

लेटाङ, १६ पुस । पछिल्लो समय लेटाङ सहित तराइ क्षेत्रमा वाक्लो हुस्सु र शीतलहरसँगै चिसो तीव्र भएपछि मोरङको लेटाङ–८ स्थित जाँते माध्यमिक विद्यालयले तीन दिनका लागि कक्षा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
विद्यालय प्रशासनले जारी गरेको सूचनाअनुसार पुस १६, १७ गतेसम्म हिउँदे/वर्खे/स्थानीय विदाबाट कट्टा हुनेगरी विदा दिइएको छ।
विद्यालयले जारी सार्वजनिक सूचनामा विगत केही दिनयता बढिरहेको चिसो र शीतलहरले विद्यार्थीको स्वास्थ्यमा परेको प्रभावलाई मध्यनजर गर्दै असहज वातावरणमा कक्षा सञ्चालन गर्नु उपयुक्त नदेखिएको उल्लेख गरिएको छ।

यता लेटाङ नगरपालिकाले भने जाडो विदासम्बन्धी अहिलेसम्म कुनै औपचारिक सूचना जारी नगरिएको बताएको छ
तर चिसोको असर बढ्दै गएपछि अभिभावक तथा शिक्षकहरूबाट जाडो विदा वा पठनपाठनको समय परिवर्तन गर्नुपर्ने सुझाव आउने क्रम बढिरहेको छ।
साना बालबालिकालाई बिहानै विद्यालय आउजाउ गर्न कठिनाइ भएको र रुघाखोकी तथा चिसोसम्बन्धी स्वास्थ्य समस्या देखिन थालेको भन्दै अभिभावकहरूले विद्यालयको निर्णयलाई व्यावहारिक रहेको प्रतिक्रिया दिएका छन्।
