

–साँझ ६स्३० बजे– ३ सय ग्राम उसिनेको सब्जी ९लौका, बन्दा, ब्रोकाउली, काउली, घिरौला, स्कुस, चुच्चेकरेला आदि० वा हरियो सागसब्जी र ताजा मोही अथवा भेज सुप २ सय ५० मिलिलिटर ।

–राति १० बजे १ गिलास दूध ।

व्यायाम व्यवस्थापन

अङ्ग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातस्भ्रमण आदि हल्का व्यायाम विधिहरू पाइल्सका लागि अत्यन्त आवश्यक व्यायाम हुन् । कब्ज हुन नदिनका लागि अग्निसार, कपालभाती, विपरीत करणी जस्ता क्रिया विधि, पवनमुक्तासन, ताडासन, त्रियकताडासन, उत्थितपादासन, मण्डुकासन, ससकासन, भुजङ्गासन, सर्वाङ्गासन, बज्रासन, सुप्तबज्रासन, धनुरासन र सर्वासनजस्ता आसन विधि जालन्धर, उड्यान र मूलबन्धजस्ता बन्ध विधि अश्वनी, ज्ञान र चिनमयजस्ता मुदा विधि शीतली, शीतकारी, भ्रमरीजस्ता स्वासन विधि एनिमा ९बस्ती० लघु तथा गुरू शंख प्रक्षालनजस्ता सोधन विधिको नियमित अभ्यास गरिरहनुपर्छ ।

–रक्तस्राव नरोकिउन्जेल र घाउ तथा पीडा कम नहुन्जेल कुनै पनि योग विधि गर्नु हुादैन । रक्तस्राव रोकिएपछि प्राकृतिक उपचार गर्नु राम्रो हुन्छ ।

–पाइल्स रोगलाई ठीक गर्नका लागि आन्द्राहरूमा कुपित भएर बसेको मललाई निकाल्न नितान्त आवश्यक छ । यसका लागि बिरामीलाई २–३ दिनसम्मको थेरापिटिक उपवासमा राख्नुपर्छ । उपवासमा फलफूलको जुस, मह तथा कागती पानी आदि प्रशस्त दिनुपर्छ । उपवास गरेपछि १०–१५ दिनसम्म फलाहार वा सागसब्जी मात्र सेवन गराउनुपर्छ ।

–बिहान–बेलुका २–३ वटा भिजाएका अन्जिर खाने र भिजाउन प्रयोग गरेको पानी पिउनाले यो रोगमा फाइदा पुग्छ ।

–त्रिफला चूर्ण, इसागोलको झुसी, पञ्चसकार चूर्णजस्ता औषधि राति सुत्ने बेलामा एक–एक चम्चा दूध वा तातोपानीसाग खानाले कब्जियतमा राम्रो गर्छ ।

–केही दिनसम्म सख्खरमा बेलको गुदी मिसाएर खाँदा पनि पाइल्स ठीक हुन मद्दत गर्छ ।

–रक्तस्राव भैरहेको अवस्था छ भने बरफले गुदा मालिस गर्नुपर्छ ।

–रक्तस्राव नभएको अवस्थामा भने तातो कटिस्नान ९ठूलो खड्कुलो, बाटा अथवा ताउलोमा सहन सक्ने तातोपानी हालेर बस्ने उपचार लिनुपर्छ ।

–मल त्यागपछि गुदालाई राम्रोसँग धोई तातोपानीले सेक्नुपर्छ । आन्तरिक घाउमा एन्टी सेप्टिक क्रिम वा क्षारीय मल्हम लगाउनुपर्छ । मासुका गिर्खा बाहिर आएको खण्डमा ग्लिसरिन र एप्सम साल्ट मिसाएर लेप बनाई लगाएर पट्टी बाँधिदिनुपर्छ ।

–भेस्लिनसँग कपूर मिलाएर मासुका गिर्खामा लगाए पनि यो रोगमा फाइदा पुर्‍याउँछ ।

–रक्तस्राव नभएको खण्डमा साधा पानीको एनीमा लिनुपर्छ । त्यसपछि कटिस्नान वा मेहनस्नान गर्नुपर्छ । दिनको दुई पल्ट माटोको पेडुपट्टी लगाउनाले पनि यो रोग निको हुन सहयोग गर्छ ।

–पाइल्स भएर मासुका गिर्खा बाहिर आइरहेका छन् भने खुकुलो खालको कट्टु लगाउनुपर्छ । पीडा वा चिलाइ बढी भए बरफ पानीमा सुती कपडा भिजाएर लगौंटीजस्तो बनाएर लगाउनुपर्छ ।

–यति गर्दा पनि पाइल्स निको नभए आर्युवेदीय क्षारसूत्र वा एलोपेथिक रबरब्यान्ड लाइगेसन वा इन्डोस्कोपिक स्क्लेरोथेरापी वा बढेको मासुका गिर्खा सुकाउने इन्जेक्सन वा सजर्री ९अप्रेसन० गर्नुपर्ने हुन्छ ।

सावधानी तथा बच्ने उपायहरू

–मलको त्यागको क्रमलाई नियमित तथा सामान्य गर्नु कब्जियत तथा पाइल्स निवारणको पहिलो आयाम हो । यसकारण बिहान–बेलुका नियमित रूपमा निश्चित समयमा शौच जाने गरौं ।

–दिनमा कमसेकम ३–४ लिटर पानी पिउँदा खानामा मसिनो–मीठो भन्दा खस्स्रो–मोटो वस्तुहरूको समायोजन पाइल्सका लागि फाइदादायक छ । रेसा र चोकरयुक्त खाद्यपदार्थ, सागसब्जी, फलफूल, सलाद खाने बानी बसालौं ।

–लामो समय कुर्सीमा नबसौं । बस्नैपर्ने भए पनि ३०– ३० मिनेटको अन्तरमा आसन परिवर्तन गरौं ।

–भारी वस्तु उठाउँदा पनि पेटमा बल पर्नु हुँदैन ।

–गर्भावस्था, कलेजोको रोग, आन्द्राको रोग, पारकिनसन रोग, थाइराइडिजजस्ता विशेष रोग भएकाहरूले सावधानी अपनाऔं ।

–श्रम तथा व्यायामलाई दिनचर्याको अभिन्न अंग बनाऔं ।

–गरिष्ठ भोजनको सेवन नगरांै ।

–मद्यपान, धूम्रपान र अन्य नसालु पदार्थहरूको सेवन नगरौं । मानसिक समस्या, स्नायुको समस्या वा अन्तस्स्रावी ग्रन्थिका रोगको औषधि खाँदा सावधानी अपनाऔं ।

डा. हेमराज कोइराला

मेडिकल डाइरेक्टर

कुण्डलिनी अस्पताल, झम्सिखेल ललितपुर

 

souce: नारी

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ