

लेटाङ, १० कार्तिक । मोरङको लेटाङमा आज साँझ विधिवत रूपमा छठ पूजा आरम्भ भएको छ । चिसाङ नदी किनारमा भक्तिपूर्वक पूजा–आराधना गर्दै व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै पूजा विधि सुरु गरेका हुन् ।
छठ पूजामा लेटाङका चौधरी, साह,ठाकुर, क्षेत्री, बाम्हण, राई, लिम्बु, मगर लगायत विभिन्न समुदायका श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिता रहेको छ । व्रतालुहरूले आज निराहार व्रत बसेका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको विधिवत् समापन गरिनेछ ।

छठ पर्व हिन्दू धर्ममा सूर्यदेव र छठी माईको आराधनासँग सम्बन्धित अत्यन्त पवित्र र ऐतिहासिक पर्व मानिन्छ । महाभारत र सूर्य पुराणमा द्रोपदी र अनुसूर्यले पहिलोपटक सूर्य उपासनाका रूपमा यो व्रत सुरु गरेको उल्लेख पाइन्छ । त्यस समयदेखि नै यो पर्वलाई निष्ठा, आस्था र आत्मशुद्धिको प्रतीकका रूपमा मनाउने परम्परा सुरू भएको विश्वास गरिन्छ ।
धार्मिक दृष्टिले, यो पर्वले श्रद्धालुलाई आत्मसंयम, धैर्य र शुद्धताको सन्देश दिन्छ । सांस्कृतिक रूपमा, छठ पूजाले विविध समुदायबीच ऐक्यबद्धता र सहअस्तित्वको भावनालाई मजबुत बनाउने काम गरेको छ ।
लेटाङमा छठ पूजाको अवसरमा चिसाङ नदी किनार दीप–प्रज्वलन, गीत–भजन र सामूहिक आराधनाले उज्यालो बनेको छ । स्थानीय समाज र युवाहरूको सक्रियतामा पूजास्थल आकर्षक रूपमा सजाइएको छ ।
आयोजन समिति सचिव पप्पु साहका अनुसार, “लेटाङमा हरेक वर्षजस्तै यसपालि पनि सर्वधर्मीय एकता र श्रद्धाको प्रतीकका रूपमा छठ पर्व मनाइँदैछ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर सबैले आफ्नो र समाजको कल्याणको कामना गरेका छन्,” उनले बताए ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई यो चारदिने महान् पर्व छठको विधिवत समापन गरिनेछ ।

