लेटाङ, १० पुस । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज येशु ख्रिष्टको जन्मोत्सवका रूपमा क्रिसमस डे पर्व उल्लासपूर्वक मनाउँदै छन् । मोरङको लेटाङ क्षेत्रमा समेत चर्च तथा समुदायभित्र विशेष प्रार्थना, शुभकामना आदानप्रदान र सामुदायिक भेटघाट कार्यक्रमसहित क्रिसमस मनाउने तयारी भइरहेको छ ।
हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको स्मरणमा मनाइने क्रिसमस डेले प्रेम, करुणा र सहअस्तित्वको सन्देश दिवसका रूपमा पनि व्याख्या गरिने गरिएको छ । दुई हजार वर्षअघि जेरुसेलमस्थित बेथलेहममा कन्या मरियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । यिनै येशु ख्रिष्टले मानव समुदायका लागि दिएका शिक्षा–उपदेशको सम्मानमा यो पर्व मनाइने गरिएको क्रिश्चियन समुदायको विश्वास रहेको छ ।
लेटाङमा क्रिसमसको अवसरमा बालबालिकादेखि वृद्धवृद्धासम्मले शुभकामना आदानप्रदान, उपहार वितरण, कराओके तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको स्थानीयहरूले बताएका छन् ।
येशुको शिक्षालाई आत्मसात् गर्दै आपसी सद्भाव, भाईचाराको भावना तथा सामाजिक एकता सुदृढ बनाउँदै यहाँका क्रिश्चियन समुदायले आजको दिन विशेष प्रार्थना तथा धन्यवाद सभामार्फत क्रिसमस डे मनाउँदै छन् ।