राजारानीको मुहार फेरिदिने अन्तरधार्मिक शान्तिपार्क : लेटाङको पहिचान बदल्ने पर्यटन–परियोजना ८० प्रतिशत सम्पन्न

प्रशान्त निराैला मंगलबार, पुष १५, २०८२

लेटाङ, १५ पुस । मोरङको लेटाङ नगरपालिका १ राजारानीमा निर्माणाधीन अन्तरधार्मिक शान्तिपार्कले राजारानी क्षेत्रको मुहार नै फेरिने अपेक्षा गरिँदै छ। धार्मिक सहअस्तित्व, शान्ति र पर्यटन प्रवर्द्धनलाई एकैसाथ जोडेको यो परियोजना लेटाङको नयाँ पहिचानका रूपमा उदाउने सरकार, स्थानीयवासी र सरोकारवालाहरूको धारणा छ।

नगरको गौरवका रूपमा अघि बढाइएको शान्तिपार्कको भौतिक संरचना करिब ८० प्रतिशत पूरा भइसकेको छ।
निर्माणको जिम्मा पाएको फुलमन डेभलपर्स प्रा.लि.का इन्जिनियर भविन खत्रीका अनुसार आगामी २०८३ वैशाखभित्र निर्माण कार्य सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्यसहित काम तीव्रगतिमा हुँदै आएको छ। करिब ६ कट्ठा क्षेत्रफलमा निर्माणाधीन यो शान्तिपार्कलाई राजारानी क्षेत्रको रूपान्तरण गर्ने ‘फेस–चेन्जर प्रोजेक्ट’को रूपमा पनि हेरिएको छ।

नगर प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार यस परियोजनाले लेटाङलाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्नेछ। करिब ६ करोड ८ लाख रूपैयाँ लागतको योजनामा सङ्घीय सरकारको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत लागत साझेदारी रहेको छ। आर्थिक वर्ष ०८१/०८२ मा विनियोजित बजेटबाट जग निर्माणदेखि पहिलो तला ढलानसम्मको काम पूरा गरिएको नगरपालिकाले जनाएको छ।

वडा नं. १ का वडाध्यक्ष विष्णुबहादुर मगरका अनुसार ५ करोड २९ लाख रूपैयाँमा ठेक्कामा दिएको सो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको हो।

हालसम्म भौतिक तथा वित्तीय प्रगति ८० प्रतिशत पुगेको इन्जिनियर खत्रीले जानकारी दिएका छन्। चारतले आधुनिक संरचनामा बन्ने यो शान्तिपार्कमा हिन्दू, बौद्ध, मुस्लिम, किरात र इसाई धर्मका लागि छुट्टाछुट्टै प्रवेशद्वार रहनेछन्।

प्रत्येक धर्मका आस्था, संस्कृति र इतिहास झल्काउने सामग्रीसहित अध्ययन–अवलोकनको व्यवस्था गरिनेछ। माथिल्लो तल्लामा निर्माण हुँदै गरेको भ्यू–टावरबाट राजारानी आसपासका प्राकृतिक दृश्यावलोकन गर्न सकिनेछ।
पाँचवटै प्रमुख धर्मका गुरु तथा अनुयायीहरू एउटै मञ्चमा बसेर शान्ति, सहअस्तित्व, मेलमिलाप र सद्भावका विषयमा संवाद गर्न सक्ने साझा स्थलको रूपमा पार्कलाई विकास गर्न लागिएको छ। “धर्मका नाममा विभाजन होइन, सहिष्णुता र मनको नजिकिँदो दूरी” भन्ने सन्देश प्रसारित गर्ने उद्देश्य इस परियोजनाको मूल आत्मा भएको स्थानीयवासीहरू बताउँछन्।

यो आयोजना लेटाङमा अहिलेसम्म पर्यटन क्षेत्रमा निर्माण भइरहेको सबैभन्दा ठूलो लगानीयुक्त संरचना भएको जनप्रतिनिधिहरूको दाबी छ। शान्तिपार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भई स्थानीय व्यापार, रोजगारी र सेवा क्षेत्र सशक्त रूपमा सक्रिय हुने अपेक्षा गरिएको छ।

राजारानी पोखरी क्षेत्रलाई ऐतिहासिक स्मृति र आधुनिक धार्मिक पर्यटनको मिलनबिन्दुका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित निर्माणाधीन अन्तरधार्मिक शान्तिपार्क लेटाङको परिचयलाई नयाँ आयाम दिने परियोजनाका रूपमा पहिचान बनाउँदै अघि बढिरहेको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ