‘विश्वप्रकाश शर्मालाई पनि महामन्त्रीको उम्मेदवार हुन्छु भन्ने होला नि’

Letang Khabar मंगलबार, आश्विन ०९, २०७५

असोज ९, २०७५ मगलवार ।
काठमाडौं – नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । गएको मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नराम्रो पराजय भोग्दै कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा आइपुगेको हो ।

अब हाम्रो ध्यान भनेको नेपाली कांग्रेसलाई बलियो र सुदृढ गर्नेतर्फ छ । अहिले हामी संगठन कसरी सुदृढ बनाउन सक्छौँ भन्नेमा नै छौं । अहिले भनेको सबैको जोड संगठन बनाउनेमा हुनु पर्छ । अब पनि हामी एक भएर लागेनौं भने अथवा गुट उपगुटमै रमाउँदै बस्यौँ भने फेरि पनि नेपाली कांग्रेस कमजोर भएर रहन्छ ।

अहिले हामी महासमिति बैठकको तयारीमा छौं । मंसिरको ५ देखि ९ गतेसम्म चल्ने महाधिवेशनले पार्टीलाई अझ सशक्त र मजबुद बनाएर लैजाने छ भन्ने हाम्रो विश्वास छ । महासमिति बैठकलाई मध्यनजर गर्दै अहिले नेपाली कांग्रेसले विधान संशोधनको विषय टुंगो लगाउन विभिन्न छलफल र संवादहरु गरिरहेको छ ।

सोमबारदेखि नै देशका सातैवटा प्रदेशमा विभिन्न १२ वटा टोलीले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा तयार भएको पारेको विधान संशोधन मस्यौदामाथि छलफल गरिरहेको छ । पाँच दिनसम्म चल्ने त्यो छलफलबाट आएका सुझावसहितको धारणालाई मस्यौदा समितिले पुनः ड्राफ्ट गर्ने काम गर्छ ।

समितिले तयार पारेको ड्राफ्ट केन्द्रीय समितिमा प्रस्तुत हुन्छ । केन्द्रले आवश्यक राय सुझाव दिएपछि फेरि छलफलका लागि उक्त प्रतिवेदन हरेक जिल्ला तहमा पुग्छ । मस्यौदामाथि आवश्यक थपघट गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन जिल्लाबाट फेरि केन्द्रमा आउँछ । केन्द्रले त्यसलाई आवश्यक छलफल र सुझावसहित पारित गर्छ र अन्तिम रुप दिन्छ ।

अन्तिम रुप दिइसकेपछि पनि फेरि उक्त प्रतिवेदन महासमिति बैठकमा पेश हुन्छ । महासमिति बैठकले सबैतर्फबाट आएका आवश्यक सुझावहरुलाई थप्ने–घटाउने, राख्ने–कटाउने सबै गरेर पारित गर्छ । महासमितिपछि कांग्रेस नविन बनाउने हाम्रो प्रयासले एउटा आकार खडा गर्छ ।

महासमिति बैठकले पार्टीको सम्पूर्ण संरचना नै बदल्छ । पार्टीको विधान बदल्छ । निर्वाचन शैलीको पद्धति बदल्छ । अबको सन्दर्भमा कांग्रेसको राजनीतिक दृष्टिकोण के हो भन्ने धारणा बनाउँछ । अबको सांगठिनक अभियान पनि प्रष्ट पार्छ ।

महासमितिको बैठक नै एउटा यस्तो विन्दु बन्छ जे कुराले कांग्रेसलाई कमजोर बनाएको छ, त्यसलाई डाइग्नोसिस गरेर ट्रिटमेन्ट गर्छ । कतै बाटो अलमल छ भने त्यो पनि क्लियर गर्छ । र आगामी महाधिवेसनमा जाने सन्दर्भमा पनि एउटा मनोवैज्ञानिक बाटो बनाउँछ ।

गुट उपगुट बगैँचाका फूल हुन्
पार्टीभित्र गुट उपगुट हुनु नौलो कुरो होइन । कुनै पनि देशमा प्रजातन्त्र छ कि छैन रु भनेर पत्ता लगाउने मानकमध्ये एउटा मानक के हो भने त्यो देशमा दल–दलको बीचमा प्रतिस्पर्धा छ कि छैन रु र दल–दलको बीचमा दलीय स्वतन्त्रता छ कि छैन रु भन्ने विषयले निक्र्यौल गर्छ । र त्यो सम्बन्धित दलभित्र प्रजातान्त्रिक अभ्यास छ कि छैन रु फरक मतहरु, फरक विचारहरु छन कि छैनन् भन्ने विषयले प्रजातन्त्र कस्तो छ भन्ने देखाउँछ ।

लोकतन्त्रमा र पार्टीभित्र फरक मत र फरक विचारहरु हुँदै गर्दा त्यसले स्थायी स्वरुप लियो भने समस्या गर्छ । त्यसलाई गाँस्ने तागत भएन भने त्यसले दुर्घटना पनि निम्त्याउन सक्छ ।

फरक फरक रुपमा प्रस्तुत भएका विचारहरुलाई बगैँचामा रहेका फरक फरक फूलको रुपमा लिनु पर्छ । र ती फूललाई गाँस्ने प्रयत्न गर्नुपर्छ ।

फूलको वास्ना हुन्छ, धागोको कुनै बास्ना हुँदैन । तर धागो बेगर फूलको पनि कुनै माला हुँदैन । त्यसैले फरक मतहरुलाई गाँसेर एउटा स्वर बनाएर लैजानु पर्छ । हामी त्यसैमा लागिरहेका छौं । र यो महासमिति बैठकले यो सबै विषयलाई सम्बोधन गर्छ भन्नेमा हामी आशावादी पनि छौं ।

पार्टीभित्र विरोधका आवाजहरु, फरक विचारहरु देखिन्छन् । त्यो स्वभाविक हो । तपाईको शरीरमा पनि के हुन्छ भने मनले कोहीबेला यहाँ जाउ भनिरहेको हुन्छ । कोहीबेला मस्तिष्कले त्यो खाउँ भन्छ या नखाउँ भनिरहन्छ ।

त्यो मन र मस्तिष्कको तपाईभित्र पनि द्वन्द्व भएपछि तपाई एउटा निर्णयमा पुग्नुहुन्छ नि, त्यो चाहिँ तपाईको फाइनल्ली निर्णय हुन्छ । त्यसलाई मन र मस्तिष्क दुबैले मानेर जान्छ ।

कांग्रेसमा पनि त्यो खालको फरक फरक मन र मस्तिष्क छन् । हुन्छन दलहरुभित्र । तर महासमिति बैठक जस्तो विशिष्ट थलोले निर्णय गरिसकेको कुरा जे हुन्छ, सबैले पालना गरेर हिँड्छन् । हिँड्नु पनि पर्छ । र गुटहरुको विलय भनेको पनि यही हो ।

परिवर्तित राज्य संरचना अनुसार पार्टीको संरचना बन्न नसक्दा, पार्टीको पदाधिकारी नहुँदा, केन्द्रीय विभागहरु नहुँदा नै कांग्रेस पराजय भएको हो । हामीले यी कुराहरु बनाउनेतर्फ ढिलाई गर्न हुँदैन थियो ।
उतिबेलै गर्न सकेको भए आज यो दिनमा हामी आउने थिएनौं । अब छिट्टै रिक्त पदाधिकारी चयन गर्ने, विभागहरु दुरुस्त गर्ने तयारीमा हामी छौं ।

चुनावपछि पनि महासमिति बैठक छिटो गर्नुपर्ने थियो । हाम्रो आन्तरिक व्यवस्थापन कमजोरी रह्यो । यो हामीले सार्वजनिक रुपममा नै स्वीकार्नु पर्छ । हाम्रो व्यवस्थापकीय कमजोरी नै हो ।

अहिल्यै उम्मेद्वार घोषणा गर्ने बेला होइन
अहिले भनेको महासमिति बैठकको तयारीमा लाग्ने बेला हो । महाधिवेशन आउन अझै झण्डै डेढ वर्षभन्दा बढी समय छ । महाधिवेशनको मिति नै घोषणा नभइकन कोही सभापतिको उम्मेद्वार म हुँ भन्दै आउनु त्यो अलि हतारो होला ।

अहिले हामी कसलाई सभापति बनाउने भन्ने प्राथमिकतामा छैनौं । संगठन कस्तो बनाउने भन्ने प्राथमिकतामा छौं । कुनै अमुक व्यक्तिले म सभापतिको उम्मेद्वार भन्दै हिँड्छ भने त्यो भनेको नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले भने जस्तो हो ।

जब महाधिवेशनको मिति आउला त्यतिबेला विश्वप्रकाश शर्मालाई पनि महामन्त्रीको उम्मेद्वार हुन्छु भन्ने होला नि । तर अहिले विश्वप्रकाशले म महामन्त्रीको उम्मेदवार बन्न चाहन्छु भन्दै देशभरि घुम्ने हो भने संगठन बनाउने कुरामा होइन, विश्वप्रकाशलाई आफ्नो मान्छे बनाउनमा, आफूलाई भोट दिने मान्छे बनाउनमा ध्यान पुग्छ ।

हामीले अहिले नेपाली कांग्रेसलाई बलियो बनाउनेतिर ध्यान दिने हो । सभापति कसलाई बनाउने भन्ने विषयमा प्रवेश गर्ने नै होइन । अहिले भनेको सबैको जोड संगठन बनाउनेमा हुनु पर्छ । अहिले हतारिएर त्यो विषयमा प्रवेश गर्नु हुँदैन ।

सामान्य बहुमतको जस्तो सरकारको काम
यदि समृद्धिको सन्दर्भमा हामीले भन्यौं भने सात महिनाको अवधिमा चल्दै गरेको सरकारले एकदमै धेरै समृद्धिको दिशामा काम गर्न सक्दथ्यो । तर गर्न सकेन भनेर निराश भइहाल्नुपर्ने विवरण राख्न थाल्यौं भने त्यो गलत हुन्छ । किनभने सात महिनाले एकदमै समृद्धिको सन्दर्भमा ठोस यात्रा, ठोस परिणाम दिने होइन, तर केही संकेतहरु दिने हो । केही सुरुवातहरु दिने हो । त्यस हिसाबले सामान्य बहुमतको सरकार चलेजस्तो मात्रै देखिएको छ ।

दुई तिहाइको जगमा रहेको सरकारले गर्ने भनेको त केही क्रान्तिकारी कदम हुनु पथ्र्यो नि त । तर त्यस्तो भने हुन सकेको छैन । सुरुवातमा दिनुपर्ने संकेत सरकारले दिन सकेन । संविधान कार्यान्वयनको सवालमा, संविधान संशोधनको सवालमा सरकार सफल हुन सकेको छैन ।

प्रधानमन्त्रीले प्रदेशमा गएर लामा लामा र रसिलो भाषण गर्ने बाहेक अन्य अधिकार प्रत्यायोजन गर्ने सवालमा सरकार उदासीन छ । सरकारको व्यवहारले, शैलीले संविधानलाई बलियो बनाउने कर्म भइरहेको छैन । संविधानप्रति अपनत्वको दायरा विस्तार गर्ने काम गर्न सकेको छैन ।

संविधानको कार्यान्वयनमा कमजोरी भइरहेको छ । अहिले त इच्छाशक्ति र भिजनरी कार्यक्रमका साथ सरकार अगाडि बढ्नु पर्थ्यो, त्यो देख्न सकिएको छैन । सरकारले आफ्नो प्राथमिकता के हो भनेर पहिल्याउन नसक्दा नागरिकले सरकारको भूमिका देख्न सकेका छैनन् ।

(नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग नवराज फुयाँलले गरेको कुराकानीमा आधारित ।)

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ