स्वास्थ्य, एकता र विश्व सहभागिताको संगम : लेटाङ रन–२०८२ ले बनायो अन्तर्राष्ट्रिय पहिचान

प्रशान्त निराैला शुक्रबार, माघ ०३, २०८२

लेटाङ, २ माघ । मोरङको लेटाङ नगरपालिकामा आयोजना गरिएको तेस्रो संस्करणको लेटाङ रन–२०८२ स्वास्थ्य सचेतना, सामाजिक एकता र लागूऔषध दुव्र्यसनविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यका साथ भव्य रूपमा सम्पन्न भएको छ। लेटाङ रन नामक संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा केन्यादेखि नेपालका विभिन्न जिल्लासम्मका ७ सय ५० भन्दा बढी खेलाडीहरूको सहभागिता रह्यो, जसले लेटाङ रनलाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद उत्सवको रूपमा स्थापित गराएको छ।
प्रतियोगिताअन्तर्गत खुला पुरुषतर्फको १० किलोमिटर दौडमा अफ्रिकी मुलुक केन्याका चर्चित धावक जुलियस मुरियुकी वाहोमेले ३० मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। दोस्रो स्थान काठमाडौंका नागेश्वर अहिर, तेस्रो दमकका हरि रिमाल, चौथो लेटाङ–३ का विक्रम लिम्बू र पाँचौँ इलामका राजेन्द्र लिम्बूले प्राप्त गरे। खुला महिलातर्फ नेपाल प्रहरीकी सुमित्रा कुमारी चौधरीले ३७ मिनेट ३२ सेकेण्डमा दौड पूरा गर्दै प्रथम भइन्। दमककी पुष्पा लिम्बू दोस्रो, खोटाङकी दीपा बस्नेत तेस्रो, उर्लाबारीकी मन्दिरा महतरा चौथो र धरानकी निक्की नेम्बाङ पाँचौँ स्थानमा रहिन्। यस विधामा प्रथमले ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले ८ हजार तथा चौथो र पाँचौँले जनही १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले समावेश गरिएको ‘हाम्रो लेटाङ’ विधातर्फ पुरुषमा लेटाङ–३ का विनोद राई र महिलातर्फ लेटाङ–९ की स्मृति राई प्रथम भए। पुरुषतर्फ प्रविण बराइली दोस्रो, अमिरहाङ राई तेस्रो, आशिष विश्वकर्मा चौथो र विभाग साह पाँचौँ भए भने महिलातर्फ सुहाना राई दोस्रो, पूजा राई तेस्रो, नुमा लिम्बू चौथो र शितल लिम्बू पाँचौँ स्थानमा रहिन्। यस विधामा प्रथमले ७ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार तथा चौथो र पाँचौँले जनही १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
भेट्रान विधातर्फ पुरुषमा इटहरीका रेशम लिम्बू र महिलामा धरानकी जमुना लिम्बू प्रथम भए। रेशम लिम्बूले ३७ मिनेट ३७.४७ सेकेण्डमा दौड पूरा गर्दा विजय कुमार राई दोस्रो र अभिन नारायण अधिकारी तेस्रो भए। महिलातर्फ जमुना लिम्बू ५० मिनेट १.६१ सेकेण्डमा प्रथम हुँदा कुसुम लिम्बू दोस्रो र कौशल्या तामाङ तेस्रो भइन्। भेट्रान विधामा प्रथमले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
यस्तै कक्षा ८ मुनिको ३ किलोमिटर दौडमा छात्रतर्फ धरानका रोहनकुमार माझी र छात्रातर्फ वराहक्षेत्रकी करुणा खोङ प्रथम भए। यस विधामा प्रथमले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका राज्यमन्त्री उमाकान्त गौतम, पूर्वमन्त्री डिगबहादुर लिम्बू, पूर्वसांसद घनश्याम खतिवडा, संविधानसभा सदस्य उषा गुरुङ, लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, पूर्व नगर प्रमुख शंकर राईलगायतको उपस्थिति रहेको थियो। भारतको दार्जीलिङबाट आएका पूर्व लागूऔषध प्रयोगकर्ता तथा धावक प्रमिस भुटियाले युवाहरूलाई लक्षित गर्दै दुव्र्यसनविरुद्ध प्रेरणादायी सन्देश दिनुभयो।
लेटाङ रन–२०८२ मा नेपालका मोरङ, सुनसरी, झापा, इलाम, भोजपुर, धनकुटा, खोटाङ, पोखरा, काठमाडौंलगायत क्षेत्रका साथै विदेशबाट आएका खेलाडीहरूको सहभागिता रह्यो। शारीरिक अपाङ्गता भएका, कान नसुन्ने तथा एउटा हात नभएका धावकहरूको सहभागिताले प्रतियोगितालाई थप समावेशी बनाएको थियो। महिला–पुरुष गरी ८ समूहमा प्रतिस्पर्धा भएको यस रनमा कक्षा ८ मुनिले ३ किलोमिटर र अन्य सबै विधाले १० किलोमिटर दूरी तय गरेका थिए।
लेटाङ रन सफल बनाउन लेटाङ–३ घर भई हाल युकेमा बसोबास गर्दै आएका सन्तोष राईले २ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो भने लेटाङ नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेको थियो। साथै देश–विदेशबाट प्राप्त व्यक्तिगत तथा संस्थागत सहयोगप्रति आभार व्यक्त गर्दै आयोजक संस्था लेटाङ रनका अध्यक्ष किरण राईले लेटाङ रन अब स्थानीय कार्यक्रम मात्र नभई अन्तर्राष्ट्रिय सहभागितासहितको पहिचान बन्दै गएको बताउनुभयो।

 

 

 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ