

लेटाङ १९ साउन । मोरङको लेटाङ नगरपालिका–१ स्थित एक रिसोर्टमा महिलालाई नशालु पदार्थ सेवन गराई ज्यान मार्ने धाकधम्कीसमेत दिई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीया सोनुमा लिम्बु, केराबारी गाउँपालिका–८ बस्ने ५० वर्षीय कमल बहादुर आले मगर र सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ३८ वर्षीय डम्बर खतिवडा पक्राउ परेका हुन्। प्रहरीका अनुसार पीडित महिलालाई तीनै जनाको मिलेमतोमा नशालु पदार्थ सेवन गराई लेटाङ–१ स्थित हाम्रो रिसोर्टमा लगिएको र त्यहाँ ज्यान मार्ने धाकधम्की दिई डम्बर बहादुर खतिवडाले जबरजस्ती करणी गरेको आरोप छ।


घटनासम्बन्धी जाहेरी तथा सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनालाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतबाट जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप तथ्य तथा प्रमाण संकलन गरिरहेको जनाएको छ।